बा-आमाको सम्बोधनमा 

युग सर्वनाम

काठमाडौँ

हुन त जीवन एकल यात्रा नै हो।

जन्मिदा एक्लै, मर्दा एक्लै। जिउँदो रहुन्जेलका नातागोता, ईष्टमित्र, छरछिमेक, गाउँघर सबै समयको भेलमा तैरिदा रहेछन्। जसलाई एक अदभुत संयोगपनि मान्न सकिन्छ। तर कसैलाई एक्लै छोड्दा वा आफू एक्लै हुँदा मन किन यति विघ्न भत्किन्छ?

म दुई चार वर्षयता घरमा कम र बाहिर धेरै बस्दै आएको छु। घरसम्मको आवतजावत चलिरहन्छ। तर यो पटक घरबाट निस्कदा किन यति धेरै भक्कानिए? आफूलाई किन यति अभागी ठाने? आफूले आफैलाई किन अपराधी लाग्यो? किन पापी झैँ लाग्यो? म आफैमा निरुत्तर छु।

यो पट्क काम विशेषले घर गएको थिए। घरमा आमा हुनुहुन्थ्यो। बाबा कमाउनको लागि बाग्लुङ पुगेको समाचार पहिल्यै सुनेको थिए। आमा खुशीमा भन्दा दुखको पहिरनमा बढी सजिएको जस्तो लाग्यो। हुन त, उहाँ कहिले पो खुशी हुनुहुन्थ्यो र। कहिले बाबाले बेवास्ता गरेको विगत सुनाउनु हुन्थ्यो। पक्कै त्यतिबेलापनि दुखी नै हुनुहुन्थ्यो होला। कहिले ससुराले नस्वीकारेको व्यथा सुनाउनु हुन्थ्यो। त्यतिबेला पनि मनमा कुनै शान्ती थिएन होला। कहिले द्वन्दकालमा बुबा जनयुद्ध र प्रचण्डपथमा लागेकै कारण कयौँपटक पुलिसले कुटेको कुरा बताउनु हुन्थ्यो। र अँध्यारो मुहार लगाउनुहुन्थ्यो।

ती कुराहरू सुन्दा लाग्थ्यो, मेरि आमा सबैभन्दा अभागी आमा हुन्। तर मेरो आमाले यो कहिल्यै भन्नु भएन, म कस्तो अभागी रहेछु। बरु कैलेकाहीँ भन्नुहुन्छ, 'म त भाग्यमानी हुँ। एक्लो छोरा भएको घरमा घरजम गरे। जेठानी र देउरानीसँगको किचलोपनि सुन्न परेन। अंशबण्डाको झन्झट पनि परेन।'

यी कुरा सुन्दा, हो पनि लाग्छ। तर यो मेरि आमाको सन्तुष्ट हुने सोचाइ मात्र हो।

बुबाआमाको हामी ६ सन्तान हौँ। हामी तिन छोरा र तिन छोरी हौँ। तर सबै सन्तानहरू एकै ठाउँमा बसिरहन कहाँ सक्छन् र? दिदिबहिनीहरूले आ आफ्नो कर्म चलाएर आ आफ्नै घरमा छन्। दाइहरू पनि छुट्टीएर अलगै भईसक्नुभयो। कान्छो छोरा भएको हिसाबले बुबाआमा म सँगै बस्नु हुन्छ।

म घरबाट हिँडेदेखी काठमाडाँै आईपुग्दासम्म मनमा अनेकौँ कुराहरू खेलिरह्यो। आफूलाई एकदमै हिनताबोध भयो। सानो हुँदा हामीलाई छोडेर बुबाआमा घाँसदाउरा गर्न जाँदासमेत हामीलाई नरमाईलो लाग्थ्यो। हामी रुने गथ्र्यौ। हामीपनि तपाईसँगै जान्छौ। एक्लै बस्दैनौँ। ढिपी गथ्र्यौ। तर त्यतिबेला हामी एकैछिनमै सम्हालिन्थ्यौ। 

तर अहिले आमालाई घरमा एक्लै छोडेर हिँड्दा आँशुले आँखाको डिल भत्काएर बगेको थाहै भएन। सायद आमालाई एक्लै छाडेर हिँड्नु बाध्यतापनि हो। र पनि सधैँ आर्शीवादको दिएर बिदाइ गर्नु हुन्छ।

समयले दुईवटा विकल्प दिदोरहेछ। एक, आफ्नो ईच्छा अनुसार केही गर्ने। दुई, बाआमाको चाहाना अनुरुप आफ्नो भविष्य निर्धारण गर्ने। मलाई यी कुराहरू थाहै थिएन, जबसम्म म आफ्नो जिम्मेवारीबाट अलग थिए।  तर आज जिम्मेवारीको भुँमरीमा अल्झिएको छु। यसकारण कि, दुवै विकल्पको सामना गरिरहेको छु।

हामी तीनभाई छोरा। छोरीहरूको कर्म भनेकै अर्काको घर। मर्दा पर्दा पाल्ने र फाल्ने भनेकै छोराहरु हुन्छ भन्ने सोचाइ हाम्रो समाजमा सर्वविदितै छ। तर म यी मान्यताहरूबाट टाढा छु। 

बुबाआमाले आफ्नो दुखभन्दा सन्तानले भोगिरहेको दुखमा बढि सोच्दा रहेछन्। जुन कुरा  सन्तानले बेवास्ता गरिरहेका हुन्छौ। हामी प्रायः बुबाआमाको मन भन्दा फरक ढङ्गबाट प्रस्तुत हुन खोजिरहेका हुन्छौ। सायद त्यसैलैपनि मैले बुबाआमाको मन बुझाउन सकिरहेको छैन। जुन शर्तमा म आफूलाई पश्चाताप गर्छु।

जिन्दगीले जति नै ठगे पनि जीवनको जुनसुकै कोणबाट हामीले बुबाआमाप्रतिको उत्तरदायीत्व कहिल्यै बिर्सनु हुँदैन। जुन कुरा म सधै सोच्ने गर्दछु। तर मेरो सोचाई भन्दा फरक धारमा उभिदिन्छ-समय। आफ्नो बुबाआमालाई ढाटिरहँदा कहिलेकाँही आत्मग्लानीपनि महशुस हुन्छ। मैले मेरा बुबाआमालाई थुप्रै पटक ढाँटेको छु। तर म भगवानसँग यो प्रार्थना गर्दछु कि जिन्दगीमा सधैँ यसरी ढाँट्न नपरोस्। बुबाआमाले एक नभएपनि अर्को सन्तानप्रति आश राख्नु हुँदोरहेछ। त्यहीँ आश मेरा बुबाआमाले पनि मप्रति राख्नु भएको छ।

उहाँहरूको आशा र सपना त पुरा गर्न सकुला या नसकुला, त्यो त समयले नै देखाउँला। तर बुबाआमालाई हृदयको भुगोलबाट भने कहिल्यै खसाल्ने छैन। 

प्रकाशित मिति: : 2021-03-27 14:17:00

प्रतिकृया दिनुहोस्