सेखु ओढी असारे हिलोमा पस्दा

Breaknlinks
Breaknlinks

पानी बेस्मानी दर्किरहेछ। बर्खा लागेसँगै यसपालि मज्जाले पानी परिरह्यो। अझै परिरहेछ। कतिलाई रुवायो त कतिलाई हँसायो झरिले। कतै दुखी बने त कतै खुसी। देशैभर विभिन्न भूभागहरु दुवानमा परे। मनाङ बजार, मेलम्जी बजार लगायत कैयौं ठाउँहरु रोइरहेका छन्, देश दुखिरहेको छ। सधैं राजनेताले डुबाएको देश पानीले पनि डुबायो। 

यता यहीँ बेला किसानहरुमा खुसी छाएको छ। पानी पर्नु, हिलो पस्नु हो। खुसी छाउनु हो। दशैं न हो असारे मास किसानका लागि। मानो रोपेर मुरी उब्जाउने बेला जो छ। चटारो छ रोपाइँको। भ्याइनभ्याइ सबैलाई जताततै। वर्षभरिको खाद्यान्य जोह गर्ने बेला न हो असार। अहिले दुख गरे पो वर्षभरिलाई चुलो बल्छ, पेटमा अन्न छिर्छ। कति साल खडेरी पर्दा मनमा खडेरी पर्दा हुन् किसानका। भोकै भइने डरले ननिदाएका कैयौं छटपटी रातहरु छन् किसानका। तर यसपालि असार लागेसँगै मनसुन सुरु भो। पानीका मूल फुटेर आए। अनि सँगै फुटे हर्षका आँसुहरु, यसपालि भात खान पाइन्छ भन्ने अभिलाषाले।

गाउँतिर असार लागेको छ। अर्थात रोपाइँ। बिहानै सबेरै झिस्मिसे मै जर्याकजुरुक उठ्छन् सबै। घर धन्दा भ्याएर खेत पुग्नुछ। ब्याडेहरुलाई धानको ब्याडमा बिउँ उखेल्न भ्याइसकेका छन्। अनि केहीँ छिनमै आइहल्छ हली। जो काँधमा हलो, जुवा अनि दाँदे बोकेर खेत झर्छन्। खेत खेतमा पानी मिलाउन बाउसो बोकेर कुँलो सोझ्याउन कुदिहाल्छन् एक जना। अनि खेतैमा पुग्छन् रोपाहार बेलैमा। बाउँसे, रोपाहर, हली, ब्याडे सिँगो परिवार हो असारको। वास्तवमा यो मेला अर्थात रोपाइँ मात्र हैन, यो त मेला अर्थात उत्सव नै हो।

पानी पर्दैमा मेला कहाँ रोकिन्छ र! जतिसुकै पानी दर्किएपनि रोकिनेवाला छैन काम। काम रोकिनु जीवन सकिनु हो, भन्छन्। ‘मान्छे मरे पनि बोराले ढाकेर असारे हिलोमा पस्नुपर्छ,’भन्थे उहिलेका बुढापाकाले। यसको अर्थ जे आइपरे पनि असार रोकिदैन, रोकिनेवाला छैन। रुझेरै जाने त खेतमा। हैन, छीडि वा बुँइगलमा धुँवाले सेकाएर राखेका सेखु निकाल्छन् किसान। सबैको थाप्लोमा सेखु अडाएर खेत झर्छन्। चिज उहीँ हो, काम उहीँ हो, ओत दिने। घुम, सेउँ, पै कुसा, स्याखु, स्याङ्गो, झिम, मौनो आदि नामले बोलाउँदा रहेछन् ठाउँ अनुसार। बासको चोयाले मुखतिर बिट मार्दै बनेको यसका भोर्लाका पातहरु मिलाएर बुन्छन् चाेँयाले, ताकि पानी नछिरोस् भित्र। ओत देओस्।

सबैका थाप्लामा यहीँ सेखु अडिएको हुन्छ। उहिलेका बुढापाकाले सोचविचार गराएरै बनाएका हुन् सेखु। त्यतिबेला अहिलेको जस्तो छाता, रेनकोट, आदि कहाँ थिए र ? स्थानीय स्रोतसाधनलाई उपयोग गरेर बनाएको एक प्रोडक्ट हो सेखु। सेखु ओढेरै जोतिरहेका छन् हली। बाउसे आली लगाइरहेका छन्, कान्ला ताछिरहेका छन्। रोपाहरहरु सेखु ओढेरै रोपिरहेका छन् धानका बिउँ। दिनभर सेखु थाप्लामा राखेर खेतमा काम गर्दा ढाड कटक्क दुख्दो हो। तर मन त कहाँ दुख्छ र ?

सेखु ओढेरै घरबाट धुन्से वा डोकोमा खान्की ल्याउँछन् घरकाले। आलीमा टुसक्क बसी सेखु ओढेरै खाना खाँदाको मज्जा नै बेग्लै। चिसो अनि भोको पेट तातो खानाले तताउँदा कम्ता आनन्द मिल्दैन नि। भन्छन् नि भोजनभन्दा भोक मिठो। असारे हिलो माटोको गन्ध, वर्खे झरीको त्यो धुन आदि आदिले त्यसै मत्याइहाल्छ। अघाएको अनुभूति हुन्छ मन पनि। अनि बाँकी रहेका खाना र दिउँसोको खाजासमेत त्यहीँ सेखुले ढाकेर राख्छन्।

सेखु केवल सेखु मात्र हैन मेरा लागि। कैयौं बाल्यकालका स्मृतिहरु यससँगै जोडिएर अनायासै आउँछन् अहिले। घरबाट स्कुल हिँडेर एक घण्टा लाग्थ्यो। बर्खे झरी, जुका, खोला अनि हिलो बाटो पार गर्दै स्कुल जो पुग्नु थियो। आमालाई लाग्दो हो, यी सब दुःख छोराले झेल्न नपरोस्। आमाको पिठ्युमा बुई चढी यहीँ सेखुले गल्र्याम्म ढाक्थिन् आमाले। अनि पटुकीले मज्जाले कसिदिन्थिन्। अनि स्कुलसम्मको रोयल यात्रा। अनि घर ल्याउथिन् साँझ उसैगरी आमाले। यसको भार त म कहिल्यै तिर्न सक्दिन् आमा। ती तमाम आमाहरुप्रति नमन।

गाउँठाउँमा उत्सव, कार्यक्रम, चाडपर्व हुँदा यहीँ ओढेर हामी जान्थ्यौं। मामा घर यहीँ ओढेर गएको सम्झना ताजा बनेर आउँछ। साथीसँगीसँग खेल्न, घुम्न र डुल्न सेखु हाम्रो साथी बनेर आउँथ्यो। आज सेखुले सम्झाइदिए ती बालसखाहरु (जो उज्वल भविष्य खोज्दै सात समुन्द्र पारि छन्) र सँगै बिताएका ती स्वर्णीम क्षणहरु।

आजकलका युवाहरुलाई के थाहा यसको महत्व। लोभ हुँदै गए समयसँगै यो पनि। न बुन्ने मान्छे नै छन् न ओढ्ने नै। आजकल त छाता अनि रेनकोट कै बिकबिकी छ जहीँतही। सेखु वातावरणमैत्री चिज हो। वातावरण प्रदुषणको कारक बनेका छन् प्लास्टिकका छाता र रेनकोट। न सेखुले वातावरण प्रदुषण गर्छ नै। मज्जाले कुहिन्छ, बासको चोया अनि भोर्लाका पातहरु। आजकल म्युजिममा सीमित हुन पुगेको सेखुलाई संरक्षण र यसको प्रयोगमा प्रवद्र्धन गरिनुपर्नेछ। सेखु इज लभ।

(युवा साइकल यात्री गुरुङ पूर्वी नेपाल र पश्चिम नेपालका ६० जिल्लालाई साइकलबाटै फन्को मारि सकेका छन्। घुम्न, पढ्न र लेख्न रुँचाउने गुरुङ नेपाल स्वयंमसेवी रक्तदान सोसाइटी र साइकल एशोसियसन कास्कीमा समेत आबद्ध छन्।)
 

प्रकाशित मिति: : 2021-06-19 16:21:00

प्रतिकृया दिनुहोस्