ज्येष्ठ नागरिकको कोरोना खोपमा कार्यकर्ता र आफन्तको लुछाचुँडी

अनलाइनखबर

प्रेम लामा / रवीन्द्र घिमिरे

हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीना लामाको कार्यकक्षमा शुक्रबार खोप लगाउनका लागि ठूलो भीड लागेको थियो।

उपमेयरले जिल्ला जनस्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मी बोलाएर आफन्त र उनीसम्वद्ध नेकपा एमालेका कार्यकर्तालाई कार्यलयमै कोरोना खोप लगाउने व्यवस्था गरेकी थिइन्।

५० भाइल खोप मगाएकी उपमेयरले मानिसहरु बोलाउने जिम्मा आफैंले लिएकी थिइन्। ‘नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिलाई खोप लगाउने हो भनेर खोप लिएर गयौं,’ एक स्वास्थ्यकर्मी भन्छन्, ‘त्यहाँ उपमेयरका आफन्त, कार्यकर्ता पो रहेछन्।’

खोप दुरुपयोग भएको गुनासो जिल्ला प्रशासन कार्यालयसम्म पुगेको छ। प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले उपमेयरको चेम्बरमा खोप लगाएको विषयमा अनुसन्धान हुने बताए। ‘उहाँहरुले जनप्रतिनिधिलाई लगाएका हौं भन्नुभएको छ, मैले विवरण मागेको छु,’ उनले भने, ‘लक्षित समूहभन्दा बाहिर खोप लगाएको पाइए कारवाहीका लागि सिफारिस गर्छौं।’

यसअघि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र एम्बुलेन्स चालकलाई भनेर लगिएको कोभिशिल्ड खोप एक निजी मेडिकलमा लगेर एमाले र नेपाली कांग्रेसका केही स्थानीय नेतालाई लगाएको भन्दै जिल्ला प्रशासनमा उजुरी परेको थियो।

हेटौंडा उपमहानगपालिका त उदाहरण मात्र हो। काठमाडौं महानगरपालिकादेखि देशभर यस्तै भएको पाइएको छ। कतिपय स्थानीय तहका प्रतिनिधिले ‘खोप बचत भएको’ बहाना बनाएका छन् भने कतिपयले लुकिछिपी खोप दिलाएका छन्।

यसले जोखिममा रहेका ज्येष्ठ नागरिकहरु कोभिड–१९ विरुद्धको खोपबाट बञ्चित हुने अवस्था आएको सरकारी स्वास्थ्य अधिकारीले बताएका छन्।

प्रकाशित मिति: : 2021-06-14 07:35:00

प्रतिकृया दिनुहोस्