कांग्रेसले भन्याे- राज्यलाई हतियार बुझाउने चौथो बुँदा खोइ ?’

फाइल तस्वीर
फाइल तस्वीर

नेपाली काङ्ग्रेसले सशस्त्र द्वन्द्वका समयमा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहले प्रयोग गरेका हतियारहरूबारे प्रश्न उठाएको छ।

काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकार र नेकपा (विप्लव) बीच भएको शान्ति सहमतिपछि ट्विट गर्दै हतियारबारे प्रश्न उठाएका हुन्।

शर्माले पिएम नेपाल ट्विटर हेन्डललाई मेन्सन गर्दै लेखेका छन्, ‘प्रचण्ड आउँदा खोलाले बगायो थोरै हतियार, विप्लव आउँदा पूरै ? राज्यलाई हतियार बुझाउने चौथो बुँदा खोइ ?’

सरकार र विद्रोही कम्युनिस्ट पार्टीबीच भएको सहमतिको स्वागत गर्दै काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सिङ्गो देशले हतियारसम्बन्धी प्रश्नको जबाफ चाहेको उल्लेख गरेका छन्।

यही सन्दर्भमा शर्माले ‘नेपालको पूरै कम्युनिस्ट आन्दोलनलाई आजको मितिमा केवल एक प्रश्न’ भन्ने अर्को ट्विट गर्दै लेखेका छन्, ‘कम्युनिस्ट दर्शनका नाममा कोही नेपाली अब मारिने छैनन् भन्ने साझा उद्घोष गर्ने बेला भएन कमरेडहरू ?’

सरकार र विप्लव नेतृत्वको नेकपाबीच बिहीबार तीनबुँदे सहमति भएको थियो। सहमतिमा सरकार र सो समूहबीच राजनीतिक विषयहरुको समाधान संवादको माध्यमबाट गर्ने, विप्लव समूहका सम्पूर्ण राजनीतिक क्रियाकलापहरू शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र सरकारका तर्फबाट लगाइएको विप्लव नेतृत्वको प्रतिबन्ध हटाउने, राजनीतिक बन्दीहरूको रिहाइ गर्ने र मुद्दा खारेज गर्ने विषयहरू समेटिएका छन्।

प्रकाशित मिति: : 2021-03-05 17:27:00

प्रतिकृया दिनुहोस्