अमेरिकी चुनावलाई प्रभावित पार्न रुस, चीन र इरानका ह्याकर सक्रिय

विश्वको सबैभन्दा बलियो राष्ट्र अमेरिकामा जब चुनावको मिति नजिकिँदै जान्छ, वैदेशिक हस्तक्षेंप पनि बढ्न थाल्छ। सन् २०१६ को चुनावमा रुसको हस्तक्षेंपलाई धेरैले महसुस गरेकै कुरा हो। तर, यसपालिको चुनावमा रुस मात्र होइन, चीन र इरानको हस्तक्षेंप पनि महसुस गर्न थालिएको छ। 

अमेरिकी जासुसी संस्थालगायत फेसबुक र ट्वीटरले पहिले नै यस विषयमा सरकारलाई चेतावनी दिइसकेका थिए। तर, अब माइक्रोसफ्ट कम्पनीले पनि अमेरिकी सरकारलाई चुनावमा हुने विदेशी चलखेलबाट सजग रहन चेतावनी दिएको छ। 

माइक्रोसफ्ट कम्पनीका अनुसार चीन र इरानले रुससँग मिलेर रिपब्लिकन तथा डेमोक्र्याट पार्टीको चुनावी अभियानका सदस्य, सल्लाहकार तथा विज्ञहरूलाई लक्षित गरेर उनीहरूको गोप्य सूचना चोर्ने अभियानको सुरुवात गरिसकेका छन्।  

चीनले राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा पनि डेमोक्र्याट उम्मेदवार जो वाइडेनको चुनावी अभियानलाई लक्षित बनाएको माइक्रोसफ्टको दावी छ। चीनका ह्याकरहरू वाइडेनको अभियानलाई रोक्न सक्रिय छन्। इरान भने ट्रम्पको चुनावी अभियानलाई ह्याक गर्न सक्रिय छ। रुसले भने दुबै पार्टीको अभियानलाई लक्षित गरिरहेको छ। 

गत महिना मात्र चिनियाँ सरकारको इच्छा डेमोक्र्याट उम्मेदवार वाइडेनले चुनाव जितेको हेर्न चाहेको जानकारी राष्ट्रिय सुरक्षा निर्देशकले दिएका थिए। तर, माइक्रोसफ्टको नयाँ खुलासा यसको विपरित बाहिरिएको हो। चिनियाँ ह्याकर वाइडेनको चुनावी अभियानमा सक्रिय टिमका सदस्यहरूको निजी मेल ह्याक गर्ने प्रयासमा रहेको बताइएको छ। यसमा एकेडेमिक तथा राष्ट्रिय सुरक्षासँग जोडिएका मानिसलाई पनि लक्षित गरिएको छ। 

माइक्रोसफ्ट कम्पनीले चिनियाँ ह्याकरले ट्रम्पको क्याम्पबाट एक जना व्यक्तिलाई मात्र लक्षित गरेको बताएको छ। तर, उनको नाम सार्वजनिक गरेको छैन। 

सन् २०१६ को तुलनामा रुस यसपालि झन् बढी आक्रामक भएको माइक्रोसफ्टको भनाई छ। उसले रुसको सैन्य जासुसी संस्था (जीआरयू) भित्री रूपमा निकै सक्रिय रहेको बताएको छ। 

चुनावी अभियानमा सक्रिय मानिसको मेल ह्याक गर्ने र गोप्य कुरा सार्वजनिक गर्ने अभियानमा रुसी जासुसी संस्था सक्रिय छ। २०१६ मा पनि हिलेरी क्लिन्टनको चुनावी अभियानको गोप्य इमेल रुसले ह्याक गरेको थियो र त्यसलाई लीक गर्ने काम भयो। 

रुसी ह्याकर टोर नामक एक सफ्टवेयरमार्फत आक्रमण गरिरहेका छन्। यसमा ह्याकरको परिचय खुल्न गाह्रो हुने गर्छ। 

माइक्रोसफ्टको चेतावनीपछि वाइडेनको चुनावी अभियानका सदस्यले राष्ट्रपति ट्रम्पमाथि प्रश्न उठाएका छन्। वाइडेनसँग लामो समयदेखि वैदेशिक मामिलामा काम गरिरहेका सल्लाहकार एन्टनी जे ब्लिङ्कनले भने, ‘चीन दोस्रो कार्यकालमा पनि ट्रम्पले चुनाव जितेको हेर्न चाहन्छ। यसको कारण छ। ट्रम्पले चीनलाई धेरै ठाउँमा सहयोग गरेका छन्।’

उनले ट्रम्पमाथि अमेरिकाको पुरानो सहयोगीलाई कमजोर बनाएको आरोप लगाए। ‘विश्वको धेरै ठाउँमा भ्याकुम राख्ने काम भयो। जसलाई चीनले पूर्ति गर्यो। हङकङ र सिनजियाङमा मानवाधिकार हनन हुँदा पनि यसलाई मान्यता दिने काम भयो,’ उनले आरोप लगाएका छन्, ‘ट्रम्प आफैले स्विकार गरिसकेका छन्। उनले कोभिड–१९ को गम्भीरता थाहा हुँदा पनि झुटो बोले। यी सबै चीनलाई फाइदा पुर्याउन गरियो।’

गत वर्ष आफ्नो कमाण्डर कासिम सुलेमानीको हत्या गरेपछि अमेरिकासँग आँगो भएको इरान पनि चुनावलाई प्रभावित पार्न हरसम्भव प्रयासमा छ। इरानले सबैभन्दा बढी ट्रम्पको अभियानलाई लक्षित बनाएको छ। 

माइक्रोसफ्टका अनुसार इरानी ह्याकर्सले प्रयोग गरिरहेको १५५ वेभ डोमिनलाई कब्जामा पारेको छ। गत मे र जुनदेखि नै इरानका ह्याकर्सहरू ट्रम्प प्रशासनका अधिकारीको इमेल अकाउन्ट ह्याक गर्ने प्रयासमा छन्। तर, उनीहरू यसमा सफल भएका छैैनन्। 

माइक्रोसफ्टले अहिले परिचालन भइरहेको ह्याकर्समा रुसको जासुसी संस्था जीआरयूका ह्याकर्स खतरनाक भएको बताएको छ। माइक्रोसफ्टले चेतावनी दिनुअघि ट्रेजरी डिपार्टमेन्टले तीन रुसी सांसद र युक्रेनको एक सांसदलाई प्रतिबन्ध लगाएको छ। यिनीहरू माथि अमेरिकाको चुनावलाई प्रभावित गर्न लागेको आरोप छ। विभागले स्पष्ट भनेको छ,‘रुस आउँदो चुनावलाई प्रभावित पार्ने अभियानमा छ।’

प्रकाशित मिति: : 2020-09-12 21:33:39

प्रतिकृया दिनुहोस्