कोरोनाको अनुसन्धान गर्न डब्ल्यूएचओको टिम चीन जाँदै

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को टिम कोरोना संक्रमणको अनुसन्धान गर्न चीन जाने भएको छ। यसको जानकारी डब्ल्यूएचओले सोमबार दिएको हो। 

यो टिमले कोरोना भाइरसले विश्वभरि महामारीको रूप लिएको घटनाको अनुसन्धान गर्नेछ। 

हाल विश्वब्यापी रूपमा कोरोनाबाट १४ लाखभन्दा बढी मानिसको निधन भइसकेको छ। अहिले ५ करोड ९४ लाख मानिस संक्रमित छन्। एक्टिभ केस मात्र १ करोड ७० लाखको हाराहारीमा छ। 

अमेरिकाले कोरोना भाइरसको उत्पत्ति चीनले गरेको आरोप लगाउँदै आएको छ। विश्वभरि कोरोना भाइरस फैलिदा पनि चीनमा यसको असर नगन्य मात्रामा छ। 

अमेरिकामा मात्र यो साता १० हजारको हाराहारीमा मानिसको मृत्यु भएको थियो। 

डब्ल्यूएचओले सोमबार राती विश्वभरिका विज्ञ तथा संक्रमित बिरामीको एउटा विशेषज्ञ टिम चीन पठाउने निर्णय गरेको हो। यो टिमले चीनमा कोरोना भाइरस कसरी फैलियो तथा यसको मुख्य कारण के हो? यस सम्बन्धि अध्ययन गर्नेछ। 

डब्ल्यूएचओका अनुसार चीन जाने टिमले कोरोना भाइरस जनावरबाट मानिसमा सरेको हो कि? यसको अन्य कारण पनि छ भन्ने विषयमा विस्तृत अध्ययन गर्नेछ। 

डब्ल्यूएचओका कार्यकारी निर्देशक माइकल रायनले भनेका छन्, ‘हामीलाई पूर्ण विश्वास छ, चीन सरकारले डब्ल्यूएचओको टोलीलार्य सहयोग गर्नेछ।’

डब्ल्यूएचओले पठाउने टिममा चीनका विज्ञ पनि समावेश रहने छन्। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प लामो समयदेखि कोरोना भाइरस चीनले फैलाएको आरोप लगाउँदै आइरहेका छन्। 

यस्तो अवस्थामा डब्ल्यूएचओको चीन भ्रमणलाई लिएर धेरै अडकल काटिएको छ।

प्रकाशित मिति: : 2020-11-24 09:51:00

प्रतिकृया दिनुहोस्