कोरोना मनोविज्ञान

गत बर्षको अन्तदेखि सुरु भएको कोभिड–१९ अर्थात कोरोना महामारीको कारण विश्वब्यापी रुपमा भएको धनजनको क्षतिको बारेमा अनेकौं लेख, समाचार र विश्लेषण भएका छन्। 

यसको विपरित कोरोना महामारीका धेरै फाइदा पनि भएका छन्। महामारी कैकारण देश, समाज र व्यक्तिले एउटा नयाँ अनुभव लिन पाएका छन्। सम्भवतः अनुभव व्यक्ति पिच्छे फरक–फरक हुनसक्छ। 

सबैभन्दा पहिले सधैँ आफ्नो काममा मात्र ब्यस्त रहने र घरपरिवारलाई समय दिन नसक्नेले बाध्यकारी रुपमा मात्र भए पनि घर परिवारलाई समय दिन पाएका छन्। केही समय ‘ब्रेक’ लिनुलाई सकारात्मक रुप मै लिनुपर्छ। 

काम ठप्प हुँदा आर्थिक तथा अन्य हानी–नोक्सानीको मूल्यपछि चुकाउनु नै पर्नेछ तर हाल फुर्सद पाउनु र लामो समयको थकान मेटाउन पाउनुलाई राम्रै मान्नुपर्छ। यस विपरित सधै ठूलाठूला योजना बनाउने तर कामको नाममा हालसम्म झिङ्गा पनि नमारेका मान्यबरलाई आफूले किन प्रगति गर्न नसकेको भनेर सफाई दिन सजिलो भएको छ। 

कोरोनाले गर्दा बर्बाद भयो, होइन भने मैले अहिलेसम्म चमत्कार गरिसकेको हुन्थे भन्ने शैलीमा अरुलाई गफ दिएर आत्मसन्तुष्टी लिनु र आफैप्रति द्रोह गर्नु दिनचर्या भएकाहरुलाई पनि यो महामारीले निकै फाइदा दिएको छ।

अंग्रेजीमा एउटा कथन छ– बिजी विदाउट बिजनेस अर्थात् काम पनि छैन, फुर्सद पनि छैन। 

यस्तै मान्छेलाई पनि बरदान नै भएको छ, यो कोरोना महामारी। दिनभरी पत्यार नै नलाग्ने उद्देश्य लिएर हिँड्ने राती घर फर्किदा खाली हात फर्किनेहरुले पनि यो महामारीलाई देखाएर आफूले कुनै काम गर्न नपाएको र यही कारण आफ्नो जीवन डामाडोल भएको भन्न पाएका छन्। यो एउटा निकै ठूलो उपलब्धी हो भन्ने पक्तिकारको बुझाइ छ।

त्यस्तै कोरोना महामारीले फाइदा दिएको वर्ग हो, ऋण लिने तर नतिर्ने। कुकुरलाई मासु पैँचो दिए कुनै दिन उसले फिर्ता देला तर यी र यस्तै नियत भएका मान्यबरहरुले ज्यान गए तिर्दैनन्। पहिले ताकेता गर्दा यो र उ कारण भनेर झुट बोल्नु पर्नेहरुलाई कोरोनाको कारण मेरो आउनु पर्ने पैसा सबै रोकिएको छ भनेर झुट बोल्दा भएको छ। साथै बाहिर हिँड्दा मास्क लगाएर हिँड्नु पर्ने भएको कारण आफूले ऋण लिएको मान्छेसँग बच्न पनि मद्दत गरेको छ, यो पनि सानो उपलब्धी होइन।

कोरोना महामारीको कारण सबैभन्दा फाइदा भएको वर्ग हो, समाजका दुराचारी, अपराधी, बलात्कारी र समाजको अगाडी मुखै देखाउन नसक्ने वर्ग। सबैको अगाडी मुख देखाउन नसकेर साँझ र राती लुकेर हिँड्नु पर्नेलाई दिउँसै मास्क लगाएर हिँड्न पाउनु पनि ठूलै उपलब्धी हो। अरुको अगाडी रोगबाट बच्न खोजेको जस्तो देखिए पनि वास्तवमा उनीहरु समाजबाट बच्न खोजेका हुन्।

हरेक बादलमा चाँदीको घेरा हुन्छ भने जस्तै प्रत्येक कुरालाई सकारात्मक रुपमा लिनुपर्छ। गीतामा पनि भगवान श्री कृष्णले अर्जुनलाई जे भएको छ, राम्रो भएको छ र जे हुन्छ राम्रै हुन्छ भनेर सन्देश दिए जस्तो पक्तिकारले पनि कोरोना महामारीलाई सकारात्मक रुप मै लिएको छ। आशा छ छिटै नै यो कोरोना महामारी समाप्त हुनेछ र आगामी दिन सबैको लागि राम्रो मात्र होइन, अत्यन्तै राम्रो हुनेछ।
 

प्रकाशित मिति: : 2020-12-08 20:16:00

प्रतिकृया दिनुहोस्