अमेरिकाका तीन पूर्व राष्ट्रपतिले प्रत्यक्ष–प्रसारणमार्फत कोरोना खोप लगाउने

संजोग आचार्य

न्युयोर्क

अमेरिकाका तीन पूर्व राष्ट्रपति बिल क्लिन्टन, जर्ज बुस जुनियर तथा बाराक ओबामाले टेलिभिजनमा प्रत्यक्ष प्रसारणमार्फत कोरोना भाइरसविरूद्ध खोप लगाउने घोषणा गरेका छन्। 

खोपको विषयमा उब्जिएको शंका निवारणका लागि उनीहरूले प्रत्यक्ष प्रसारणमार्फत खोप लगाउने बताएका हुन्। 

आपत्कालीन प्रयोगका लागि अनुमति पाएको फाइजर र बायोएनटेकले बनाएको कोरोनाविरुद्धको खोपको पहिलो लट बेलायतमा पुगेको केही घण्टा नबित्दै अमेरिकामा हालै निर्वाचित राष्ट्रपति जो वाइडेनले पनि खोपलाई स्वीकृति दिने स्पष्ट पारिसकेका छन्।

गएको बुधबार बेलायती नियमनकारी निकाय मेडिसिन एन्ड हेल्थकेयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सी (एमएचआरए) ले सर्वसाधारणको प्रयोगका लागि फाइजर र बायोएनटेक खोपलाई स्वीकृति प्रदान गरेको थियो।

परीक्षण क्रममा फाइजर र बायोएनटेकले विकास गरेको खोप ९५ प्रतिशत प्रभावकारी देखिएको छ। 

खोपलाई बेलायतका विभिन्न अस्पतालका खोप केन्द्रहरुमा वितरण गर्ने तयारी छ। यता अमेरिकाको फुड एण्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए) ले यसै साता स्वीकृति दिने सम्भावना प्रबल छ। 

यस विषयमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले कुनै प्रतिक्रिया दिएका छैनन्। ‘द गार्जियन’ सँगको अन्तर्वार्तामा उप–राष्ट्रपति निर्वाचित कमला ह्यारिसले भनेकी छिन्, ‘खोपले स्वीकृति पाएपछि निश्चय नै म पनि लगाउने छु। हामी एफडीएको स्विकृतिको प्रतिक्षामा छौं।’

वाइडेनले पनि बिहीबार अमेरिकी न्युज एजेन्सी सीएनएनको जेक टेपर सोमा भने, ‘म खोप लगाउन तयारी अवस्थामा बसेको छु। म पनि चाहन्छु, यो खोप सबैको अगाडि लगाउँ। म अमेरिकी जनतालाई विश्वास दिलाउन चाहन्छु, हाम्रो खोप सुरक्षित छ। यसलाई लिएर डर र शंका नगर्नुहोस्।’

गत महिना ग्यालपले गरेको एउटा सर्वेमा खोपलाई लिएर थुप्रै अमेरिकीले प्रश्न उठाएका थिए। सर्वेमा करिब ४० प्रतिशत अमेरिकीले खोपप्रति डर र आशंका रहेको बताएका थिए। 

उनीहरूको आशंकालाई हटाउन अमेरिकाका पूर्व राष्ट्रपतिहरूले प्रत्यक्ष प्रसारणमार्फत खोप लगाउन लागेका हुन्।

 

प्रकाशित मिति: : 2020-12-04 09:48:00

प्रतिकृया दिनुहोस्