शिवरात्रिको तयारी पूराः मास्क नलगाउनेलाई पशुपतिमा निषेध (भिडियो)

महाशिवरात्रि पर्वमा पशुपति आउने भक्तजनलाई अनिवार्य मास्कको प्रयोग गर्न पशुपति क्षेत्र विकास कोषले आग्रह गरेको छ। 

कोरोना कहरलाई मध्यनजर गर्दै कोषले यस वर्षको शिवरात्रि पर्वमा अनिवार्य रुपमा मास्क प्रयोग अनुरोध गरेको छ। 

पशुपति विकास कोषका उप–निर्देशन रेवती रेमण अधिकारीले मास्क प्रयोग नगरी पशुपति आउनेलाई प्रवेश नदिने बताएका छन्। कोषले पशुपति दर्शन गर्दा भौतिक दुरी कायम राख्न अनुरोध गरेको छ। 

'हामी कोरोनासँगै जुदिरहेका छौं'- उपनिर्देशन अधिकारीले भने, 'यसमा नागरिकले पनि ध्यान दिन्छन् भन्ने अपेक्षा छ।'

भक्तजन तथा दर्शकलाई सहज होस् भन्ने उदेश्यका साथ मन्दिरमा दर्शन गर्नका लागि कोषले तीनवटा प्रवेश रेखा राखेको अधिकारीको भनाई छ। उनका अनुसार ‘पिङगलस्थान, गौशला र गुहेश्वरीबाट लाइनमा बस्ने व्यवस्था मिलाइएको छ।

पशुपति क्षेत्रको विभिन्न स्थानमा स्वास्थ्य शिविरको व्यवस्था पनि गरिएको छ। शिवरात्रिका दिन साढे चार बजदेखि मन्दिर खुल्ने उनले बताए। 

कोरोनाका कारण यस वर्ष भारतबाट बाबाहरू कम् आउने भन्दै विगतका वर्षहरू झै यसवर्ष भक्तजनको सहभागिता समेत कम हुने कोषको अनुमान छ। कोरोनाले यसवर्ष विगत जस्तो सजावट समेत गरिएको छैन। 

अधिकारीका अनुसार भिड व्यवस्थापनका लागी ‘चारदेखि पाँच हजारसम्म स्वयंमसेवि–सेविका खटिइएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी पनि व्यापक परिचालन गरेको सुरक्षा निकायले जनाएको छ। 

काठमाडौंको सुरक्षामा कमी हुन नदिन पशुपति क्षेत्रको सबै स्थानमा प्रहरी परिचालन गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले बताए। बिएल नेपाली सेवाको कुराकानीमा एसएसपी सिहंले भने, 'सुरक्षा ब्यवस्थामा कुनै कमी हुनेछैन, हामीले त्यही अनुसार सुरक्षा व्यवस्था मिलाएका छौं।'

भिडभाडको मौका–छोपी हुने विभिन्न आपराधिक गतिविधी हुन नदिन प्रहरी चनाखो भएर खटिएको उनले बताए। 

शिवरात्रिको दिन पाकेटमारले चोरी–डकैतीका घटना हुनसक्ने भन्दै सुचना संकलनका लागि व्यापक रुपमा सादा पोशाकका प्रहरी परिचालन गरिएको एसएसपी सिंहले बताए। ट्राफिक प्रहरीले पनि शिवरात्रीलाई लक्षितगरी ट्राफिक व्यावस्थापन मिलाएको जनाएको छ। 

महानगरीय ट्राफिक प्रहरी महाशाखाले विगत झैं यो वर्षपनि पशुपति क्षेत्रमा चल्ने सवारी साधनलाई रुट परिर्वतन गरी चलाउने व्यवस्था मिलाएको छ।

प्रकाशित मिति: : 2021-03-10 21:04:00

प्रतिकृया दिनुहोस्