जुम्लाको पातारासीमा बन्यो ५ शय्याको कोभिड अस्पताल

जुम्लाको पातारासी गाउँपालिकाले ५ शय्याको कोभिड अस्थायी अस्पताल संचालनमा ल्याएको छ। 

कोरोना संक्रमणका बिरामीको पालिकामै प्राथमिक उपचारका लागि कोभिड अस्पताल संचालनमा ल्याइएको पातारासी गाउँपालिकाका स्वास्थ्य संयोजक रतनबहादुर बुढथापाले बताए।

‘कोरोना भाइरसका बिरामी भेटिहालेमा भिन्नै उपचार गर्ने उद्देश्यका साथ अस्पताल सुरु गरिएको हो,’ उनले भने।

कोभिड अस्थायी अस्पताल उद्घाटनपछि गाउँपालिका अध्यक्ष लक्षिमान बोहोराले अहिले पनि कोरोना संक्रमण कम नभएको भन्दै कठिन अवस्था आएमा उपचारका लागि अस्पताल संचालनमा ल्याइएको बताए। 

उनले भने, ‘जोखिम आइहालेमा स्वास्थ्यकर्मीहरूले निरन्तर काम गर्ने र गाउँपालिकाले कोरोनाबाट जोगाउन आर्थिक, भौतिक सहयोगमा कुनै कुरामा कमी गर्ने छैन।’

कोभिड अस्पताल व्यवस्थापनका लागि संघीय सरकारले १० लाख रुपैयाँ सहयोग गरेको छ। 

पातारासी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढथापाले भने, ‘कोभिड अस्पतालमा एक जना मेडिकल अफिसर, २ जना स्टाफ नर्स र कार्यालय सहयोगीको दरबन्दी छ। तर, अहिलेसम्म मेडिकल अफिसरको दरखास्त परेको छैन। अरु स्टाफ भर्ना गरी काम सुचारु गरिएको छ।’

पातारासी गाउँपालिकाकी उपाध्यक्ष पुन्नकली महताराले दुर्गमका नागरिकहरूको स्वास्थ्य अधिकार सुनिश्चितताका लागि पालिकाले स्वास्थ्य क्षेत्रलाई प्रथामिकता दिएर काम गरिरहेको बताइन्। 

जिल्ला प्रशासन कार्यालय जुम्लाको तथ्यांकअनुसार जुम्लामा ११ हजार ६३९ जनालाई कोरोना परीक्षण गरिएकामा ४६३ जना संक्रमित भएका छन्। जसमध्ये ४५१ जना निको भएर घर फर्किसकेका छन् भने १२ जना सक्रिय संक्रमित छन्।
 

प्रकाशित मिति: : 2021-01-12 18:19:00

प्रतिकृया दिनुहोस्