ओलीले राजावादीहरुसँग साठगाँठ गरेर मलाई सिध्यान खाेजे: प्रचण्ड

बिएल संवाददाता

काठमाडाै‌ं

नेकपा (प्रचण्ड)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई सिध्याउन प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादीहरुसँग साठगाँठ गरिरहेको दाबी गरेका छन्। 

प्रतिनिधिसभा विघटनविरूद्ध आज काठमाडौंमा आयोजित प्रदर्शनपछि सभालाई सम्बोधन गर्दै उनले भने,‘केपी शर्मा ओलीको एकमात्र मिसन भनेको मलाई सिध्याउनु हो। ओली राजवादीसँग मिलेर आफूलाई सिध्याउन लागिपरेका छन्।’

ओलीले आफूलाई सिध्याउने र माधव नेपालसँग फाटो ल्याउने कोशिस गरिराखेको उनले बताए।

‘प्रधानमन्त्री ओलीको अहिलेको एकमात्र उद्देश्य भनेको प्रचण्डलाई सिध्याउने हो’, उनले भने, ‘उनी म र माधव नेपालबीच फाटो ल्याउन लागि परिरहेका छन्।’

उनले ओलीलाई तह लगाउन आफूहरूले नसकेर जनतामा आएको पनि बताएका छन्। ‘उहाँलाई तह लगाउन केही गरिपनि सकिएन। त्यसैले हामी सडकमा आएका हौं। यो आन्दोलन शान्तिपूर्ण हुन्छ,’ उनले भने। 

प्रचण्डले सर्वोच्च अदालतले यदि ओलीको कदमलाई सही ठहर्याउने काम भयो भने शान्ति प्रक्रिया बिथोलिने समेत बताए। 

‘सम्मानित सर्वोच्च अदालतका सम्मानित न्यायाधिस कोही पनि फेरि द्वन्द्व चाहनुहुन्छ भन्ने कल्पना पनि गर्न सक्दिनँ । तर केपीको निरंकुशतालाई प्रोत्साहित गर्ने काम भयो भने शान्तिप्रक्रिया बिथोलिन्छ,’ उनले भने। 

उनले आफूले अब हत्या, हिंसा नचाहेको समेत बताए। 

‘शान्तिपूर्णरुपमा यसैगरि लाखौं लाख जनता उरालेर निरंकुशता सच्याउनेमा मेरो निरन्नर प्रयास भइराख्छ,’ उनले भने,‘यो देशमा फरि युद्ध होस, हिंसा होस, अराजकता होस भन्ने कसैले पनि चाहेको छैनन्।’

प्रचण्डले प्रधानमन्त्रीओलीले प्रतिनिधि सभा मात्र नभई अब उनले शान्ति प्रक्रिया र संघीय व्यवस्था नै विघटन गर्न खोजेको समेत बताए।

‘केपी ओलीले संविधानविरुद्ध प्रतिनिधि सभा विघटन गरेको मात्र नभई शान्ति प्रक्रिया र संघीय व्यवस्था नै विघटन गर्न खोजेका छन्,’ उनले भने, ‘खबरदार त्यस्ता कदमलाई यो जनसागरले त्यसलाई पराजित गर्नेछ।’

उनले कर्मचारी लगायतलाई आफूहरूको आन्दोलनमा नजान भन्दै सरकार र सरकारका मानिसहरूले धम्की दिने गरेको र त्यसो भएमा जनताको सरकारले कारवाही गर्नेसमेत बताए।

‘साइबर स्यालहरूले कर्मचारी लगायतलाई आन्दोलनमा नजान भनेका छन्। एउटा कर्मचारीलाई छोएर देखाउन चुनौती दिन्छु,’ प्रचण्डले भने, ‘जनताको सरकार छिट्टै आउँछ।’

अहिले ६२–६३ को जनआन्दोलनमा जस्तै फेरि एकपटक नागरिक समाज, पेशाकर्मी, मिडिया र वुद्धिजीवि वर्गले प्रतिनिधि सभाको असंवैधानिक कदमको विरोध गरेको उनले बताए।

प्रकाशित मिति: : 2021-01-22 16:11:00

प्रतिकृया दिनुहोस्