मङ्गलबार, ०५ अगस्ट २०२५

ग्वार्डिओलासँग मेसीकाे टेलिफाेन कुराकानी

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओला र बार्सिलोनाका सुपर स्टार लिओनल मेसीबीच टेलिफाेन कुराकानी भएको छ। 

मेसीले क्लबसमक्ष आफूले यसै ट्रान्सफर विन्डोमा क्लब छाड्ने पत्र पठाएको अघिल्लो दिन सोमबार मेसी र ग्वार्डिओलाबीच छलफल भएको बताइएको छ।

६ पटकका बालोन डि’ओर विजेता मेसीको बार्सिलोनासँगको सम्झौता २०२१ सम्म रहेको छ। तर उनले गत सिजनको अन्त्यसँगै आफ्नो सम्झौता रद्द गर्न पाउने प्रावधानको प्रयोग गर्दै क्लब छाड्न चाहेको बताएका छन्। 

मेसीको सम्झौता अनुसार जुन १ सम्म उनले चाहेको अवस्थामा कुनै रकम नतिरी क्लब छाड्न पाउने थिए।

तर सामान्य अवस्थामा मे महिनामै सकिने सिजन यसपटक कोरोना भाइरस संक्रमणका कारण लम्बिएको थियो। यससँगै मेसीका अनुसार सम्झौताको प्रावधान मान्य रहने जानकारी दिँदै क्लबलाई सम्झौता रद्द गर्न आग्रह गरेका छन्। 

मेसीले क्लब छाड्ने निर्णय गर्दै मंगलबार क्लबका अध्यक्ष जोसेप मारिया बार्टोमेउको नाममा लेखेका छन्। उनले स्पेनको अदालतले आधिकारिक मान्ने ब्युरोफ्याक्स माध्यमको प्रयोग गर्दै क्लबलाई पत्र पठाएका थिए।  मेसीले पत्रमार्फत सम्झौता रद्द गर्न भनेका छन्। 

लगत्तै ग्वार्डिओलाले बार्सिलोनाको अवस्थाका बारेमा जान्नका लागि मेसीसँग कुरा गरेको बताइएको छ। आफ्ना पूर्व प्रशिक्षक समेत रहेका ग्वार्डिओलासँग मेसीको सम्बन्ध राम्रो रहेको बताइन्छ। ग्वार्डिओलाको नेतृत्वमा बार्सिलोनाले उच्च प्रदर्शन गरेको थियो।

पछिल्लोपल्ट च्याम्पियन्स लिगमा बायर्न म्युनिखसँग ८–२ को लज्जास्पद हार बेहोरेपछि मेसीले अन्यत्र कल्बमा जाने कुरा खुलाएका थिए।च्याम्पियन्स लिगको खराब प्रदर्शनबाट मेसी झन बढी दिक्क भएको र क्लब छाड्न चाहेको बताइएको छ।

मेसीले गत शुक्रबार क्लबका नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानसँगको छलफलमा बार्सिलोनामा आफ्नो भविष्य नरहेको प्रष्ट पारेका थिए। क्लबको बोर्डसँग राम्रो सम्बन्ध नरहेका मेसीले कोम्यानसँग भेटघाटपछि क्लब छाड्ने निर्णय लिएको बुझिएको छ। यद्यपी कोम्यान भने उनलाई मनाउन लागि परेका छन्। 

सिटी मेसीलाई खरिद गर्न ३ सय मिलियन युरोसम्म खर्च गर्न तयार हुने बुझिएको छ। सिटीसँगै इन्टर मिलन, पेरिस सेन्ट जर्मेन जस्ता केहि क्लब मेसीलाई बार्षिक ५० मिलयन युरो पारिश्रमिक दिन सक्षम छन्। 

बिहिबार, भाद्र ११, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)