'राति राति ओलीलाई भेट्ने देउवा'लाई अफर : सहयात्रीबाट अप्ठेरो पर्दा प्रतिपक्षी रिझाउने ओली अस्त्र

पहिलोपोष्ट

काठमाडाैं

बहुमतको डोजर लगाएर मनपरी विभाग गठन गर्ने, पार्टीभित्रको प्रतिपक्षीको आवाज सुन्दै नसुन्ने, पार्टीलाई उचित नेतृत्व प्रदान गर्न नसकेको। यस्तै आरोप नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले खेपिरहेका छन्। आफ्नै नेतृत्वको सरकारले निर्वाचन गराउँदा पनि नराम्ररी हारेको दाग त छँदै छ देउवामाथि।

यसैमाथि कोरोना भाइरसको महामारीमा सरकार छाडा बनेको छ। जनताको कुरा सुनेकै छैन। विभिन्न तरिकाले भ्रष्टाचारमा लिप्त छ सरकार। तर, प्रमुख प्रतिपक्षी दल काँग्रेस मुकदर्शक बनेको छ। जनताले प्रमुख प्रतिपक्षी दल खोजिरहेका छन्। तर, काँग्रेस नेतृत्व भने आफ्नै दलबाट सर्वाधिक आलोचित प्रधानमन्त्री केपी शर्मा ओलीसँग 'हबनबिङ' छन्। त्यो पनि सत्ता साझेदारीसम्मको प्रस्तावमा।

हुन त काँग्रेस नेताहरुले बेलाबेला काँग्रेसलाई पाँच वर्षसम्म प्रतिपक्षीमा बस्ने जनमत छ भनेर हात बाँधेर बसेको अभिनय गर्छन्। तर, आफ्नै दलका सभापति भने बेलाबेला सत्तामा जान उच्किन्छन्।

प्रसंग, सभापति देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीको शनिवारको भेट। देउवा बालुवाटार पुगेर नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को सचिवालय बैठकबाट आलोचित प्रधानमन्त्री एवं अध्यक्ष ओलीसँग भेट गरे। भेटमा सत्ता साझेदारीसम्मको अफर ओलीले गरेको बताइन्छ।

त्यसैले पनि यो विषयले नेकपाभित्र तरंग पैदा गरिदियो। पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले विभिन्न आरोप लगाएर ओलीलाई र्‍याखर्‍याख पारेका छन्। त्यतिमात्र हैन सचिवालयका बहुमत सदस्यको दबावले ओली प्रतिपक्षी दलका नेताको सहयोग लिनसम्म पुग्नुपर्ने बाध्यता आइलागेको छ।

ओली पासा फ्याँक्न सिपालु छन्। नेताहरुलाई विभिन्न प्रलोभन देखाएर खेलाउन खप्पिस ओली पछिल्लोपटक चेपुवामा परेपछि देउवासँग भेट गरेका हुन्। ओलीले आफ्नैबाट आफू अप्ठेरमा पर्दा यसरी नै प्रमुख प्रतिपक्षी दलका नेतासँग भेट्ने गरेका छन्।

प्रकाशित मिति: : 2020-11-23 10:31:00

प्रतिकृया दिनुहोस्