नेपाली अर्थतन्त्रको आकार : ३९ खर्ब ४३ अर्ब ६६ करोड

अनलाइनखबर

काठमाडाै‌ं

२० फागुन, काठमाडौं । नेपालको अर्थतन्त्रको आकार साढे ३९ खर्ब पुगेको छ । तथ्याङ्क विभागले राष्ट्रिय लेखा तथ्याङ्कको गणनाको आधार वर्षमा परिमार्जन गरी सार्वजनिक गरेको आकडा अनुसार नेपालको अर्थतन्त्रको आकार ३९ खर्ब ४३ अर्ब ६६ करोड पुगेको हो ।

नेपालमा यसअघि सन् २०००-२००१ लाई आधार वर्ष मानेर राष्ट्रिय लेखा तथ्याङ्कहरु तयार पार्ने गरिएको थियो । चालु आवबाट सरकारले उक्त वर्षमा परिमार्जन गर्दै नयाँ आधार वर्ष तय भएको छ । विभागका उपमहानिर्देशक हेमराज रेग्मीका अनुसार नेपालमा अब राष्ट्रिय लेखा तथ्याङ्कको गणनाका लागि सन् २०१०/११ लाई आधार वर्षका रुपमा मानिनेछ ।

यसअघि नेपालले आधार मानेको वर्षका आधारमा नेपालको अर्थतन्त्रको आकार ३७ खर्ब ६७ अर्ब रुपैयाँको रहेको थियो । नयाँ आधार वर्ष अनुसार कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा १४.०७ प्रतिशतको वृद्धि देखिएको छ । १० वर्षभित्र थप भएका अर्थतन्त्रका अवयव र राष्ट्रिय लेखामा छुटपुट भएका तथ्याङ्कहरु समेत राख्दा कुल गार्हस्थ्य उत्पादनको आकार बढेको उनले जानकारी दिए । तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७५/७६ को तुलनामा गत आवको अर्थतन्त्रको आकारको वृद्धिदर भने मात्र ५ प्रतिशत हो ।

तर, आधार वर्षमा गरिएको परिवर्तनका कारण अर्थतन्त्रको आकार भने ठूलो बनेको रेग्मीले बताए । ‘पछिल्लो तथ्याङ्क अझ बढी यकिन हो,’ उनले भने, हामीले अन्तर्राष्ट्रिय स्तरमा प्रचलित मान्यताअनुसार नै आधार वर्षमा परिमार्जन गरेका हौं ।’

प्रकाशित मिति: : 2021-03-04 18:29:00

प्रतिकृया दिनुहोस्