शुक्रबार, २२ अगस्ट २०२५

टर्कीको ‘फर्स्ट लेडी’ लाई भेटेको विषयमा आमिर खान भए ‘ट्रोल’ 

News Image
• • •

बलिउडका चर्चित नायक आमिर खानले टर्कीका कट्टरपन्थी मुस्लिम राष्ट्रपति रजब तैयब अर्दोआनकी श्रीमती अमिनसँग गरेको भेटलाई लिएर विरोध सुरु भएको छ। 

आमिरले १५ अगस्टमा भएको भेटघाटलाई आफ्नो सोसल मिडियामा पोस्ट गरेका थिए। यसपछि उनी ट्रोल हुन थालेका हुन्। राष्ट्रपति आर्दोआन कट्टरपन्थी नेता मानिन्छन्। भारतले गत वर्ष जम्मू तथा काश्मिरमा लागु ३७० को कानुनलाई हटाएपछि टर्कीले यसको विरोध गरेको थियो। 

आर्दोआनकी श्रीमतीसँगको भेटलाई सत्तापक्षीय भारतीय जनता पार्टी (बिजेपी) का नेता तथा कार्यकर्ताले आमिरलाई अराष्ट्रिय तत्व भनेर ब्याख्या गर्न थालेका छन्। 

आमिर आफ्नो अघिल्लो फिल्म ‘लालसिंह चढ्ढा’ को सुटिङका लागि टर्की पुगेका थिए। यो फिल्मको सुटिङ भारतमै हुने भनिएपनि कोरोना महामारीका कारण टर्कीमा गर्न लागिएको हो। 

आमिरसँगको भेटघाटमा अमिनले भनेकी छिन्, ‘विश्व चर्चित भारतीय अभिनेता, निर्माता तथा निर्देशक आमिर खानलाई इस्तानाबुलमा भेट्न पाउँदा खुसी लागेको छ। मलाई यो थाहा पाएर झन् बढी खुसी लाग्यो, उनी आफ्नो आउँदो फिल्म ‘लालसिंह चड्ढा’ को सुटिङ टर्कीको विभिन्न ठाउँमा गर्दैछन्।’

आमिरले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई भेट्न अस्विकार गरेका थिए। तर, उनले टर्कीको ‘फर्स्ट लेडी’ लाई भेटेको कुरालाई लिएर ट्रोल भएको हो। ‘लालसिंह चड्ढा’ आउँदो वर्ष रिलिज हुँदैछ। यो हलिउड फिल्म ‘फोरेस्ट गम्प’ को रिमिक हो। यसमा आमिर टम ह्याङ्सको अभिनयमा देखिने छन्।

मंगलबार, भाद्र ०२, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)