‘छाला जुत्ताको सान छ, तर बनाउने मान्छेको मान छैन’

नारायण नगरपालिका–१ भगवती टोलका इन्द्र बयकोटीको छाला जुत्ता पसल दैलेख बजारको ध्रुवतारा एफएम नजिकै छ।

४९ वर्षका उनले छालाका जुत्ता बनाउन सिकेको २८ वर्ष भयो। यो अवधिमा उनले तीन वर्ष अरुको पसलमा बसेर जुत्ता बनाउन सिके। उनलाई राम्रो जुत्ता बनाउने सिपालु बन्न ३ वर्ष लाग्यो।

२०५० सालबाट उनलाई लगातार तीन वर्ष मामा नाता लाग्ने सेत बहादुर बस्यालले सिकाएका थिए। ‘छाला जुत्ता बनाउने हाम्रो पुर्ख्यौली पेसा भएपनि मलाई सिकाउने घरमा कोही थिएन,’ उनले भने, ‘त्यसैले म उहाँको पसलमा बसेर जुत्ता बनाउन सिकेको हुँ। त्यसकारण उहाँ मेरो गुरु हो।’



जुत्ता सिउने रामबहादुरकाे फाटेकाे मन

जुत्ता व्यवसायले रङ्गिएकाे खेमराजकाे जीवन



जुत्ता सिलाउन सिक्यो भने धेरै शारीरिक श्रम गर्नु नपर्ने, मात्रै सीप देखाउ सके हुने। जसले घर परिवार चलाउन पनि गाह्रो नहुने।

त्यो तीन वर्षमा उनी सिपालु मिस्त्री भएर निस्के। उनको सीपको चर्चा हुन थाल्यो। यही बिचमा उनी जुत्ता सिलाउन सिक्नका लागि आफैँ गुरु भइसकेका थिए। त्यसैले उनलाई हुम्ला घरेलु तथा साना उद्योग कार्यालयले प्रशिक्षक बनायो।

‘२०५७ सालमा म हुम्लाको मदनामा गएर त्यहाँका सार्की समुदायका युवाहरुलाई जुत्ता बनाउने काम सिकाउन थालेँ,’ उनले भने, ‘त्यहाँको घरेलुले खरिद गरेका सामानहरु पाँच/छ वर्षसम्म त्यतिकै थन्किएका थिए। म गएपछि सञ्चालनमा आए।’

उनी प्रशिक्षक भएर गएपछि त्यहाँका सार्की समुदायका पाँच जनाले सामन्य जुत्ता बनाउन सिके। उनले त्यहाँ लगातार तीन वर्ष सिकाए। त्यहाँका युवाहरु उनी गएको बेला छाला जुत्ताबारे सिक्न आउने र उनी फर्किएपछि अरु काममा लाग्ने गरेका थिए।

‘मैले उनीहरु सबैलाई बोलाएर नियमित एउटै सीपमूलक काम गर्दा आम्दानी लिन सकिन्छ भनेर सम्झाएँ,’ उनले भने, ‘पछि उनीहरुले राम्रो गरे। उनीहरुले राम्रो गरेपछि म फर्किएर दैलेख आएँ। आजपनि हुम्लामा मैले सिकाएका केटाहरु छाला जुत्ताको काम गरिरहेका छन्।’

दैलेख फर्किएपछि उनले आफ्नै व्यवसाय सुरु गरे। आज चौध वर्ष पुगिसकेको छ। त्यसले उनको जीवन सहज बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्‍याे। हरेक वर्ष उनी पाँचदेखि छ लाख रुपैयाँ आम्दानी गर्छन्। त्यसले उनलाई स्नातक पढिरहेका दुई छोरा, १२ पढिरहेकी छोरीको पढाइ खर्च र घर चलाउन निकै सहज भएको छ।

बजारमा दैलेखी छाला जुत्ताको ख्याती उचो छ। त्यसमाथि दैलेखी सावरको पहिचान नै फरक छ। विशेषगरी हुनेखाने र ठूलाबढाको सोख बनेको छ, दैलेखी सावरको जुत्ता। नेपालमा दैलेख, जाजरकोट र सल्यानमा सावर बन्छ। तर दैलेखभन्दा राम्रो अन्त नबन्ने गरेको उनले बताए।

‘त्यही भएर दैलेखी सावरको जुत्तालाई उच्च कोटीको भनिन्छ। सावर बनाउनलाई चाहिने कच्चा पदार्थ मृगको छाला, कुकाठहरु यहाँको भन्दा अन्तको राम्रो पाइँदैन,’ उनले भने, ‘दैलेखी सावर बनाउने प्रविधि कस्तो हो भनेर विदेशी समेत सोधपुछ गर्न आए। यहाँका मान्छेले सिकाए पनि। तर यहाँको जस्तो उनीहरुले बनाउन सकेनन्।’

दैलेखको जंगलमा हुने कुकाठ उच्च गुणस्तरको हुन्छ। जसले छालालाई राम्रो बनाउन मद्दत गर्छ। त्यहाँ पाइने उत्तिसको बोक्राबाट छालाको रंग निकाल्ने गरिन्छ। छिप्पिएका बुटाको रंग राम्रो आउँछ। र त्यो सितिमिति खुइलिँदैन। त्यसैले छाला बनाउनेहरु छिप्पिएको काठ रंग बनाउन प्रयोग गर्छन्।

सावर मृग र घोरलको छालाबाट बन्छ। मृगको छालाबाट बनेको सावर निकै मुलायम हुने गरेको उनले बताए। उनले भने, ‘घोरलको छालाबाट बनेको सावर अलि खस्रो हुन्छ। अहिले बाख्राको छालाबाट पनि सावर बन्छ। मृग र बाख्रा उस्तै देखिन्छन्।’

सिकारीहरुले मृग मारेपछि सावर बनाउन छाला सार्कीलाई बेच्छन्। यसरी सावर बनाउनेहरु जाजरकोटसम्म पुगेर मृगको छाला खोजेर ल्याउने र त्यसलाई खाडीमा (छाला बनाउने परम्परागत प्रविधिको कारखाना) राखेर सावर बनाउने गर्छन्।

यसरी बनेको एउटा सावरको तीन हजार, पैंतिस सय पर्छ। जसबाट साडे दुई जोर जुत्ता बन्छ। उनलाई राम्रो डिजाइनको जुत्ता बनाउन १ दिनभरी लाग्छ। डिजाइन कम भएको जुत्ता दिनमा दुई जोरसम्म पनि बनाउँछन्।

तर अब दैलेखमा सावर बनाउने मान्छे छैनन्। धेरैले यो व्यवसाय छोडिसके। मन्घर भन्ने ठाउँमा एकजना मात्रै छन्। उनी पनि निकै बुढा भइसकेका छन्। उनको शेषपछि दैलेख सावरको प्रविधि लोभ हुने सम्भावना बढेको छ।

सार्की समुदायको नयाँ पुस्ता आफ्नो पुर्ख्यौली पेसालाई निरन्तरता दिन चाहँदैन। कारण अघिल्लो पुस्ताले सम्पत्ति र सम्मान दुबै नपाएपछि उनीहरु बाध्यताले अरु पेसा रोज्न थालेका छन्।

छाला बनाउने स्थानीय प्रविधि निकै झन्झटिलो र लामो समय कुर्नुपर्ने हुन्छ। दुःख बढी हुने र मेहेनत अनुसारको फल पनि नपाइने भएपछि एकपछि अर्काे गर्दै धेरैले यो पेसा छोडेर अरु पेसातिर लागे।

इन्द्र सावर बाहेक अरु छालाका जुत्ता र स्पोर्ट शुज पनि बनाउँछन्। अहिले त बजारमा चाइनेज सावर पनि पाइन्छ भने इन्डियाबाट आएको छाला पनि पाइन्छ। त्यसलाई ल्याएर, छाला जुत्ता बनाएर बिक्री गर्छन्।

तर त्यो छाला उस्तो राम्रो हुँदैन। नेपालको बासबारी छाला जुत्ता कारखानामा बनेको छाला निकै राम्रो हुने गरेको उनले बताए। ‘अब त राम्रो छाला आउन पनि छोड्यो। त्यस्तो राम्रो छाला बन्ने कम्पनी बन्द गर्ने त्यसबेलाको सरकार र नेतालाई त कहिले भलो नहोस्,’ उनले भने, ‘त्यहाँ बनेको उच्च कोटीको छाला विदेशसम्म जान्थ्यो। अब त्यस्तो छाला कहाँ पाउनु?’

छाला जहाँ उत्पादन भएको भएपनि दैलैखीको सीपले बनेका जुत्ता नामले नै चल्छ। त्यसको अलग पहिचान छ। तर जुत्ता बनाउने मान्छेको मानसम्मान छैन। 

प्रकाशित मिति: : 2022-02-02 15:03:00

प्रतिकृया दिनुहोस्