नेपाल ‘रेल्वे’ युगमा प्रवेश गरिसक्यो

विगतमा रेलसेवा नेपालमा थियो तर ध्वस्त बनाइयो । प्रधानमन्त्री केपी शर्मा ओलीले रेल गुडाइन्छ भन्दा कागजको रेल सडकमा तेस्र्याएर खिल्ली उडाइयो अल्छी कुरौटेहरूबाट । तर, लामो प्रतीक्षाका रूपमा रहेको रेल आएसँगै रेल सपना यथार्थमा परिणत भएको छ । रेल चाँडै नै नियमित सञ्चालनमा आउने भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ बताउनुहुन्छ । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेलसेवा सञ्चालनका साथै मुलुकमा रेलसेवाको विकासका लागि भइरहेका प्रयासबारे मन्त्री नेम्वाङसँग गोरखापत्रका समाचारदाता भउचप्रसाद यादवले गर्नुभएको कुराकानी :

 नेपाली भूमिमा नयाँ रेल आउँदा कस्तो महसुस गर्नुभएको छ ?

नेपाल कम्युनिस्ट पार्टीको घोषणापत्र र जनमतको जगमा उभिएर गठन भएको वर्तमान सरकारले अहिले मुलुकको नयाँ निर्माणको अभियानलाई अगाडि बढाएको छ । घोषणापत्रमा गरिएको प्रतिबद्धता र जनताको विश्वासलाई आत्मसात् गर्दै सरकार सञ्चालन भएको पहिलो वर्षदेखि नै अब नेपाल रेलमार्गको नयाँ युगमा प्रवेश गर्नुपर्छ भन्दै नीति तथा कार्यक्रम बन्न थालेको हो । कुर्था–जयनगर रेल सञ्चालनका लागि नयाँ ‘सेट’ ल्याइएसँगै नेपाल रेलमार्गको अर्काे चरणमा प्रवेश गरेको छ । अब यो जयनगरदेखि कुर्था, बिजुलपुरा हुँदै बर्दिबास पुग्छ, जुन पूर्व–पश्चिम रेलमार्गको ‘कनेक्सन’ भएको ठाउँ हो ।
राष्ट्रिय झन्डा अङ्कित रेल चलाउन हामी आतुर छौँ भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीले पटक–पटकको अभिव्यक्तिलाई कार्यान्वयन गर्नका लागि नीति र कार्यक्रममा राखेर ‘जी टु जी’ प्रक्रियामार्फत भारतसँग खरिद गरिएकोे हो । नेपालको आफ्नै रेल जनकपुर आइपुगेको छ, धेरै खुसी लागेको छ । मैले मन्त्री पद सम्हालेदेखि प्रधानमन्त्री केपी ओलीले देख्नुभएको सपनाबमोजिम राष्ट्रिय झन्डा ओढेको रेल सञ्चालनमा ल्याउन भएको प्रयासबमोजिम रेल भित्रिनु सबै नेपालीका लागि ठूलो खुसीको कुरा ठान्छु ।
नेपालमा रेल उडेर आएको होइन, गुडेर नै आएको हो । रेल नेपालमा चल्नुपर्छ भन्दा कागजको रेलका डब्बाहरू बनाएर खिसी उडाएका क्षणहरू आज पनि स्मरणीय नै छन् । त्यस्ता खिसीलाई जनकपुर आएको रेलले ठूलो जवाफ दिएको छ । यसो त, केही महिनाअगाडि नै रेल आउने कार्यक्रम रहे पनि कोरोना महामारीका कारण केही ढिलो हुन गएको हो ।

 जनकपुरदेखि जयनगरसम्म रेलसेवा सञ्चालनका लागि के–के तयारी हुँदै छ, कहिलेदेखि नियमित सञ्चालनमा आउनेछ ?

कुर्था–जयनगर रेलसेवा चाँडै नै सञ्चालनमा आउनेछ । रेल देखाउनका लागि होइन, चलाउनकै लागि ल्याइएको हो । हामी भोलि–पर्सिदेखि नै रेल सञ्चालन गर्ने अवस्थामा छौँ । तर, ‘क्रस बोर्डर’
(सीमा वारपार) चल्ने यो रेल सञ्चालनको सबैभन्दा ठूलो बाधक कोभिड–१९ को महामारी नै रहेको छ । कोभिड–१९ महामारीको सङ्क्रमण कम हुनासाथै तथा नेपाल र भारतबीचको सिमाना खुला भएपछि यो रेलसेवा सञ्चालनमा आउनेछ । अब रेल सञ्चालन गर्नमा कुनै समस्या छैन । कोरोनाबीच पनि हामी आउन लागेका चाडबाडहरू मनाउनेछौँ, रेल पनि सञ्चालनमा ल्याउनेछौँ, चलाउनका लागि आन्तरिक योजना बनाइसकेका छौँ ।
नीति नभएर, तयारी नपुगेर रेल सञ्चालन अड्केको होइन । परीक्षणका लागि रेल ल्याउन सकिन्छ भने नियमित सञ्चालन गर्न पनि सकिन्छ । जे समस्या छ, कोरोनाकै समस्या छ । रेल्वे स्टेसनहरू निर्माण भइसकेका छन् । रेल कुदेर आइसक्यो, परीक्षण पनि भइसक्यो, अब रेल चढ्न धेरै कुर्नुपर्दैन ।

प्रकाशित मिति: : 2020-10-06 08:18:17

प्रतिकृया दिनुहोस्