इन्टरनेटकाे दुनियाँमा मानव अस्तित्वकाे खाेजी

वार्नर ब्रदर्सको ‘मेट्रिक्स’ श्रृंखलाको चौथो सिनेमा ‘द मेट्रिक्‍स रेसरेक्शन्‍स’ गत महिना रिलिज भयाे। यो भन्दा अगाडि साेही श्रृंखलाका अन्य सिनेमाहरु द मेट्रिक्स रेभुलेसन्स (२००३), द मेट्रिक्स रिलोडेड (२०००३) र द मेट्रिक्स (१९९९) पछि यो सिनेमा करिब दुई दशकपछि रिलिज गरिएको हो।

यी चारै सिनेमाका कथाकार र निर्देशक लाना वाचोवस्की हुन्, जो विज्ञान कथामा रोचक सिनेमा बनाउन प्रख्यात छन्।

सिनेमाको कथा मान्छे र आजको युगमा तिब्र रुपमा विकसित ‘आर्टिफ़िसेल इन्टेलिजेन्स’को अघोषित युद्वलाई निर्देशक वाचोवस्कीले रोचक रुपमा देखाउन प्रयास गरेका छन्। कथाको प्रमुख पात्र नियो (केनु रिब्स)द्वारा जुन विषय उठान गरिएको छ, त्यो विषयको बारेमा हामीले आफैलाई आफ्नो अस्तित्वको बारेमा प्रश्न गर्नुपर्ने बेला आएको छ।

इन्टरनेटको तिब्र विकासले जसरी हरेक क्षेत्रमा काम गर्न सजिलाे भएको छ, त्यसको ठिक विपरित इन्टरनेट प्रयोग गर्ने कसैको कुनै पनि कुरा अब गोप्य नभएको कारण प्रमुख चिन्ताको विषय भएको छ। निर्देशक वाचोवस्कीले सिनेमाको प्रमुख पात्र नियोलाई एउटा जटिल र काल्पनिक संसारमा लगेका छन्। जसले मानव अस्तित्वको रोचक ढंगले व्याख्य गर्छ। सिनेमामा यो प्रमुख कथालाई अगाडि बढाउन अरु उपकथा र पात्रहरु पनि छन्। त्यसको लागि भने सिनेमा नै हेर्नुपर्छ।

आफ्ना पूर्ववर्तीत सिनेमाहरुको जस्तो एक्सन यो सिनेमा मा छैन। जो यो सिनेमाका नियमित दर्शकहरुलाई मन नपर्न सक्छ। सिनेमामा अभिनेता नियोको साथ् उनकी प्रेमिका ट्रिनिटी (केरी एनी मोस्)का अन्तरंग दृश्य र उनको सुन्दर शरीरलाई अर्धनग्न पारेर दर्शकहरुलाई आकर्षित गर्न खोजिएको छ। जो एक हदसम्म सफल पनि रहन्छ।

सिनेमामा कथालाई अगाडि बढाउन अन्य कलाकारहरु जोनाथन ग्रोफ (स्मिथ), जेसिका हेन्विक (बग), नेल पेट्रिक ह्यारिस (अनुसन्धानकर्ता) आदि पनि छन्। जसको अभिनय सामान्य छ। कलाकारहरुमा एउटा सानो भूमिका भारतीय नायिका प्रियंका चोपडा (सती)को पनि छ। भूमिका सानो भए पनि उनको सुन्दर अनुहार हेर्दा दर्शकलाई आनन्द आउँछ।

निर्देशक वाचोवस्कीले कुशलतापूर्वक सिनेमाको निर्माण गरेका छन् तर कतै–कतै सिनेमा लामो हुन् गएको छ। यो सम्पादक जोसेफ जेट सलेको कमजोरी हो। जोन क्लिमेक र टम टवायरको संगीत तथा डेनियल मासाकेसी र जोन टोलको छायांकन उच्च स्तरकाे छ। सिनेमा्रको सम्पूर्ण शुटिङ्ग जर्मनीको बर्लिन शहर र त्यसको वरिपरि गरिएको हो।

सिनेमा हेर्न लायक निर्माण भएको भए पनि यो भन्दा अगाडिको सिनेमा नहेरेका दर्शकहरुका लागि यो सिनेमा कताबाट सुरु भएर कता गएर सक्किने हो, त्यो भेउ कठिन हुनु सामान्य हुनेछ। यदी तपाईंलाई यो सिनेमा हेरेर मनोरन्जन लिने इच्छा छ भने पहिले सिनेमाका अघिल्ला तीन श्रृंखला हेर्नुहाेला।

प्रकाशित मिति: : 2022-02-05 09:44:00

प्रतिकृया दिनुहोस्