१७ वर्ष अगाडिको डायरी पल्टाउँदा...

सन् २०२० को  सुरूवातसँगै कोरोना भाइरस विश्वव्यापी महामारीको रूपमा फैलियो। नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रूपमा मनाउने भब्य तयारी गरेको थियो। हरेक नाकाबाट नेपाल भित्रने पर्यटकलाई भब्य स्वागत गर्दै नेपाल भ्रमणका लागि खुला आमन्तण भइरहेको थियो।

चीनबाट सुरू भएर युरोपियन मुलुकमा प्रवेश गरेको भाइरस एकाएक एसियाली मुलुकमा फैलन बेर लागेन। भाइरस संक्रमणको नियन्त्रण र रोकथामका लागि संसारभरका देशहरूले लकडाउन सुरू गरे। छिमेकी मुलुक भारतले पनि मुलुक लकडाउन गर्‍यो। नेपाल सरकारले पनि उसैलाई पछ्यायो। मुख्य पर्यटक सिजनको मुखैमा यातायात, राष्ट्रिय तथा अन्तराष्ट्रिय हवाईसेवालगायत सबै व्यापार व्यवसाय र आर्थिक गतिविधि बन्द भए। यो सँगै पर्यटकीय गतिविधि ठप्प भए।

विगत ६ महीनादेखि फैलिएको कोरोना भाइरसको स्क्रमणसँगै म पनि एक पर्यटन व्यवासायी भएकोले सबै काम काज ठप्प भयो। अन्य वर्षमा सधै व्यस्त हुने म यसपाला फुर्सदिलो भएँ। एक दिन पुरानो कागज पत्र खोतल्दै जाँदा लान्द्रुकको महभीरमा मह काट्ने कार्यक्रमको टिपोट फेला पर्‍यो।  खुरूखुरू कम्प्युटरमा उतार्दै जादा, तयार भयो १७ वर्षअघि कास्कीको लान्द्रुक गाउँमा भीर मौरी काढेको संस्मरण कथा।

कुरा आजभन्दा १७ वर्ष अगाडि सन् २००३ को हो। एक विदेशी पर्यटकले मेरो कम्पनीको वेवसाइटमा भीर माहुरीको मह काढ्ने प्याकेजबारे थाहा पाएर ईमेलमार्फत सम्पर्क गर्‍यो।

कास्कीको लुम्ले गाविस वडा नं ७, लान्द्रुक गाउँ हाल अन्नपूर्ण गाउँपालिका-७ मा रहेको भीर माहुरीबारे मलाई पहिले नै थाहा थियो। आफू पनि त्यहिँ गाविसकै तान्चोक गाउँमा जन्मे हुर्केको बताउँदै उसलाई जवाफ फर्काएँ। मेरो इमेलप्रति ती विदेशीलाई बढी बिश्वास भएछ।

उहिले पुर्खाको पालादेखि चैत-वैशाख र कात्तिक-मंसिर गरि वर्षको २ पटक भीर माहुरीको मह काढ्ने चलन थियो।

सन् २००३ को जनवरीमा पहिलो सम्पर्क भएकोले मैले चैत-वैशाखको कार्यक्रम अनुसार भ्रमण ब्यवस्था मिलाउने सोच बनाएँ। तर माओवादी र स्थानीयको समस्याले मह काढ्ने कार्यक्रम रद्द भएछ। त्यसपछि स्थानीय गाउँको समितिसँग छलफल गरेपछि नोभेम्बर-डिसेम्बर अर्थात कात्तिक-मंसिरमा कार्यक्रम तय भयो। त्यहि अनुसार भ्रमण तालिका मिलाउन उनलाई खबर गरेँ।

ती २८ वर्षे वेलायती नागरिक अनुसन्धानमुलक पुस्तक लेख्ने तयारीमा रहेछन्। उनको मुख्य उद्धेश्य संसारमा लोप हुन लागेका प्राचिन कला, संस्कृति, चालचलन कसरी बचाउने भन्नेबारे रहेछ। त्यहिँ सिलसिलामा उनले विश्वका विभिन्न मुलुकको भ्रमण गरेपछि नेपालको भीर माहुरी र मह काढ्ने ईतिहास र तरिकाबारे आलेख तयार पार्न नेपाल आउन लागेका रहेछन्।

नोभेम्बर १४, २००३
कार्यक्रम अनुसार २ दिन अगाडि उनी पोखरा आइपुगेको जानकारी पाएँ। म पनि भोलिपल्ट बिहान काठमाडौंबाट पोखरा पुगेँ। त्यस लगत्तै उनी बसेको होटलमा गएर उसको झोला ट्याक्सीमा राखेर सिधै काँडे तिर हुइँकियौं।

दिनको करीव २ बजेको थियो, गर्मीले काँढेदेखि अस्ट्रेलियन क्याम्पसम्मको उकालोमा पाइला छिटो चाल्न सकेनौं। करीब २ घण्टाको पदयात्रापछि हामी पोथाना पुग्यौं। त्यहाँ साथीको लजमा लञ्च खाएर हामी पित्तम देउराली हुँदै लान्द्रुकको बाटो अगाडि बढ्यौं।

त्यतिबेला नेपालमा माओवादी आन्दोलन चरम उत्कर्षमा थियो। उनीहरूले पर्यटकसँग चन्दा उठाउने बारे पोथना लजका साथीले सुनाएका थिए। तर हामीले बाटोमा कुनै पनि माओवादी नेता कार्यकर्ता भेटेनौं। त्यसबेला गाउँघर तिर २-४ जना मानिस भेट हुनासाथ कि राजनीतिक पार्टी, कि सरकार, कि सेना, कि त राजसंस्थाको कुरा चलिहाल्थ्यो। कसैले राजालाई, कसैले माओवादीलाई, कसैले सरकार त कसैले राजनीतिक पार्टीलाई दोष दिँदै तर्क बितर्कका गन्थन गरिरहन्थे।

पोथनादेखि देउराली जाँदै गर्दा बाटामा केही गाइड र पर्यटकसँग भेट भयो। बेलायती र अमेरिकन पर्यटकलाई गाउँतिर माओवादीले अलि बढी चासो गर्ने र चन्दा माग्नेबारे गाइडहरूले जानकारी गराए। सोही अनुसार मैले वेलायति पर्यटकलाई अष्ट्रेलियन नागरिक भन्न सुझाएँ।

करीब ४ बजे तिर हामी पित्तम देउराली पुग्यौं। केहीबेरको आरामपछि भेरिखर्क, तोल्काहुँदै लान्द्रुक तिर लागियो। काँडेदेखि लान्द्रुकसम्मका प्रायः लज आफ्नै स्थानीय नातेदारका भएकाले हरेक ठाउँमा केहीबेर रोकिँदै, गफिँदै हिड्डा केही ढिला भयो।

हिउँदको बेला भएकोले दिन छोटो थियो। ५ बजेनै रात पर्न सुरू हुन्थ्यो। तैपनि हामीलाई जसरी पनि आज लान्द्रुक पुग्नुपर्ने थियो। किनकि भोलि मह काढ्ने कार्यक्रम तय भइसकेको थियो। बाटामा हिँड्ने पर्यटक बास बसिसकेका थिए, लजवालाले हामीलाई पनि बास बस्न बोलाइरहेका थिए। तोल्कामा पुग्दा त झमक्कै रात भइहाल्यो। तैपनि टर्चलाइटको सहायताले हामी अगाडि बढ्यौं। बाटोमा भेटिएका पर्यटक हाम्रो रातिको हिँडाइ देखेर अचम्म मान्थे।

त्यसबेला माओवादी बिगबिगिको कारण रातको यात्रा त्यति सहज थिएन। तर म त्यहिँको रैथाने भएकाले स्थानीय सबैले चिन्ने र बाटोघाटोबारे सबै थाहा भएकाले कुनै अफ्ठेरो थिएन। तर रात छिप्पिदै गएपछि बिदेशी पर्यटक अलिक हिच्किचिएछन क्या हो, छिन छिनमा कहिले पुग्छौं भनेर प्रश्न गरिरहन्थे। मैले पनि ‘डन्ट वरी जस्ट फिउ मिनेट’ भनेपछि प्रश्न गर्ने छाडे।

करीब ७ बजे तिर हामी लान्द्रुक पुग्यौं। एक जना मित्रको लजमा वास बस्यौं। भोलिपल्ट मह काढ्ने कार्यक्रमको सबै तयारी भइसकेको जानकारी पायौं। दिउँसोको हिँडाईले ज्यान निकै थाकेको थियो। खाना खाएपछि केही छिनमा निदाएछौं।

नोभेम्बर १५, २००३
बिहान ९ बजे मह काढ्न जाने साइत जुरेको रहेछ। हामी पनि ८ बजेनै तयार भयौं। मह काढने ब्यक्ति, स्थानीय उपभोक्ता समूह र वन समितिसँग कुराकानी भयो।

भीर मह काढ्न चाहिने चोयाको लठ्ठो वा भर्‍याङ (स्थानीय गुरूङ भाषामा पर्‍याङ) , कोक्रो र अरू आवश्यक सामग्रीको पूजा गरिने चलन छ। साथै पुर्खा, कुलदेवता, वनदेवताको नाममा कुनै किसिमको चोटपटक नलागोस् र अप्रिय घटना नहोस् भनेर भिमसेनलाई (स्योमे भूमे) वलि चढाइन्छ। त्यसपछि महभीर तिरको यात्रा प्रस्थान हुन्छ।

लान्द्रुक गाउँको मुन्तिर जंगल र जंगलको डिलमा ठूलो महभीर छ। त्यसको फेदमा मदी खोला बगिरहेको छ। कथमकदापि कुनै गल्तिले भीरबाट खसेमा मदिखोलाको ठूलो चट्टानमा बजारिन्छ वा खोलामा सोझै खस्छ। यस्तो जोखिमपूर्ण काम देख्दा हाम्रो आङ् सिरिङ् हुन्छ।

मह काढ्ने टोलीमा करीब १० जनाको समूह थियो। जसमा कोही भीरमा चढ्ने, कोही लठ्ठो वा पर्‍याङ तान्ने त कोही आगो फुक्ने वा धुँवा लगाउने गरि आ-आफ्नो जिम्मा लिई महभीरको सिरानमा पुग्यौं।

महभीरमा बलि चढाउँने, लठ्ठो टाँग्ने, दिउँसोको खाना तयार पार्ने इत्यादि काम गर्दा लगभग दिउँसोको २ बजिसकेको थियो। करीब ३ बजे तिर मह काढ्ने ब्यक्ति स्थानीय नक्कल बहादुर गुरूङ महभीरमा टाँगेको पर्‍याङबाट भीरको बिचतिर ओर्लिए। कोही भीरको फेदमा बसे भने कोही शिरानमा।

यो पहिलो दिन भएकाले भीरको पश्चिमतर्फ रहेको सबैभन्दा अफ्ठ्यारो ठाउँको मौरीको घार निकाल्ने (काट्ने) काम सुरू भयो। यसपालि साना ठूला गरि २४ वटा घार रहेछन्। ती सबै घारको उहिलेदेखि छुट्टा छुट्टै नाम राखिएको रहेछ। जस्तै बोक्सी घार, जुन आज सबैभन्दा पहिले काटिँदै थियो। यो घार ज्यादै अफ्ठ्यारो ठाउँमा हुनुका साथै यो घारको माहुरी ज्यादै बिषालु भएकाले यसको नाम बोक्सी घार राखिएको रहेछ।

त्यसको केही तल अर्को घार थियो। जसको नाम स्थानीय गुरूङ भाषामा नौच्यों अर्थात चोयाले बुनेको कुखुराको खोर। अर्को घार चाहिँ स्थानीय भाषामा पिस्खुँ जसको अर्थ योनिको प्वाल बुझिन्छ। साथै यस्ता अनेकौं रोचक नाम रहेछन्।

डम्मर बहादुर गुरूङ दाइका अनुसार, महभीर र भीर मह काट्ने सत्य युगदेखिको एक लिखित कथा ‘प्ह्च्यू’ गुरूङको ग्रन्थवलीमा पढ्न पाईन्छ। डम्मर दाइले सत्ययुगमा घटेको प्रेम कथा वेलिविस्तार सुनाए। किम्बदन्ती अनुसार सत्ययुगमा गोपलाप भन्ने ब्यक्ति यस महभीरमा पहिलो पटक मह काढ्ने ब्यक्ति थिए। ती बुढाले पहिलो श्रीमति बितेपछि आफ्नो स्याहार सुसारको लागि २०-२२ वर्षे सुन्दरीसित बिहे गरे। घरमा पहिलो श्रीमति पट्टिका ९ जना जवान छोरा थिए। उनको उमेर ढल्किदै गएकाले आफ्नो काम छोराहरुले सम्हालोस् भन्ने चाहन्थे। तर छोराहरू भने कान्छी आमातिर आँखा लगाउने गर्थे।

एक दिन बुढाले आफ्ना छोराहरूलाई महभीरमा गएर मह काढ्न जान अर्‍हाए। तर कुनै पनि छोराले टेरेनन्। उता छोराहरूले सल्लाह गरेछन् बुढो बाउ मरेपछि कान्छी आमा विहे गर्ने। तरूनी कान्छी आमालाई बुढो बाउ त्यति काम नआउने भएकाले बाउलाई मार्ने योजनामा छोराहरु थिए। छोराहरू मह काढ्न जान नमाने पछि बुढो बाउ आफैं महभीर चढ्न बाध्य भए। जब बाउ भर्‍याङ चढेर महभीरको बिचमा मह काढ्दै थिए, छोराहरूले भर्‍याङ काटिदिए। तिनिहरूले बाउ बुढा मर्‍यो भन्ठानेर बेलुका घरमा आएर कान्छी आमालाई सुनाए।

तर ९ जना छोरामध्ये कसले कान्छी आमा व्यहोर्ने? तिनिहरू बिच होडबाजी र झगडा सुरू भयो। झगडा साम्य पार्न कान्छी आमाले धनुवाणको प्रतियोगिता गराइन्। जसले निसानामा रहेको प्वालमा वाण छिराउन सक्छ उसैले मलाई बेहोर्ने। प्रतियोगिता महिनौं दिन चलिरह्यो तर कसैले पनि निशाना लगाउन सकेनन्।

उता बुढो बाउ भीरको बिचमा नै अड्केर बाँचिरहेका रहेछन्, यता घरमा कसैलाई थाहा थिएन। बुढो अड्केको ठाउँ अझै पनि त्यो महभीरमा देख्न सकिन्छ। बुढो बाउ त्यहिँ भीरको मह खाएर बाँचिरहेका थिए। बिचरा बुढा न माथि उक्लन सक्थे, न त तल झर्न नै बिचमै अड्किएर बसेका थिए। महभीरको मह खाएरै बाँचेका थिए।

उसले आफूसँग भएको २ वटा लामा लामा लट्ठी (भीरमह काट्ने ब्यक्तिको कम्मरमा साथै रहन्छ। त्यसको सहायताले महको चाका झिक्ने, घोच्ने इत्यादि कामको लागि प्रयोग गर्छन।) त्यसैको सहयोगमा बुढाले तिर्खा लाग्दा लठ्ठीले भीरमा घोचेर पानी निस्केने र पिउने, दुध पिउन मन लाग्दा अर्को लट्ठीले घोचेर निस्कने गरेर धेरै दिनसम्म बाँचिरह्यो। बुढाका ती लठ्ठीहरू चाँदीको रहेको ग्रन्थमा उल्लेख छ।

पछि बुढो दिन प्रतिदिन दुब्लाउँदै गए। बिचरा बुढाको अवस्था र विलौना देखेर आकासमा उडिँरहेको २ ठुलठूला गरूढले छेउमा आएर भनेछन्, 'बुढा बा तपाईँको अवस्था एकदम नाजुक छ। यदि तपाईँ चाहनुहुन्छ भने हामी तपाईको घरसम्म पुर्‍याइदिन्छौं।' तर बुढोले जाबो गिद्दको कुरा भनेर पत्याएनछ। तैपनि जिद्दि गरेपछि बुढाले ती गिद्दलाई तल मदिखोलाको किनारबाट उनको वजन भन्दा २ गुना ठूलो र गरूङ्गो ढुंगा उनको छेउमा लिएर आएपछि विश्वास गर्छु भनेछन्। नभन्दै ती गिद्दहरूले मदिको खोलाबाट ढुंगा बोकेर ल्याएर बुढाको छेउमा राखिदिएछन्। त्यो ढुंगा त्यस महभीरको बिचमा अझै पनि देख्न सकिन्छ। त्यसपछि बुढोले गिद्दको कुरा पत्याएर र भनेछन्, 'म घर जान्नँ, गएँ भने मेरा छोराले मार्छन्, त्यसैले गाउँको छेउमा रहेको कुवाँ नजिकै लगेर छोड्दिनू,' भनेछन्। सोही अनुसार गिद्दले उनलाई कुवाको छेउमा छोडिदिएछन्।

उता घरमा छोराहरूले महिनौं दिनसम्म पनि वाण निशाना लगाउन सकेका थिएनन्। एकदिन बुढाको कान्छी श्रीमति कुवामा पानी भर्न आइछन्। जब बुढीले पानी भर्ने थालिन्, बुढोले लुकेर पानी धमिल्याइदिँदा रहेछन्।  श्रीमतिले अचम्म मान्दै पानी कसरी धमिलो भन्दै यता उता हेरिछिन्। कुवाँको छेउछाउमा हिड्ने वा बस्ने चरा मात्र देखिछन्। चराले होला भनेर धपाइन्। तर पानी धमिलो आईरह्यो। जब उनले गाग्रीको पानी सबै खनाइन्, केही गह्रौ चीज खसेको देखिन्, उनले आफ्नो बुढोको औठी देखिन्। अचम्म मान्दै यता उता हेर्दा त छेउमा आफ्नै बुढो मरणासन्न अवस्थाम देखिन्।

त्यसपछि उनले बुढालाई घरमा लगेर लुकाएर राखिन्। बिस्तारै बुढो तन्दुरूस्त हुँदै आए। आफ्नी कान्छी श्रीमती कसैसित पो लाग्यो कि भनेर शंका गरेछन्। 'यदि  मेरो शर्तमा बसेको होस् भने तलाई व्यहोर्छु नत्र व्यहोर्दिनँ,' बुढाले भनेछन्।

उता छोराहरुको वाण हान्ने प्रतियोगिता चलिरहेकै थियो, बाउ घरमा आएको चाल पाएका थिएनन्। बुढोले भनेछन्,'यदि मेरो वाणले तिमीले छोरालाई दिएको निशानामा लाग्यो भने तिमी मेरो सर्तमा बसेको हुनेछ र व्यहोर्छु, होइन भने स्वीकार्ने छैन।' र बुढोले घरको छानाबाट आफ्नो वाणले छोराले नदेख्ने गरी वाण हाने। बुढोको बाणले निसाना लाग्यो। छोराहरू भने आफैंले निसाना लगाएको भनेर झगडा गर्न थाले। त्यत्तिकैमा कान्छो छोराले भन्यो ,'यो वाण त हाम्रा बाउको जस्तो छ, त्यसैले यो वाण बाउले हानेको हुनुपर्छ।' उनिहरु फर्केपछि बाउलाई घरमा जिउँदो देख्दा सबै जिल्ल परे।

यसरी बाउप्रति छोराले कुभलो चिताएकाले छोराहरुलाई श्राप दिए,‘ कसैलाई बादल, कसैलाई पानी। कान्छो छोरोले चिनेको भएर उनलाई आगो हुने बरदान दिए। आगो बनेपछि मिठो नमिठो सबैभन्दा पहिले खाना पाइने। त्यहिँ समयदेखि अहिलेसम्म कुनै काम सुरू गर्नु अगाडि आगोलाई चढाउने जनविश्वास छ। यसरी हामीलाई महभीर र महसँग जोडिएको कथा सोही गाउँ निवासी डम्मरसिंह दाइले बताएका थिए।

सो कथा प्हच्यु गुरूङको हरेक मृतकको काजक्रियाको दिनमा प्हच्यू गुरूबाट अझ रोचक ढंगले गुरूङ भाषामा सुनाइने गरिन्छ। सो ग्रन्थ अवलोकन गर्ने प्रयास गरेका थियौं। तर तत्काल उपलब्ध भएन।

सोहि कथा मेरा विदेशी पर्यटकलाई अग्रेंजीमा सुनाउँदा वडो रोचक मानेर सुनिरहे।

यसरी पहिलो दिनमा बोक्सी घारसहित २ घार काढिसकेर नजिकैको गोठमा दिनभर जम्मा भएको माहुरीको चाका र मह डोकाभरी हेर्‍यौं। हामीलाई उपहार स्वरुप ५-५ लिटर मह उपलब्ध गराए। निकै स्वादिलो मह चाखेर गोरा र म दंग पर्‍यौं। मह चाखेपछि साँझपख उकालो लागियो।

घनश्याम दाइको लजमा खानाको ब्यवस्था थियो। खानापछि मह काढ्ने नक्कल बहादुर गुरूङ दाइ र अन्य सहयोगिसहित नारेपा पिएर रात काटियो। मेरो बहिनी लान्द्रुकमा केहि समय बसेकाले त्यही नाताले प्राय सबै गाउँलेसित म परिचित थिएँ। त्यसैको कारणले नै कार्यक्रम सहज तरिकाले सम्पन्न भयो। यस्तै तरिकाले लान्द्रुक, घान्द्रुक, छोम्म्रोङका सबै महभीरमा मह काट्ने अनुभव पनि सुनाएँ। ती मह काढ्ने गाउँले बाउ बाजेको पछि लागेर सिकेका रहेछन्।

तर उनिहरुको आर्थिक अवस्था ज्यादै कमजोर रहेको थाहा पाइयो। समितिमार्फत कहिले काहिँ सोचेजस्तो पारिश्रामिक नपाएको पनि गुनासो पोखे। अब उमेर ढल्किदै गएकोले आफ्ना छोरालाई पनि शिप हस्तान्तरण गर्न सिकाउँदै आएको बताए।

रात निकै छिप्पिसकेको थियो, उनिहरु रातिनै टर्चलाइट बालेर आ-आफ्नो घर तिर लागे। दिन भरको थकाईले म र पर्यटक त्यहिँ सुत्यौं।

स्थलगत मह काढ्ने कार्यक्रम अवलोकन गर्न पाउँदा गोरा निकै प्रफुल्ल थियो। अर्को दिन बिहानै गोरा पर्यटक र म पोखरातिर लाग्यौं।

- लेखक गुरुङ एभर ग्रिन टुर्स इनटरनेशनल प्रा.लि.का प्रवन्ध निर्देशक हुन्।

प्रकाशित मिति: : 2020-08-29 10:53:01

प्रतिक्रिया दिनुहोस