पारलैंगिक महिलाहरुमाथि प्रहरीको ज्यादति: राज्यले किन गर्दै छ पशुभन्दा तल्लो स्तरको व्यवहार?

देशसञ्चार

काठमाडाैं

‘लाज ! मलाई लाग्दैन । कुट्दा यी पनि मान्छे हुन् भनेर उनीहरुले लाज मानेनन् । कहाँ–कहाँ चोट लागेन? सबै चोटहरु देखाउँछु ।’

यसो भन्दै गर्दा बबिता मैनालीले लगाएको कालो ओभरकोट कुम तल झार्दै पाखुरा र छातीमा लागेको चोट देखाइन् । पाखुरामा लौरीका डाम छन् । घाँटी तल निल डाम र खाता बस्दै गरेका घाउ छन् ।

२९ वर्षकी बबिता अहिले काठमाडौँ प्रहरी परिसर सोह्रखुट्टेको हिरासतमा छिन् । उनीसहित १६ जना पारलैंगिक महिला (ट्रान्सविमन) लाई गएको बिहीबार (माघ ८ गते) बेलुका प्रहरीले पक्राउ गरेको हो । त्यसमध्ये बबितासहित चार पारलैंगिक महिला सोह्रखुट्टे प्रहरी बिटमा छन् ।

बबिताले लुगा तल झारेर चोट देखाउँदै गर्दा उनलाई ‘लाज’ भन्दा आफूले भोग्नु परेको पीडाको आकार देखिनु जरुरी लाग्यो । दुखिरहेको चोट देखाउँदै गर्दा महिला प्रहरीले ‘अनुशासन’ मा बस्न निर्देशन दिइन् अलि ‘कडा’ स्वरमा । बबिताले ओभरकोट लगाइन् ।

शनिबार अपरान्ह सवा ४ बजेतिर सोह्रखुट्टे प्रहरी बिटको हिरासत पुग्दा बबितासहित चारजना फलामे डण्डीको बार पारी भूईँमा प्लास्टिकको म्याट त्यसमाथि पातलो बिस्तरामा बसेका थिए ।

बबिताले आफ्नो परिचय दिइन् र बिहीबार बेलुका भएको घटनाको विवरण सुनाइन् । खाएको कुटाइ र गाली सुनाउँदै गर्दा बबितामा आक्रोश र नैराश्य एकसाथ देखिन्थ्यो । ‘आमा गाली दिए । कपाल भुत्ले । बुटले हाने । लौरी बजारे । शरीर सबै दुखेको छ । पशु जस्तो व्यवहार भयो । चौपायालाई पनि कुट्दैनन् यसरी, यस्तो व्यवहार गरिँदैन जस्तो हामी माथि भयो ।’

प्रकाशित मिति: : 2021-01-24 17:28:00

प्रतिकृया दिनुहोस्