२ महिनादेखि प्रहरी हेडक्‍वाटर कोरोनाको हटस्पट ! किन आएन नियन्त्रणमा ?

अत्यावश्यबाहेक भेटघाट बन्द, उच्च स्वास्थ्य सतर्कता

काठमाडौंको नक्सालस्थित नेपाल प्रहरीको मुख्यालयमा साउन ९ गतेयता विगतको जस्तो चहलपहल छैन । कोरोना भाइरसको संक्रमण बढेसँगै चहलपहल घटेको हो । विगतको तुलनामा प्रहरी महानिरीक्षकलाई भेट्नेहरुको संख्या पनि कम छ । साउन ९ गतेयता प्रहरी हेडक्‍वाटरमा निरन्तर कोरोनाका संक्रमित देखापर्न थालेका छन् ।

त्यो पनि सानो संख्यामा होइन । पछिल्लो दुई महिनामा प्रहरी मुख्यालयमा दैनिक दुई सय बढी सक्रिय संक्रमित छन् । कोरोनामुक्त भएर डिस्चार्ज हुनेहरु पनि छन् । तर २ सयभन्दा कम सक्रिय संक्रमित भने हुन सकेका छैनन् । बिहीबार (हिजो) सम्म प्रहरी मुख्यालयमा ५५८ जना सक्रिय संक्रमित छन् ।

हेडक्‍वाटरमै सामाजिक दूरी, मास्क, स्यानिटाइजरलगायतको प्रयोग अनिवार्य गरिएको छ । प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार कोरोना संक्रमणको जोखिमपछि सीमित कर्मचारीबाट मात्रै काम भइरहेको छ । अत्यावश्यक कामबाहेकलाई प्रवेशमा रोक लगाइएको छ ।

हालसम्म डिस्चार्ज हुनेहरुको संख्या जोड्ने हो भने आठ सय बढी प्रहरी हेडक्‍वाटरभित्रै संक्रमित भइसकेका छन् । देशभर पनि प्रहरीमा संक्रमितको संख्या बढ्दो छ । तर प्रशासनिक कामकाज बढी हुने मुख्यालयमै कोरोनाका सयौं संक्रमित भएपछि त्यसले कर्मचारीको मनोबलमा समेत प्रभाव पारेको छ ।

प्रकाशित मिति: : 2020-10-09 15:01:36

प्रतिकृया दिनुहोस्