नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
                                नवीन अर्याल
अमरदीप उर्फ रकी थापा। चार वर्षअघि वैशाखको दोस्रो साता काठमाडौंको बुढानीलकण्ठस्थित कम्फर्ट हाउजिङको घर नम्बर ४ मा भेटिएका थिए। रकी त्यस दिन निकै भावुक देखिन्थे। जसको कारण थियो, केही दिनदेखि बर्माबाट आइरहेको तारम्तार फोन। बर्माकी प्रजातन्त्रवादी नेतृ आङ सान सु कीले फोन मार्फत उनलाई आग्रह गरेकी रहेछिन्– छिटो आफ्नो जन्मभूमि फर्किनुपर्यो।
तर, रकीको आफ्नै रटान थियो– आउँदो भदौमा ८० वर्ष टेक्न लागेको थाकेको ज्यान बोकेर बर्मा के फर्किनु? बुढ्यौली जीवन नेपालमै बिताउने उनको इच्छा थियो।
२०७३ सालमा नेपाली कांग्रेसले आयोजना गरेको एउटा कार्यक्रममा अतिथि बनेर काठमाडौं आउँदा सु कीले उनलाई बर्मा फर्किन आग्रह गरेकी रहिछन्। त्यति बेला उनले रकीलाई भनेकी रहिछन्, ‘अहिले अवकाशको जीवन बिताउने बेला भएको छैन। भर्खर त हाम्रो काम गर्ने समय आएको छ।’
८ वर्षअघि बर्माको सैनिक शासकले सु कीलाई २५ वर्षपछि नजरबन्द मुक्त गर्दा रकी थापा भने आफ्नो पुख्र्यौली देशमा राजनीतिक शरणार्थी बनेर बस्न विवश थिए। सन् २०१२ मा नजरबन्द मुक्त भएपछि सु की भारत आएकी थिइन्। त्यति बेला सु कीलाई स्वागत गर्न केही नेपाली साथीहरूसँगै रकी पनि नयाँ दिल्लीस्थित इन्दिरा गान्धी विमानस्थल पुगेका थिए। टाढाबाट आउँदै गरेकी सु कीले उनलाई देख्नेबित्तिकै हात हल्लाइन् र आफू नजिक आउन इसारा गरिन्। उनीसँगै विमानस्थल पुगेका साथीहरूले दंग पर्दै भनेछन्– ओहो! तँलाई त सु कीले राम्रैसँग चिन्ने रहिछन्। त्यति बेला उनको उत्तर थियो, ‘किन नचिन्ने? उनकै कृपाले २८ वर्षदेखि म नेपालमा राजनीतिक शरणार्थीको जीवन बिताइरहेको छु।’ सु कीले दिल्लीमा पनि उनलाई भनेकी रहिछन्– बर्मा फर्किने तयारी गर। सु कीले बोलाएपछि उनी २०७३ सालमा Burma फर्किएका थिए।
अहिले उनै रकी बर्माको सान राज्यस्थित कलाउ भन्ने ठाउँमा जीवन–मरणको दोसाधमा छन्। बर्मिज सेनाले सु कीलाई हालै पुन: नजरबन्दमा राखेको छ। रकी भने ८३ वर्षको उमेरमा ओछ्यानमा परेका छन्। 
स्कुले जीवनमा मुक्का हान्दै हिँड्ने कारण कुनै बेला इटालीका चर्चित बक्सर रकी मासियानोको नामबाट उनको नाम रकी बन्न पुगेको थियो।
सन् १९८८ मा बर्मामा सैन्य ‘कू’ भएपछि रकी भागेर नेपाल छिरेका थिए। उनी २८ वर्ष नेपाल बसेर सन् २०१६ मा आफ्नो जन्मथलो बर्मा फर्किएका थिए। यसअवधिमा उनी २८ वर्ष आफ्नो परिवार विशेषत: २ छोरीसँग प्रत्यक्ष भेट्न असफल भएका थिए। अहिले उनै छोरीहरु बुढेसकालको सहारा बनेका छन्। उनी ओछ्यानबाट उठ्न सक्दैन। तर उनलाई आफ्नो शरीरभन्दा पनि देशको चिन्ता छ। सु की नजरबन्दमा परेको खबरले दु:खी छन्। उनलाई आफ्नो ज्यानभन्दा पनि सु कीको चिन्ता भएको बर्मामा कार्यरत पत्रकार तथा साहित्यकार ज्ञानबहादुर बगाले थापा बताउँछन्।
२५ वर्षसम्म त उनका छोरीहरूलाई थाहा पनि थिएन, बाबु जीवित छन् कि मरिसके? सु की नजरबन्द मुक्त भएपछि मात्र २०१२ मा टेलिफोनबाट उनले आफ्ना छोरीसँग गफ गर्ने मौका पाएका थिए। त्यो अवसर बर्मामा बसोबास गर्ने उनका अन्य नेपाली साथीहरूले जुराइदिएका थिए। रकीकी जेठी छोरी अनिता बर्माको कस्टम विभागमा कार्यरत छिन्। कान्छी निला नेवीमा। दुवैको विवाह भइसकेको छ।
बर्मामा मात्र होइन, नेपालमा पनि उनको वास्तविक चिनारी हो, गायक तथा लेखक। उनले १२ सय नेपाली गीत लेख्न भ्याइसकेका छन्। सन् १९७० मा तत्कालीन राजा महेन्द्रको बर्मा भ्रमणका क्रममा उनले बर्मामा बसोबास गर्ने नेपालीहरूले भोग्नुपरेको दु:खलाई गीत मार्फत बयान गरेका थिए। त्यसको १० वर्षपछि अर्का राजा वीरेन्द्रको बर्मा भ्रमण हुँदा बडामहारानी रत्नले रकीसँग भेट्ने सल्लाह दिएकी थिइन्।
सन् १९८८ को एउटा घटना उनका लागि राजनीतिमा होमिने कडी बनेको थियो। सन् १९६२ देखि शासन गर्दै आइरहेको बर्माको सैन्य सरकारविरुद्ध ’८८ मा ठूलो आन्दोलन भयो। जसका कारण बर्माको सैन्य सरकारले निर्वाचन घोषणा गर्नुपरेको थियो। त्यति बेला बर्मामा बसोबास गर्ने नेपालीले त्यहाँ हुन लागेको परिवर्तनप्रति ठूलो चासो राखेका थिए।
नेपाली बसोबास गर्ने ठाउँमा संगीतको थुप्रै कार्यक्रम गरिसकेका रकी उति बेलै चर्चित भइसकेका थिए। त्यसैले नेपालीहरूको आवाज पनि आउँदो निर्वाचन मार्फत प्रतिबिम्बित होस् भनेर बूढापाकाहरूले उनलाई समाते। त्यति बेला बर्मामा ३ लाख नेपाली बसोबास गर्थे। नेपालजस्तै बर्मालाई १४ अञ्चलमा विभाजन गरिएको थियो, जसमध्ये ९ अञ्चलमा नेपालीहरूको बसोबास थियो।
रकीका पिता मनबहादुर बुढाथोकी मूलत: गुल्मी भार्सेका हुन्। उनी पहिलो विश्वयुद्धमा बेलायती सेनामा भर्ना भएका थिए। युद्ध लड्ने क्रममा जर्मनीसम्म पुगेका मनबहादुर १९२० मा बर्मा पुगेका थिए। त्यही २ दिदी र १ दाजुपछि कान्छो छोराको रूपमा सन् १९३६ मा उनको जन्म भयो। सेन्ट अल्बर्ट मिसिनरी स्कुलमा अध्ययन गरेका कारण उनको पढाइ पनि राम्रो थियो।
त्यो निर्वाचनमा बर्माका पूर्वप्रधानमन्त्री उनु र भर्खरै राजनीतिमा प्रवेश गरेकी सु कीबीच कडा प्रतिस्पर्धा थियो। त्यसैले नेपाली समुदायले दुवैसँग वार्ता गरेर निष्कर्षमा पुग्ने निर्णय गर्यो। उनुले नेपाली समुदायलाई यो भनेर आश्वस्त पार्न खोजे– मेरो सरकार आयो भने १ केजी चामलको मूल्य घटाएर १५ पैसामा झार्छु। वास्तवमा उनुको आश्वासन सत्यभन्दा निकै टाढा थियो। त्यसैले नेपाली समुदायलाई त्यसले खासै प्रभावित तुल्याएन। तर, सु कीले वैदेशिक कोटा (एफआरसी) अन्तर्गत बर्मामा बसोबास गर्ने नेपालीको माग सम्बोधन गर्ने आश्वासन दिइन्। 
उनलाई भेट्न जाँदा रकीसहितको नेपाली टोलीसँग अविस्मरणीय घटना भएको रहेछ। निर्वाचन अघिसम्म सु कीको विषयमा बर्मामा बस्ने प्राय: नेपाली अनभिज्ञ थिए। लामो समय विदेशको पढाइ र जागिर खाएर बर्मा फर्किएकी सु कीलाई पहिलोपल्ट भेट्दा के भनेर सम्बोधन गर्ने भन्ने विषयमा रकीहरूको लामै छलफल भएको रहेछ। तर, सु कीलाई भेट्न रंगुनस्थित उनको घर पुगेका सबै नेपालीभाषी त्यति बेला चकित परे, जब सु कीले आफैं अग्रसर हुँदै नेपाली भाषामा भनिन्– नमस्ते।

त्यति बेला ट्वाल्ल परेका सबै एकअर्काको अनुहार हेर्दै थिए। त्यो घटनापछि बल्ल नेपालीलाई थाहा भयो– सु कीकी आमा डोखिन्ची सन् १९६० मा भारत र नेपालका लागि राजदूत हुँदा उनी लामो समय नेपाल बसेकी रहिछन्। अझ, आफ्नो बेलायती श्रीमान् डा. माइकल एरिससँग पनि लामो समय नेपाल बसेकी रहिछन्। सु कीका जेठो छोरा एलेक्जेन्डरको जन्म नै काठमाडौंमा भएको थियो। उनलाई काठमाडौं र पाटनको गल्ली–गल्लीको नाम थाहा थियो।
जसरी बर्माको गाउँ–गाउँको विषयमा रकी जानकार थिए, त्यसरी नै काठमाडौंको विषयमा रकीभन्दा बढी जानकार सु की थिइन्। ५ सय ३३ गाउँमा छरिएर बसोबास गरेका नेपालीको बस्ती–बस्तीमा सु कीलाई पुर्याउने काम रकीले गरे। यो घटनापछि बर्मामा बसोबास गर्ने सबै नेपालीले सु कीलाई मतदान गरे। उनको पार्टी नेसनल लिग फर डेमोक्रेसीले सबैलाई चकित तुल्याउँदै ८८ दशमलव २ प्रतिशत मत ल्यायो।
तर, निर्वाचनको परिणाम घोषणा भएको २ दिनपछि सरकार बनाउने विषयलाई लिएर बसिरहेको पार्टीको मिटिङमै सबै नेता पक्राउ परे। बर्माको सेनाले सु कीलाई घरमै नजरबन्द गर्यो। त्यो दिन पक्राउ पर्नेहरूको लिस्टमा रकी थापाको पनि नाम थियो। दक्षिण–पूर्वी एसियाली खेलकुदमा ८ सय मिटरमा पदक र साइक्लिङमा स्वर्ण जितिसकेका फुर्तिला रकीले धरपकड भइरहेको अवस्थाको यति छिटो विश्लेषण गरे, त्यहाँबाट कुलेलम नै ठोके। त्यसको परिकल्पना बर्माको सैन्य शासकले पनि गरेको थिएन।
उनी स्याङ प्रान्तको जंगलभित्र बनेको सन्काई (शिव) मन्दिरमा २ वर्ष त लुकेरै बसे। सैन्य सरकारले उनको खोजीलाई अझै तीव्र बनाएपछि उनी जंगलै जगलको बाटो १५ दिन लगाएर भारतको मणिपुर प्रवेश गरे। ‘त्यति बेला मेरो खल्तीमा मुस्किलले २५ रुपैयाँ थियो होला,’  चार वर्षअघि सु कीको दबाबमा पुन: बर्मा फर्किएका रकीले आफ्नो जन्मभूमि फर्किनुअघि लेखकलाई भनेका थिए, ‘दिनभरि सुत्थें। राति साइकल हाँक्थें। लकचक खोला नतर्दासम्म मारिन्छु कि भन्ने लागेको थियो।’
मणिपुरमा २ दिन बसेपछि उनी काकडभिट्टा हुँदै नेपाल प्रवेश गरे। पछि भैरहवाको बर्मेली टोल पुगे। नेपालमा आफ्नो ६ फिट अग्लो ज्यान पाल्न उनले गणेश रसिकलगायत नेपाली कलाकारसँग पैसा मागेर क्यासेट निकाले। कहिले दार्जिलिङ पुगेर बर्मेली विरहको गीत गाए। कहिले सिक्किमको प्रशंसामा ‘ग्यान्टोकको घुमाउरो बाटो’ एल्बम निकाले। तर, मन भने बर्मा र आफ्नो परिवारमा अडिरह्यो। पछिल्लो समय भने उनले हरेस खाइसकेका थिए, छोरीहरूसँग भेट हुँदैन कि भनेर। तर, सु कीको करकापले २८ वर्षपछि परिवारसँग भेट्दा उनले मन थाम्नै सकेनन्। नेपाल–बर्माको सम्बन्धको सेतु बनेका यिनै रकी थापाको स्वास्थ लाभको कामना।
                                    
                                        नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
                                    
                                        नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया