रोल्पामा पनि 'ईजी बाई ईजी पे'बाट सजिलै इलेक्ट्रोनिक्स समान खरिद गर्न सकिने

ग्लोबल बैँक र कमनेट सप्लायर्सबीच सम्झौता

ग्लोबल आइएमई बैँक लिबाङ र कमनेट सोलुसन तथा सप्लायर्सबीच 'ईजी बाई ईजी पे'को लागि रोल्पामै दोस्रोपटक ल्यापटप, टि.भि तथा फ्रिज र अन्य इलेक्ट्रिकल सामानहरु खरिद गर्न सकिने गरी सम्झौता भएको छ।

'ईजी बाई ईजी पे' अन्तर्गत उक्त सामग्री खरिदमा कुनै पनि अग्रीम भुक्तानी शुल्क, धितो तथा व्याज लाग्ने छैन। उक्त सम्झौतामा लिबाङ शाखाका शाखा प्रबन्धक प्रविण आचार्य र सप्लायर्सका संचालक नन्दलाल कवरबीच सम्झौतामा हस्ताक्षर भएको हो। 

१५ हजार देखि २ लाख सम्मका सामग्री खरिद गर्न सकिने, उक्त रकम मासिक शुन्य प्रतिशत व्याज र किस्तावन्दीमा भुक्तानी सेवा उपलब्ध हुने कमनेट सोलुसन तथा सप्लायर्सका प्रोपोराईटर नन्दलाल कवरले बताए। किस्तावन्दीको हकमा ग्राहकले आफ्नो रोजाइमा अनुसार ६ महिने, १२ महिने तथा १८ महिने बनाउन पाउनेछन्। तर सामान खरिदको लागि ग्राहकसँग ग्लोबल आइएमई बैँकको क्रेडिट कार्ड प्रयोगकर्ता भने अनिवार्य हुनुपर्नेछ। 

यस अघि कार्ड प्रयोग गरिसकेका प्रयोगकर्ताको लागि यो मान्य रहनेछ। तर नयाँ प्रयोगकर्ताले भने क्रेडिट कार्ड आवेदन दिनु पर्नेछ। क्रेडिट कार्ड तथा 'ईजी बाई ईजी पे'को लागि भने बैँकको आवश्यक मापदण्ड तथा शर्तहरु रहेको र उक्त शर्तभित्र प्रयोगकर्ता परेमा कार्ड उपलब्ध गराउन सकिने ग्लोबल आइएमई बैँक लिबाङ शाखाका शाखा प्रबन्धक प्रविण आचार्यले जानकारी दिए।

यो सेवा रोल्पामा पहिलो पटक समिप इलेक्ट्रोनिक्समा उपलब्ध रहेको थियो भने कमनेट सोलुसन दोस्रो बनेको छ। ग्लोबल आइएमई बैँक लिबाङ शाखाले लिबाङ तथा घर्तिगाँउका विभिन्न पसल, होटल तथा रेष्टुरेन्टहरुमा 'क्युआर पेमेन्ट' पनि उपलब्ध गराएको छ। जहाँ 'मोबाइल बैँकिङ' सेवाबाटै रकम भुक्तानी गर्न सकिनेछ।

साथै सातदोबाटोस्थित लिलाइन होटल प्रालि, लिबाङस्थित समिप मोबाइल र लिबाङमै रहेको होटल हेरीटेजमा 'पिओएस मेशिन' उपलब्ध गराएको छ। डिजिटलको युगमा यो खालको कदमले सबैलाई सहज बनाउने अपेक्षा गरिएको छ।      

प्रकाशित मिति: : 2021-03-26 08:03:00

प्रतिकृया दिनुहोस्