केही टुक्राहरु

राजीव घिमिरे

काठमाडाै‌ं

चाइनिज टोली
=========

धेरै वर्षअघिको कुरा हो, नेपाल प्रज्ञा प्रतिष्ठानमा चीनबाट साहित्यकारको टोली आएको थियो। उनीहरूलाई नेपाली नआउने, नेपाली साहित्यकारलाई चाइनिज नआउने, अनि अङ्ग्रेजी दुबैलाई नआउने। अनुवादकको मार्फत कुराकानी भैरहेको थियो । उताको टोली नेता एकदमै मज्जाले भाषण गर्न जान्ने, भाषण गर्ने सिलसिलामा एउटा जोक भनेछन्, जोक लामै थियो तर नेपाली अनुवादकले एक वाक्यमा अनुवाद गरिदिए, सुन्नेहरू जोडजोडले हाँस्न थाले। 
अनुवादकको अनुवाद गर्ने कौसलबाट अत्यन्त प्रभावित भएर फर्कने बेलामा चीनका नेताले सोधेछन्, ‘हैन, मैले त्यत्रो लामो जोक सुनाएको थिएँ, तिमीले त्यत्रो छोटो अनुवाद पनि कति राम्ररी गर्यौ, सबै जोडजोडले हाँस्न थाले, कसरी ?’
अनुवादकले भने, ‘मैले जोक बुझिन त्यसैले सबैलाई भने– महामहिमले जोक भन्नुभयो। तपाईंहरू हाँस्नुस्।’
अहिले पनि शायद त्यस्तै अनुवाद भएको होला, ‘महामहिमले मिल्नु भन्नु भयो, तपाईहरू मिल्नुस्।’

मान्नु, स्वीकार गर्नु
===========
संसद विघटन गर्नु असंवैधानिक, हाम्रो संविधान अनुसार। प्रधानमन्त्रीले संसद विघटन गर्न नपाउनु अप्रजातान्त्रिक, प्रचलितमान्यता अनुसार। असंवैधानिक हो कि हैन भन्ने छलफल अधिवक्ताले न्यायालयमा गरून्, अन्त अरू कसैले गरेको खासै मतलब छैन। त्यसैले म त अप्रजातान्त्रिक हो कि हैन भन्नेमा छलफल गर्छु, किनभने म अधिवक्ता होइन, त्यसैले मैले अझ माथिबाट हेर्न पाउने छुट छ।

तर अन्त्यमा देशको बासिन्दा भएको नाताले मैले पालन गर्ने भनेको देशको संविधान नै हो, यसको व्याख्याता सर्वोच्च हो, मैले स्विकारेको प्रजातनत्रले पनि यहि भन्छ। त्यसले सर्वोच्चले जे भन्यो त्यो ‘मान्छु’, तर प्रजातन्त्रको भावना विपरीत भयो भने ‘स्वीकार’ गर्दिन।
प्रचलित प्रजातान्त्रिक मान्यताहरू संबिधान बनाउँदा नै राख्नु पर्थ्यो, अब त्यसमा विवाद गरेर काम छैन- ‘मान्छु’ तर ‘स्वीकार’ गर्दिन। तर मेरो अस्वीकृति समय, सन्दर्भ र मञ्च पाएमा जनाउँछु। जुन बेलामा मेरो अस्वीकृति प्रखर देखिनसक्छ त्यो बेलामा झन् जनाउँछु।
तर फेरी मैले नै स्वीकार गरेको प्रजातान्त्रिक मान्यतामा ‘स्वीकार’ गर्नुको कुनै मतलब हुँदैन ‘मान्नु’को मात्र हुन्छ भन्ने मलाई राम्रै थाह छ। मैले भोट दिएको मान्छे देशको प्रधानमन्त्री भएन म ‘स्वीकार’ गर्दिन तर उ मेरो देशको प्रधानमन्त्री हो म ‘मान्छु’, अर्को अवधिसम्म, मेरो प्रजातन्त्रले सिकाएको कुरो। अनि मैले तिमीलाई (पार्टी) प्रधानमन्त्री ‘स्वीकार’ गरेको थिइन है भनेर म उनलाई पटकपटक भोट नहालेर मेरो अस्वीकृति जनाउँछु । सडकमा जान सक्ने वा क्रान्तिमा जान सक्ने मेरो क्षमता छैन, त्यसैले मलाई यो नै बाटो स्वीकार्य छ ।
‘मान्नु’ र ‘स्वीकार गर्नु’ मा शायद यही भिन्नता हो कि?
त्यसैले मेरो कुरा मान्ने, नमान्ने, स्वीकार गर्ने, अस्वीकार गर्ने सबैलाई स्वागत !

Oliमय संसार
========
Oli-1…..
· अङ्ग्रेजीमा एउटा शब्द छ, OLIgarchy, जसको अर्थ हुन्छ- a government in which a small group exercises control especially for corrupt and selfish purposes
· त्यस्तै, अङ्ग्रेजीमा कुनै system, practice, or institution ध्वस्त पार्ने कार्यलाई abOLIsh भनिन्छ ।
Oli-2…..
· अङ्ग्रेजीमा pOLIsh भन्ने शब्दले improve, refine, or add the finishing touches to भन्ने जनाउँछ ।
· त्यस्तै, अङ्ग्रेजीमा sOLIdभन्ने शब्दले firm and stable भन्ने जनाउँछ ।
Oli-3…..
तर अहिलेको सबै भन्दा महत्वपूर्ण प्रश्न
· के Psychology मा P silent भए जस्तै अब Politics मा पनि “P” silent भएर अब OLItics भएको हो त?
(नोटः कुनै पूर्वाग्रह बिना पढिदिनु होला !)

योग्यता
=====
मेरा एक जना साथी, विदेशमा धेरै वर्षदेखि बसेको, नागरिकता पनि उतैको लिएको। तर नेपालमा सिष्टमै भएन भनेर ठूलो पीर गर्ने, भ्रष्टाचारले देश बिगार्यो भनेर ठूलो गुनासो गरिराख्ने, हामीलाई तिमीहरू केही गर्न नसक्ने भनेर गाली पनि गरी राख्ने ।
एक पल्ट नेपाल आउँदा मसँग भेट भयो र म सरकारी कर्मचारी भन्ने थाह भएकोले उसले भन्यो, ‘हेर न, मेरो नेपालको नागरिकताको प्रतिलिपि च्यात्तिएको छ, म थोरै दिनको लागि मात्र नेपाल बस्छु, धेरै फुर्सद छैन, यसो कर्मचारीलाई केही दिएर चाँडो अर्को प्रतिलिपि मिलाउन सकिन्न?’
मैले सोधेँ, ‘तिमीलाई नेपालको नागरिकता किन चाहियो, उतैको भैसकेको होइन र?’
उसले मुखमा खुसीको मुस्कान ल्याएर भन्यो, ‘हो उताको भएको त धेरै नै भयो, तर यो पाली नेपाल आएको बेला इन्डिया पनि घुम्न जाने विचार छ, त्यहाँ नेपालको नागरिकता देखायो भने सार्क कन्ट्रिको भनेर अलि सस्तो हुन्छ रे !’

प्रभावशाली व्यक्ति
===========
समाचारः नेपाली सपना रोका बिबिसीको विश्वका १०० प्रभावशाली महिलाको लिस्टमा !
अनि नेपाली विद्वानहरूको ठूलो छलफल भयो ।
विद्वान१: यसरी नेपाली पर्नु त गर्व कै कुरा हो तर मरेकाको सेवा गर्नुभन्दा जिउँदोको सेवा गरेर बसेकी कुनै महिलालाई यो लिस्टमा राखेको भए अझ हुने, बीबीसीले अलि जानेन छ।
विद्वान२: ती महिलालाई जिउँदोको सेवा गर्नपर्छ भनेर सिकाउने कुनै गुरूआमालाई पो राख्न पर्ने थियो ।
विद्वान३: त्यो शिक्षाले त कामै दिएन भनेर क्रान्ति गर्ने महिला क्रान्तिकारीलाई पो राख्न राख्न पर्ने थियो।
विद्वान४: ती महिला क्रान्तिकारीलाई क्रान्तिको उद्देश्य बताएर आफ्नो जीवनलाई क्रान्तिमा होम्न उत्प्रेरणा दिने कुनै महिला नेतृलाई पो राख्न पर्ने थियो।
विद्वान५: क्रान्तिले मात्र काम गर्दैन भनेर त्यो क्रान्तिलाई वास्तविक राजनैतिक प्रणालीमा ढाल्न संसदमा गएकी नेतृलाई राख्न पर्ने थियो।
विद्वान६: यसलाई अलि फरक दृष्टिकोणले हेरौं, ती महिला सांसदलाई संसदमा के बोल्ने भनेर क्रान्तिकारी बिचार दिने त उनकै नेता श्रीमान हुन। उनलाई नै अर्को सालको लिस्टमा पार्न पर्छ। लिस्टमा पुरुष राखेर, लिस्ट समावेशी पनि हुने, यसले राम्रो सन्देश पनि जाने नेपालीहरू जहिले पनि नौलो सोच्छन् भनेर।
विद्वान७: तर उनी जनजातिको तर्फबाट हुनुपर्छ ।
विद्वान८: हैन, दलितको तर्फबाट हुनुपर्छ ।
विद्वान९: उसो भए अझ नौलो प्रयोग गरौं नेपालको एकै जनाको हो भन्ने तर एउटै नम्बरमा दुइ जना कै नाम राखेर पठाऔं।
विद्वान१०: हुन्छ, तर पहिले कस्को राख्ने ?
 

प्रकाशित मिति: : 2021-01-01 22:46:00

प्रतिकृया दिनुहोस्