अमेरिकी चुनावमा फ्लोरिडाको महत्व

चुनावभन्दा एक दिनअघि राष्ट्रपति पदका दुई बलिया उम्मेदवार रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प र डेमोक्र्याट पार्टीका जो वाइडेनबीचको प्रतिस्पर्धामा उनीहरूका समर्थक पनि तनावमा देखिएका छन्। 

संसारको सबैभन्दा बलियो देशको नेतृत्वकर्ता छानिने विषयलाई यतिबेला विश्वभरिका मानि रुचीका साथ हेरिरहेका छन्। 

तर, दुई उम्मेदवारका समर्थक एक–अर्काविरूद्ध गाली गलौंचमा उत्रिएका छन्। केही ठाउँमा झगडा पनि परेको छ। बेवर्ली हिल्स जस्तो शान्त ठाउँमा समेत झगडा भएको छ। 

पसलेहरू सुरक्षाका लागि आफ्नो पसलभन्दा बाहिर ‘प्लाई बोर्ड’ लगाइरहेका छन्। हिंस्रक गतिविधिका कारण कुनै पनि बेला आफ्नो पसलको सिसा फुट्नसक्ने उनीहरूको आशंका पनि जायज छ। 

राष्ट्रपति ट्रम्पले अमेरिकी चुनावमा एकता स्थापित हुने कुरामा पहिलेदेखि नै आशंका व्यक्त गरिसकेका छन्। उनले आइतबार पनि भनेका थिए, ‘मतगणना लामो समय हुनु भनेको चिन्ताको विषय हो।’ 

चुनाव जित्नका लागि इलेक्टोरल कलेजको २७० मत निकै महत्वपूर्ण मानिन्छ। र, दुबै नेताबीच यसपालि कडा प्रतिस्पर्धा देखिन्छ। चुनावमा निकै महत्वपूर्ण मानिएको राज्यमा ट्रम्पले सबैभन्दा धेरै सभा गरेका छन्। वाइडेनको तुलनामा ट्रम्पको सभामा सर्वसाधारणको भिड पनि देखिएको छ।   

अमेरिकाको चुनावको नतिजालाई लिएर एक–दुई साता कुर्नुपर्ने देखिन्छ। सन् १९०४ देखि चलिआएको परम्परा विपरित यसपालि नतिजा बाहिर आउन समय लाग्ने छ। १९०४ देखि अमेरिकी चुनावको नतिजा भोलिपल्टै आउने चलन थियो। 

कोरोना महामारीका कारण अमेरिकीहरू डाक सेवाबाट आफ्नो मत पठाइरहेका छन्। यसैले मतदान केन्द्रसम्म यी मत पुग्न र गणना हुन समय लाग्ने छ। लामो समयसम्म चल्ने यस्तो प्रक्रियामा धांधली हुनसक्ने र आफू अदालतसम्म पुग्ने चेतावनी राष्ट्रपति ट्रम्पले दिइसकेका छन्।

सन् १९९२ लाई छोडेर अमेरिकी चुनावको विश्लेषण गर्नुपर्दा १९६४ देखि फ्लोरिडाको मतले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ। 

अर्थात राष्ट्रपति त्यही उम्मेदवारले जितेका छन्, जसले फ्लोरिडाको नतिजालाई आफ्नो पक्षमा पारेका छन्। २०१६ मा ट्रम्पले फ्लोरिडामा १ प्रतिशत अन्तरले जित हात पारेका थिए। इलेक्टोरल मतको आधारमा यो तेस्रो ठूलो राज्य पनि हो। 

यसपालि पनि ट्रम्पको जितको आधार फ्लोरिडा बन्न सक्छ। एजेन्सी–५३८ को रिसर्च अनुसार यदी फ्लोरिडामा वाइडेनको जित पक्का भएको खण्डमा ट्रम्पको राष्ट्रपति पद जित्ने सम्भावना ११ प्रतिशतबाट घटेर एक प्रतिशतमा झर्नेछ।

प्रकाशित मिति: : 2020-11-03 08:37:00

प्रतिकृया दिनुहोस्