बिहिबार, २८ अगस्ट २०२५

३७ वर्षपछि फर्किएको मूर्ति हस्तान्तरण (भिडियाेसहित)

सनीराज शाक्य

सनीराज शाक्य

काठमाडौँ
Breaknlinks
• • •

३७ वर्षअघि हराएकाे मूर्ति फेला परेको छ।

ललितपुर महानगरपालिका-१६ स्थित नारायण मन्दिरमा रहेको मूर्ति संयुक्त राज्य अमेरिकामा फेला परेकाे थियाे।

भेटिएकाे मूर्ति बिहीबार पुरातत्व विभागले ललितपुर महानगरपालिकालाई हस्तान्तरणसमेत गरेको छ। पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलाई मूर्ति हस्तान्तरण गरेका हुन्।

सो मूर्तिलाई हालका लागि पाटन सङ्ग्रहालयमा सुरक्षितरूपमा राखिने बताइएकाे छ। मन्दिरमा आवश्यक सुरक्षाको प्रबन्धपछि मन्दिरमा प्रतिस्थापन हुन लागेकाे हाे।

७० किलोग्राम तौल रहेको मूर्ति सन् १९८४ मा हराएको थियाे। मध्यकालीन नेपाली मूर्तिकलाको नमूनाका रूपमा रहेको र प्रस्तरबाट बनेको मूर्ति १५औँ शताब्दीको मानिन्छ।

सन् २०२० मा सो मूर्ति अमेरिकाको टेक्ससस्थित डल्लास सङ्ग्रहालयमा रहेको जानकारी प्राप्त भएको थियो। त्यसपछि नै मूर्तिका बारेमा छलफल भएर फिर्ता ल्याउन प्रक्रिया शुरु भएको थियो।

विभागले मूर्तिका बारेमा आवश्यक जानकारी सङ्कलन गरेर संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमार्फत परराष्ट्र मन्त्रालय पठाएको थियो। प्रमाणका आधारमा अमेरिकास्थित नेपाली दूतावासको अग्रसरतामा सम्झौता भई मूर्ति फर्काउन पहल भएको विभागले जनाएको छ। 

विसं २०७७ चैत ३१ मा मूर्ति नेपाल फर्काइएकामा बिहीबार नै विभागले जिम्मेवारी लिएको थियो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले सबैको समन्वयमा हराएको मूर्ति फर्काउन सकिएको बताए। मूर्ति फर्कंदा हराएको छोरो घर फर्किएजस्तै भएको उनको भनाइ छ।

विभागका महानिर्देशक गौतमले कुनै पनि ठाउँबाट त्यहाँको सम्पदा बाहिरिन नपाओस् भनेर स्थानीयस्तरमा सचेतना हुनुपर्ने बताए। 

शुक्रबार, बैशाख ०३, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (1)

Ratna lal Maharjan Apr 18, 2021

Very good job done. I hope other causes also will do as it. Thanks