नेपाल आइपुग्याे काेराेनाविरुद्धको १० लाख डोज खोप

बिएल संवाददाता

काठमाडाै‌ं

भारतले अनुदानस्वरूप दिएकाे कोरोनाविरुद्ध खोप नेपाल आइपुगेको छ। काठमाडौंमा विहिबार ११ बजेर ४५ मिनेटमा एयर इन्डियाको विमानले खोप ल्याएको हो।

त्रिभुवन विमानस्थलमा आयोजित संक्षिप्त समारोहमा भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीलाई खोप हस्तान्तरण गरे।

खोप बुझ्दै स्वास्थ्य मन्त्री त्रिपाठीले चाँडै वितरणको काम सरकारले थाल्ने बताए। मन्त्री त्रिपाठीले खोप आपूर्तिको लागि भारतीय सरकारलाई धन्यवाद समेत दिए।

खोपलाई विमानस्थलस्थित कार्गो भवनको कोल्ड स्टोरमा राखिनेछ र त्यसपछि टेकुस्थित केन्द्रीय स्टोरमा लगिनेछ। खोप बढीमा पाँच दिनभित्र देशका सात प्रदेशमा पठाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

खोप देशैभरका अस्पतालहरुबाट एकैपटक लगाइने  मन्त्रालयले जनाएको छ। मन्त्रालयले खोप आएको एक हप्ताभित्र लगाइसक्ने गरी तयारी गरेको बताएको छ।

उक्त खोप स्वास्थ्यकर्मी, शव व्यवस्थापन गर्ने व्यक्तिहरु, एम्बुलेन्स चालक, महिला स्वास्थ्य स्वयंसेविका तथा स्थानीय निकायबाट खटाइएका सफाइकर्मीलाई लगाइनेछ।

सरकारले पहिलो चरणमा तीन प्रतिशत अर्थात ९ लाख ११ हजार ३ सय ४२ जनालाई खोप लगाउने तयारी गरेको छ। अहिले भने १० लाख डोज मात्रै आएकाले पहिलो चरणमा करिब चार लाखलाई मात्र खोप लगाउन सकिने मन्त्रालयले जनाएकाे छ। 

प्रकाशित मिति: : 2021-01-21 13:10:00

प्रतिकृया दिनुहोस्