भारतीय सेना प्रमुख नरवाणेको सुरक्षामा उच्च सतर्कता, विरोध गर्नेहरू निगरानीमा

डिल्ली पाण्डे

काठमाडाैं
फाइल तस्वीर
फाइल तस्वीर

भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवाणेको नेपाल भ्रमणमा सुरक्षा व्यवस्था अत्यन्त कडा बनाइएको छ। 

नरवाणे तीन दिनका लागि बुधबार काठमाडौं अवतरण गर्दैछन्। 

लिपुलेक, कालापानी र लिम्पियाधुराको नक्सालाई लिएर विवादास्पद टिप्पणी गरेका नरवाणेको भ्रमणलाई लिएर सामाजिक कार्यकर्ता तथा केही बुद्धिजीविहरूले विरोध गर्दै केही दिन अगाडी विज्ञप्ती सार्वजनिक गरेका थिए। 

नेपाल आर्मीको निमन्त्रणामा आउन लागेका नरवाणेको भ्रमणमा हुनसक्ने अप्रिय घटनालाई लिएर नेपाल सरकारले उच्च सतर्कता पनि अपनाएको छ। 

नरवाणेको भ्रमणको विरोध गर्ने व्यक्तिहरूको फोन ट्रेसिङ गर्नुको साथै उनीहरूको गतिविधिलाई नियालेको उच्च सुरक्षा श्रोतले बिएल नेपाली सेवालाई जानकारी दियो। 

नरवाणेलाई सुरक्षा दिने सम्बन्धमा केही दिनअघि नेपाल आर्मी र प्रहरीको टोली आपसी बैठकमा पनि बसेका थिए। उनको आगमनभन्दा एक दिनअघि अर्थात मंगलबारदेखि नै उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ। 

त्रिभुवन विमानस्थलदेखि नरवाणे आवतजावत गर्ने स्थान र सडकमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ। उनलाई स्वागत गर्न नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मा विमानस्थल पुग्नेछन्। 

नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुवेर कठायतले भने, ‘विदेश पाहुना आउँदा सुरक्षा व्यवस्था त्यसै पनि मजबुत हुन्छ नै। जिल्ला सुरक्षा समितिले सुरक्षा चुनौतिलाई ध्यानमा राखेर सुरक्षा योजना बनाएको हुन्छ। उहाँको सुरक्षामा कमि हुदैन।’

नरवाणेको भ्रमणलाई लिएर विप्लव माओवादीदेखि राष्ट्रियताको नारा लिएर विभिन्न कार्यक्रम गर्ने साना दल तथा समूहले विरोध गरेका छन्। 

भारतले यसै वर्ष चीनको तिब्बतस्थित मानसरोवर जान नेपालको भूभाग आफ्नो नक्सामा गाभेर सडक उद्घाटन गरेपछि विरोध हुँदै आएको छ। 

नेपाल सरकारले कुटनीतिक तवरबाट यो समस्याको समाधान गर्न खोजेपनि भारत पछाडि हटेपछि सर्वसहमतीले संसदबाट नेपालको नयाँ नक्सा पास भएको थियो। 

नेपालको विरोधको विषयमा भारतीय सेना प्रमुखले विवादीत अभिब्यक्ति दिँदै चीनको उक्साहटमा नेपालले विरोध गरेको बताएका थिए। 

यसको नेपालमा विरोध भएपछि उनले आफ्नो बयान सच्चाएका थिए। 

नरवाणेको भ्रमणभन्दा एक साताअघि भारतीय जासुसी संस्था (रअ) का प्रमुख सामान्त गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर गएका थिए। उनको भेटघाटलाई लिएर नेपालको राजनीति तातिएको छ।

नरवाणे नेपाली सेनाको मानार्थ जर्नेल पद ग्रहण गर्न नेपाल आउन लागेका हुन्। 

यस्ता छन् कार्यतालिका

पहिलो दिन कुनै औपचारिक कार्यक्रम राखिएको छैन तर, नेपालस्थित भारतीय दूतावासको समन्वयमा अनौपचारिक भेटघाट हुनेछन्।

बिहीबार मानार्थ महारथीको दर्ज्यानी चिन्ह लगाउने कार्यक्रम शितलनिवासले राखेको छ। 

उनलाई राष्ट्रपति विधादेवी भण्डारीले औपचारिक समारोहबीच दज्र्यानी चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ। 

शितलनिवासको कार्यक्रम अघि नै नरवणेले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम तय भएको छ। त्यसपछि उनले जङ्गीअड्डामा सैनिक गारत निरीक्षण गर्नेछन्। 

यस्तै उनले समकक्षी नेपाली सेनाका महारथी पूर्णचन्द्र थापासँग पनि बिहीबार नै औपचारिक सम्वाद गर्नेछन्।

छलफलपछि जंगीअड्डाका उच्च सैन्य अधिकृतहरुसँग उनले छलफल गर्नेछन्। नरवणेको सम्मानमा जंगीअड्डाले बिहीबार साँझ रात्रि भोजको समेत आयोजना गरेको छ।

भ्रमणको अन्तिम दिन शुक्रबार नरवणेले सैनिक स्टाफ कलेज, शिवपुरीमा शिक्षार्थीसँग अन्तरक्रिया गर्नेछन्। त्यसपछि प्रधानमन्त्री एवं रक्षामन्त्री ओलीलाई भेटेर स्वदेश फर्किने कार्यक्रम तय भएको छ।

उनी शुक्रबार स्वदेश फर्किने छन्।
 

प्रकाशित मिति: : 2020-11-03 19:37:00

प्रतिकृया दिनुहोस्