फिफा विश्वकप र एसियन कप छनोटकाे बाँकी खेल पुन: स्थगित

फिफा विश्वकप छनोट र एसियन कप छनोट अन्तर्गतका बाँकी खेलहरु पुन: स्थगित भएको छ।

एसियन फुटबल कन्फेडेरेसन ९एएफसी० ले बुधबार विश्वकप र एसियन कप छनोटका बाँकी खेलहरु सन् २०२१ सम्मका लागि स्थगित गरिएको जानकारी दिएको हो।

‘कोरोना भाइरसको महामारीलाई मध्ये नजर गर्दै फिफासँगको छलफलपछि अक्टोबर र नोभेम्बरमा तय गरिएको छनोट खेलहरु स्थगित गरिएको छ,’ एएफसीले भनेको छ।

 एएफसीले नयाँ मिति भने कोरोनाको महामारीको परिस्थिति हेरेर तय गरिने जनाइएको छ।

कतारमा २०२२ मा हुने विश्वकप र चीनमा २०२३ मा एसियन कप छनोटमा नेपालले अब तीन होम खेल खेल्न बाँकी रहेको छ।

यसअघि नेपालले दशरथ रंगशालामा असोज र कात्तिकमा तीन खेल खेल्ने तालिका तय थियो।

नेपालले असोज २२ गते चाईनिज ताईपेसँग खेल्दा त्यसको ५ दिनपछिनै एसियाली पावर हाउस अष्ट्रेलियाको सामना गर्ने तालिका रहेको थियो। यस्तै समूह चरणको अन्तिम खेलमा नेपालले कात्तिक २७ गते जोर्डनसँग खेल्ने तालिका थियो।

नेपालले विश्वकप छनोटमा लागि भदौ १ गतेबाट प्रशिक्षण थाल्ने तयारी समेत गरेको थियो। जसको लागि अखिल नेपाल फुटबल संघले खेलाडीको कोरोना परिक्षण समेत गरेको थियो।

प्रकाशित मिति: : 2020-08-12 15:22:32

प्रतिकृया दिनुहोस्