पहिरोले सडक भत्किँदा सरकारी कार्यालय जान समस्या

रासस

डोटी 
सांकेतिक तस्बिर

जिल्ला सदरमुकाम सिलगढीमा रहेका सरकारी कार्यालयमा आवतजावत गर्न यातयातका साधन तथा सेवाग्राहीलाई समस्या भएको छ। 

यहाँको सरकारी कार्यालयमा जाने एक मात्र सडक पहिरोले भत्किएपछि सेवाग्राहीसहित कर्मचारीलाई कार्यालयमा जान निकै समस्या हुँदै आएको हो।

जिल्ला प्रहरी कार्यालयको गेटबाट जिल्ला प्रशासन हुँदै टुँडिखेल भएर तल्लो बजार र शैलेश्वरी मन्दिर हुँदै मल्लो बजार जोड्ने सडक कृषि विकास बैंक नजिक भत्किँदा आवतजावतमा समस्या भएको सिलगढीका स्थानीय रोशन नेपालीले बताए। उनले भने, 'सरकारी कार्यालयमा जाने मुख्य सडक नै पहिराले भत्किएको छ, जसले गर्दा मानिस तथा यातयातका साधनलाई आवतजावत गर्न निकै समस्या भएको छ।'

डोटीको सिलगढीदेखि अछामको साँफेबगर जोड्ने पहलमानसिंह स्वाँर राजमार्गबाट जिल्ला सदरमुकाम सिलगढीको मुख्य बजारक्षेत्र र अधिकांश सरकारी कार्यालय जोड्ने मुख्य सडकको पर्खाल भत्किँदा यहाँका सरकारी कार्यालयमा जाने सडक पूर्णरूपमा अवरुद्ध भएको हो। पहिरोले भत्किएको सडक मर्मत गरी तत्काल यातायात सञ्चालनका लागि पहल भइरहेको प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले बताए।

प्रकाशित मिति: : 2020-09-13 10:09:17

प्रतिकृया दिनुहोस्