उर्लाबारीका मेयर फागाे ‘फरार आरोपी’को सूचीमा !

डिल्ली पाण्डे

उर्लाबारी

अभद्र व्यवहार कसुरमा प्रहरीले उर्लाबारी नगरपालिकाका मेयर खड्गबहादुर फागोलाई ‘फरार आरोपी’ को सुचीमा राखेको छ।

उर्लाबारी–९ का नारायण भनिने टंकबहादुर बस्नेतले अभद्र व्यवहार कसुरमा जाहेरी दिएपछि प्रहरीले मेयर फागोसहित उनका भतिज दुर्गाबहादुर फागोलाई ‘फरार’को सुचीमा राखेको हो।

गत चैत ३० गते नगरपालिका परिसरमै बस्नेतलाई निर्घात कुटपिट गरेकाे मेयर फागो र उनको भतिजलाई आरोप लाग्दै आएको छ। उर्लाबारी–५ का विष्णुप्रसाद भण्डारीले  निर्माण गरिरहेको  टहरा नगर प्रहरीले निर्माण गर्न नदिनु भन्ने माथिकाे आदेश छ भन्दै राेकिदिएपछि उक्त विषयकाे सहजीकरण गर्न बस्नेत नगरपालिका पुगेका थिए।

साेही बेला बस्नेतमाथि मेयर र उनका भतिजोले निर्ममतापुर्वक आक्रमण गरेको प्रत्यक्षदर्शी प्रेम बास्तोलाले बताए।

सख्त कुटपिट भएका बस्नेतलाई उद्धार गर्नुको साटो प्रहरीले उल्टै नियन्त्रणमा लिएर अभद्र व्यवहारमा मुद्दा चलाएको थियो। १४ दिनपछि धरौटीमा थुनामुक्त भएका बस्नेतले मेयर र उनका भतिज विरुद्ध अभद्र व्यवहार कसुरमै जाहेरी दिएपछि सो घटनाले रोचक मोड लिएको छ।



मेयर फागो र उनका भतिजाविरुद्ध अभद्र व्यवहारमा मुद्दा !

उर्लाबारीका मेयरद्वारा सेवाग्राहीमाथि कुटपिट 



फागोद्वयलाई प्रतिवादी बनाई बस्नेतले दिएको उजुरी जिल्ला सरकारी वकिल कार्यालय मोरङमार्फत प्राप्त भएपछि इलाका प्रहरी कार्यालय उर्लाबारी, मेयर फागोलाई पक्राउ गर्नैपर्ने दबाबमा परेको छ।

विधिको शासन भएको मुलुकमा कानून हातमा लिने छुट कसैलाई नभएपनि ‘स्थानीय सरकारकै प्रमुख’लाई नियन्त्रणमा लिएर मुद्दा अभियोजन गर्न सकस परेको एक प्रहरीले नाम उल्लेख नगर्ने सर्तमा बताए।

इप्रका उर्लाबारीका प्रमुख प्रहरी निरीक्षक राजाराम खड्काले उजुरी दर्ता भएको स्वीकार्दै भने– ‘आरोपीलाई कानुनको दायरामा ल्याउन कटिबद्ध छौ।’ यद्यपि मेयर र उनका भतिजलाई कहिले नियन्त्रणमा लिनुहुन्छ ? भन्ने प्रश्नमा खड्काले अनुसन्धानकै चरण भएकोले केहि बताउन नमिल्ने जनाए। यस्तै, १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक ईश्वरबाबु कार्कीले घटनाबारे आफु अनभिज्ञ रहेको जनाउदै बुझेर प्रतिक्रिया दिने बताए।

फागोविरुद्ध जाहेरी दर्ता भएको एकसाता बितिसक्दापनि आरोपितहरु पक्राउ नपर्दा ‘सानालाई ऐन, ठुलालाई चैन’ भन्ने उक्ति चरितार्थ हुन पुगेको छ। यसअवधिमा आरोपी मेयर फागो निश्चिन्त भएर हिँड्ने, आफ्नो बचाउमा युट्बरलाई भेला पारी प्रतिक्रिया दिने र युट्युवरलाई घर  पुर्याउन  आफ्नो नीजि गाडी र चालक सम्म दिने लगायतका गतिविधि गर्दै आएका छन्।



मेयरद्वारा पिटिएका व्यक्तिलाई अभद्र मुद्धा

मेयरको अगुवाईमा सेवाग्राहीमाथि भएको आक्रमणबारे एमाले र यूवा संघद्वारा निष्पक्ष छानविन गर्न माग

‘मुलुकी अपराध संहिताको दफा ११८ मा उल्लेख गरिएको ‘अभद्र व्यवहार’सम्बन्धी कानुन प्रहरी र पहुँचवालाले प्रतिशोध साँधी सर्वसाधारण जो कोहीलाई फसाउन सकिने सजिलो ‘फर्मूला’ बनेको धेरैको धारणा  रहदै आएको छ।

सो आशंकालाई बल पुग्ने गरी उर्लाबारी प्रहरीले पीडक पक्षकै जाहेरीलाई आधार मानेर बस्नेतलाई थुनामा राखेको थियो।  घटनाको प्रकृति र उर्लाबारी नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत मुरारीप्रसाद घिमिरेको जाहेरीलाई हेर्दा जाहेरीकर्ताले नै बस्नेतलाई प्रतिशोध र फसाउने नियत राखेको पाइएको प्रहरी स्रोतको भनाई छ।

‘यसअघि बस्नेतमाथिको अभद्र व्यवहार सम्बन्धि कारबाहीलाई हेर्दा पुरापुर प्रतिशोध राखेको देखिएको थियो’ स्थानीय संजोग अधिकारीले भने– पछिल्लो अभद्र व्यवहारको जाहेरीले उर्लाबारी प्रहरीको कार्यसम्पादनमा परीक्षाको घडी शुरु भएको छ।

स्मरण रहाेस ,मङ्गलबार नगरपालिकाले नगर सभाकाे आयाेजना गर्दैछ। जुन नगरसभामा इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख लगायतका सुरक्षा अधिकृतकाे नगर प्रमुखसँग आमने सामने हुने सम्भावना रहेको छ।

प्रकाशित मिति: : 2021-05-03 18:33:00

प्रतिकृया दिनुहोस्

    काम छैन जे पायो त्यही लेख्यो ?

    • 2 बर्ष अगाडि
    • sashi waiba limbu