मन्डेकाजी र आयशासहित ७ खेलाडीलाई राष्ट्रिय प्रतिभा सम्मान

बिएल संवाददाता

काठमाडाै‌ं

१३औँ दक्षिण एशियाली खेलकुद (साग) मा दोहोरो स्वर्ण विजेता मण्डेकाजी श्रेष्ठ, आयशा शाक्य, सुवास गुरुङसहित ७ खेलाडीलाई राष्ट्रिय प्रतिभा सम्मानबाट पुरस्कृत गरिने भएकाे छ। 

युवा तथा खेलकुद मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै सागमा दोहोरो स्वर्ण जितेका करातेका मण्डेकाजी, तेक्वान्दोकी आयशा र गल्फर सुवास सहित ७ खेलाडीलाई राष्ट्रिय प्रतिभा सम्मानबाट पुरस्कृत गरिने जनाएको छ।

मन्त्रालयले आवेदन आएका २७ खेलाडी, १२ खेल प्रशिक्षक, ३ खेल निर्णायक, ४ खेल व्यवस्थापक र चिकित्सक, २ खेल संघ र विधा नखुलेका ४ गरी जम्मा ५२ वटा आवेदनहरुहरु प्राप्त भएको र त्यसलाई राष्ट्रिय खेलकुद प्रतिभा सम्मान कार्यविधि बमोजिम ९ सदस्य रहेको समितिबाट मूल्यांकन गर्दा उच्चतम अंक प्राप्त गर्ने खेल प्रतिभाहरु र खेलसंघलाई नगद सम्मान गर्ने जनाएको छ।

यस्तै साइक्लिङकी लक्ष्मी मगर, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ, शारीरिक सुगठनका समिर श्रेष्ठ र भारोत्तोलनका विकास थापा पनि राष्ट्रिय प्रतिभा सम्मानबाट पुरस्कृत हुने सूचीमा रहेका छन्।

यसैगरी कराते प्रशिक्षक कुशल श्रेष्ठ र तेक्वान्दो प्रशिक्षक नविनकुमार श्रेष्ठ, जुडोका निर्णायक धर्मकुमार श्रेष्ठ , चिकित्सक डा. ज्ञानेन्द्रविक्रम शाह र नेपाल गल्फ संघलाई पनि पुरस्कृत गरिने मन्त्रालयले जनाएको छ।

खेलाडीहरुको मनोबल उच्च राख्न पुर्‍याएको योगदानको कदरस्वरुप पुरस्कृत गर्ने मन्त्रालयले जनाएको छ।

राष्ट्रिय खेलकुद प्रतिभा सम्मान कार्यविधि २०६८, (तेस्रो संशोधन २०७५० बमोजिम) सदस्य रहेको समितिबाट प्राप्त भएका आवेदनहरुको मूल्याकंन गर्दा उच्चतम अंक प्राप्त गर्नेलाई पुरस्कृत गर्न लागिएको मन्त्रालयले जनाएको छ।

संविधान दिवसका दिन १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा एतिहासिक सफलता दिलाउने २ सय ७ (५१ स्वर्ण, ६० रजत र ९६ कास्य) पदक विजेता खेलाडी र प्रशिक्षकलाई मानपदवी, अंलकार र पदकले सम्मान गरिने भनितापनि २ व्यक्तिले मात्र साे सम्मान प्राप्त गरेका थिए। 

राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न क्षेत्रका व्यक्तिलाई मानपदवी, अलङ्कार र पदकबाट विभूषित घोषणा गर्दा तीन विभाग (सेना, प्रहरी र शसस्त्र) बाट सिफारिस भएका सागका १५ जना स्वर्ण पदक विजेतासहित ओलम्पियन संगिना वैद्य, राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवाल, राखेपका विभागिय प्रमुख कुलबहादुर थापामात्र खेल क्षेत्रबाट विभूषित भएका थिए।

प्रकाशित मिति: : 2020-11-14 08:30:00

प्रतिकृया दिनुहोस्