लेटाङमा विद्यार्थी र प्रहरीबीच झडप, एक महिला प्रहरीको मृत्यु

तेजन खड्का

उर्लाबारी

यौन दुर्व्यवहारका आरोपीलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि स्थानीयले आक्रमण गर्दा एक जना प्रहरी जवानको मृत्यु भएको छ। मोरङको लेटाङमा आइतबार साँझ स्थानीयबासी र प्रहरीबीच झडप हुँदा एक महिला प्रहरीको मृत्यु भएको हो।

स्थिति नियन्त्रण गर्न खाेज्दा प्रहरी जवान उर्मिला श्रेष्ठकाे मृत्यु भएकाे हाे। छुरा प्रहारबाट गम्भीर घाइते उर्मिलाको अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको मोरङ प्रहरी प्रमुख जनार्दन जिसीले बिएल नेपाली सेवासँग भने।

आफ्नै गुरुले विद्यार्थीमाथि जबरजस्ती प्रयास गरेपछि आइतबार मोरङको शिक्षा विकास मावि तनावग्रस्त भएको थियाे।

विद्यालयबाट घर जाँदै गरेकी मोरङको लेटाङ– ८ जाँते माध्यमिक विद्यालयकी १२ वर्षीया बालिका करुणा राईको बलात्कारपछि हत्या भएको घटना सेलाउन नपाउँदै लेटाङ ५ को शिक्षा विकास मावि तनावग्रस्त भएको हो। कक्षा ७ मा पढ्ने १३ वर्षीय किशाेरीलाई सोही विद्यालयका शिक्षक मनोज पौडेलले जबरजस्ती प्रयास गरेपछि विद्यार्थी उत्तेजित भएका थिए।

स्थानीयका अनुसार गत शुक्रबार होलीको दिन ५६ वर्षीय शिक्षक पौडेलले बालिकाको घरमै गएर करणी प्रयास गरेका थिए। घरमा कोही नभएको बेला पुगेका शिक्षक पौडेलले जबरजस्ती गरेपछि बालिकाले चिच्याएर प्रतिकार गरेकी थिइन। 

बालिकाको प्रतिकारपछि पौडेल त्यहाँबाट भागेका थिए। लेटाङ –३ घर भएका पौडेल सोही विद्यालयका निमावि तहका सामाजिक शिक्षक हुन्।

यसअघि पनि दुई पटक बालिका र किशोरीमाथि झम्टिएका पौडेललाई स्थानीय अभिभावक र विद्यालयको प्रशासन बसेर पुन: यस्ता घटना नदोहोर्याउन चेतावनी दिइएको थियो। तर, पौडेलले तेस्रो पटक आफ्नै शिष्यलाई जबरजस्ती गरेपछि शिक्षा विकास मावि आइतबार दिनभर तनावग्रस्त रह्यो।

पीडित विद्यार्थीले अभिभावक लिएर आइतबार विद्यालय प्रशासनलाई कुरा राखेपछि विद्यार्थीहरू उत्तेजित भएका थिए। उत्तेजित विद्यार्थीले शिक्षक पौडेलको को२७ प १९२१ नम्बरको मोटरसाइकलमा आगजनी गरिदिएका छन्। विद्यार्थीले शिक्षकलाई मार्ने भन्दै धावा बोलेपछि दिनभर शिक्षक पौडेललाई प्रहरीको घेराबन्दीमा विद्यालयभित्रै संरक्षण दिइएको छ। 

प्रहरीले मे १ च ६६२ नम्बरको एम्बुलेन्समा हालेर शिक्षकलाई उद्दारको प्रयास गरेको थियो। तर, छिमेकी विद्यालयका विद्यार्थी समेत भेला भएर शिक्षक पौडेलविरुद्ध नाराबाजी गर्दै विद्यार्थीले एम्बुलेन्समाथि पनि ढुङ्गा मुडा  गर्न थालेपछि प्रहरीले दुईसय राउण्ड अश्रुग्यास प्रहार गरेको थियो। 

प्रहरी र विद्यार्थीबीच झडप हुँदा प्रहरी जवान रेणु यादव घाइते भएका छन्। यस्तै नाराबाजीम उत्रिएका ४ जना विद्यार्थी समेत बेहोस भएका छन्। उनीहरूलाई अस्पताल पठाइएको छ। 

प्रधानाध्यापक लक्ष्मीप्रसाद मिश्र सम्पर्कबिहीन भएका छन् भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडाध्यक्ष भूम सूर्यमगरको मोवाइलमा सम्पर्क हुन सकेको छैन्। 

लगातार किशोरीमाथि अभद्र व्यवहार हुन थालेपछि नगरप्रमुख शङ्कर राईले संविधान संसोधन गरेर भएपनि बलात्कारमा संलग्न हुनेहरूलाई फाँसीको सजायको व्यवस्था गर्न माग गरेका छन्। 

उनले घटनालाई राजनीतिक रङ्ग नदिई निष्पक्ष छानविन गर्न प्रशासनसँग माग गरे। 'नगरपालिकाले आवश्यक सहयोग गर्छ।  तर, शिक्षक दोषी ठहरे कारवाहीको भागेदार बन्नुपर्छ' उनले भने। 

उगले यसअघि पनि यस्ता घटना भएर लुकाइएको प्रति आपत्ति जनाएका छन्। बिहान साढे १० बजेपछि तनावग्रस्त भएको विद्यालय साँझसम्म पनि शान्त हुन सकेको छैन्।

प्रकाशित मिति: : 2022-03-20 22:23:00

प्रतिकृया दिनुहोस्