अष्ट्रेलियाबाट सार्वजनिक भयो विजय कुमारको दोस्रो पुस्तक ‘सम्बन्धहरू’

पुस्तक ‘सम्बन्धहरु’को पहिलो प्रति गुरु (नाम्खा रिम्पोचे)लाई अर्पण गर्दै लेखक विजय कुमार र प्रकाशक संस्था फाइनप्रिन्ट बुक्सका निरज भारी । तस्वीर स्रोतः विजयकुमार पाण्डेको ट्विट

पत्रकार तथा लेखक विजय कुमारको दोस्रो गैरआख्यान पुस्तक ‘सम्बन्धहरू’ अष्ट्रेलियाबाट सार्वजनिक भएको छ। आफ्नो पहिलो गैरआख्यान ‘खुसी’ का लागि मदन पुरस्कार प्राप्त लेखक विजय कुमारले ५ असोजमा एक भिडियोमार्फत पुस्तक अष्ट्रेलिया र न्यूजिल्याण्डमा उपलब्ध हुने जनाएका थिए।

सोही दिन लेखकले अष्ट्रेलियाको मेलबर्नमा रहेका नारायण पाठक पुस्तकको पहिलो पाठक भएको भन्दैं पुस्तकसहितको उनको तस्वीर आफ्नो ट्वीटरमा ‘अपलोड’ गरेका थिए।

५ असोजमै उनले ट्वीटरमै पुस्तकको पहिलो प्रति गुरु ( नाम्खा रिम्पोचे ) लाई समर्पण गरेको भन्दै अर्को तस्वीर पनि सार्वजनिक गरेका थिए।

हाल नेपालमेलबर्नसप डटकम मार्फत बिक्री भइरहेको यो पुस्तकको मूल्य १६ अमेरिकी डलर राखिएको छ। पुस्तकको नेपाली मूल्य भने रु. ४९८ रहेको छ।

पुस्तकको प्रकाशन संस्था फाइनप्रिन्ट बुक्सका निरज भारीले कोभिड–१९ को महामारीमा विदेशबाटै पुस्तक सार्वजनिकीकरणको नयाँ प्रयोगको अवसर जुरेको बताए।

“पुस्तकलाई अष्ट्रेलिया र नेपालमा एकैपटक सार्वजनिक गर्ने योजना थियो, तर महामारीका कारण भारतबाट समयमै पुस्तक नआएका कारण त्यो सम्भव भएन”, भारीले भने, “यस्तो प्रयोगबाट नेपाली पुस्तक बजारको दायरा विस्तार हुने आशा लिएका छौं।” 

प्रकाशित मिति: : 2020-09-27 21:38:32

प्रतिकृया दिनुहोस्