२ वर्षअघि विप्लवलाई ‘बोकोहराम’ को संज्ञा दिएका प्रधानमन्त्रीले महासचिव भनेपछि... (भिडियो रिपोर्ट)

कमल प्रभात

काठमाडौँ

८ कार्तिक २०७४
स्थानः काठमाडौंको खुलामञ्च

‘अक्टोबर क्रान्ति’ सय वर्ष पुरा भएको अवसरमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको आमसभा भइरहेको थियो।

यही सभामा विप्लवले पूर्व माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रति ब्यङ्ग कस्दै भने, ‘यो बाम गठबन्धन होइन। दामको लागि गरिएको गठबन्धन हो।’ यतिबेला प्रचण्ड तत्कालीन नेकपा एमालेसँग पार्टी एकीकरण गर्दै जनयुद्धलाई अन्तिम विश्राम दिँदैथिए।  

भाषण लगत्तै उनी एकाएक भूमिगत बने। अर्थात त्यो भाषण नै खुला राजनीतिमा उनको अन्तिम भाषण बन्यो। उनले भूमिगत रहँदा क्रान्तिका थुप्रै कार्यक्रम घोषित गरे। उनको गतिविधिलाई प्रहरीले नजिकबाट नियाल्यो। तर, धडपकड भने भएको थिएन।

विप्लव समूहले यसको एक वर्षपछि नै विध्वङ्सात्मक गतिविधिलाई तिब्र बनायो। नेपाल सरकारलाई कर नतिरेको मुद्धा खेपिरहेको एनसेललगायत बहुराष्ट्र कम्पनीलाई निशाना बनायो। उपल्लो कर्णालीदेखि काठमाडौंसम्म यस्ता कार्यालयमा बम पड्कायो। एनसेल कार्यालय अगाडी एक जनाले ज्यानै गुमाए।

यो घटनापछि आक्रामक बनेको सरकारले २८ फागुन २०७५ मा विप्लव समूहको गतिविधिमा प्रतिबन्ध लगायो। प्रहरीले देशब्यापी सर्च अभियानमा विप्लव समूहका २ हजार बढी नेता तथा कार्यकर्तालाई पक्राउ गर्यो। यस अभियानमा नेपाल प्रहरीको विशेष ब्यूरो नै खटियो।

बाहिर जे जस्ता अड्कलबाजी भएपनि प्रहरीले विप्लवलाई धुइपताल खोजी गर्यो। तर, तीन वर्ष प्रहरीको आँखा छल्दै भूमिगत भएका विप्लव २१ फागुन २०७७ अर्थात शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँगै भृकुटी मण्डपस्थित राष्ट्रिय सभा गृहमा सार्वजनिक भए।

कुनै बेला प्रधानमन्त्री ओलीले विप्लव समूहलाई अफ्रिकाको कुख्यात ‘बोकोहराम’ समूहसँग तुलना गरेका थिए। तर, शुक्रबार ओली आफै विप्लवसँग हात मिलाउँदै सभा कक्षमा प्रवेश भए।

उनले भाषणका क्रममा विप्लवलाई महासचिव भनेर सम्बोधन गर्दा सबै चकित परे। सरकार र विप्लव समूहबीच यही तीन बुँदे शान्ति सम्झौंता भयो।

लगभग फुटको संघारमा पुगेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कमजोर भएको बेला विप्लवसँगको सम्झौंताले प्रधानमन्त्री ओली केही बलियो भएको विश्लेषकहरुको भनाई छ।

कुनै बेला हातमा हतकडी लगाएर देशैभरी घुमाइएका खड्गबहादुर बिक ‘प्रकाण्ड’ ले विप्लव समूहको तर्फबाट तीन बुँदे शान्ति सम्झौंतामा हस्ताक्षर गरे।

सरकारको तर्फबाट हस्ताक्षर गर्नेमा कुनै बेला उनलाई पक्राउ गर्न आदेश दिएका गृहमन्त्री तथा पूर्व सहयोद्धा रामबहादुर थापा ‘बादल’ थिए।

बादल र प्रकाण्डबीच दुई दिन चलेको वार्ता सफल भएपछि प्रधानमन्त्री ओली र विप्लवले एउटै मञ्चबाट भाषण गरे। भाषणमा दुवैको निशानामा ‘प्रचण्ड’ थिए।

कम्युनिस्ट आन्दोलनलाई विर्सजनतर्फ लैजाने अभियानको नेतृत्व ‘प्रचण्ड’ ले गरिरहेको भन्दै दुवैले ‘प्रचण्ड प्रवृत्ति’ को खुलेर विरोध गरे। 

यसअघि प्रधानमन्त्री ओली र विप्लवले बिहीबार एउटै मञ्चबाट भाषण गर्ने भनिएको थियो। तर विप्लव बिहीबार काठमाडौंमा अवतरण भएनन्। उनका लागि सरकारले हेलिकोप्टरको व्यवस्था गरेको थियो।

तर, उनी जनयुद्धमा सहिद भएका परिवारलाई भेट्दै शुक्रबार मात्र काठमाडौं भित्रिएका थिए। उनी बिहान नवलपरासीमा झुल्किएका थिए।

स्थलमार्ग हुँदै काठमाडौं प्रवेश गरेका विप्लव पहिले प्रधानमन्त्री निवास बालुवाटार पुगे। सरकारसँग सम्झौंता भएपछि जेलबाट छुटेको नेता तथा कार्यकर्तालाई भेटे। यसपछि उनी आफू सार्वजनिक हुने सभागृहमा पुगे। 

र, उनले तीन वर्षपछि पुनः सभागृहमा हुँकार भरे, ‘यो सहमति जून र घामबीच भेट भए जस्तै हो। नेपाल देशलाई आत्मनिर्भर, स्वाधीन र सुन्दर बनाउने सपना यो भित्र छ। देशको स्वाधीनताको रक्षाका लागि यो सरकारले इमान्दारीता देखाएको छ।’

प्रकाशित मिति: : 2021-03-05 21:09:00

प्रतिकृया दिनुहोस्