भारतमा काेराेना संक्रमितकाे संख्या कम हुँदै, निको हुनेको दर बढ्दै

बिएल संवाददाता

नयाँ दिल्ली
Photo : India Today
Photo : India Today

भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा दिनप्रति दिन कमी हुँदै आएको छ।

सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ६० हजारभन्दा कम सङ्क्रमित भएका हुन्। यो सङ्ख्या ८१ दिनपछिकै सबैभन्दा कम भएको पनि अधिकारीहरुले जनाएका छन्।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा पछिल्लो एक दिनमा ५८ हजार ४९१ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका हुन्।

त्यसैगरी सोही अवधिमा भारतमा कोरोनाका कारण थप एक हजार ५७६ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ।

भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि पछिल्लो २४ घण्टामा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या ८७ हजार ९१७ रहेको छ।

मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या दुई करोड ९८ लाख ८१ हजार ९६५ रहेको छ। ती मध्ये सात लाख २९ हजार २४३ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन्।

राजधानी नयाँ दिल्लीमा पनि सङ्क्रमितको सङ्ख्यामा उच्च गिरावट देखिएको छ।

दिल्लीमा विगत २४ घण्टाको अन्तरालमा नयाँ सङ्क्रमितहरूको सङ्ख्या १२४ मा झरेको छ। दिल्लीमा सङ्क्रमण दर ०.१७ मा झरेको राज्य सरकारको स्वास्थ्य बुलेटिनमा उल्लेख छ।

संघीय राजधानीमा सङ्क्रमणपछि निको हुनेको सङ्ख्या ९८.११ प्रतिशत कायम भएको छ। यो फेब्रुअरी २१ पछि निको हुनेको उच्च दर हो।

प्रकाशित मिति: : 2021-06-21 06:39:00

प्रतिकृया दिनुहोस्