बिहानी प्रहर जब पूर्वनासुले बजेट चलाए...

मध्यरात ढल्किँदो थियो। अर्थ मन्त्रालयको अलिकति भागमा झलमल्ल बत्ती बलिरहेकै थियो। अर्थमन्त्री कार्यकक्षमै थिए। अर्को कक्षमा मन्त्रालयका वरिष्ठतम् अधिकारीहरू निसासिँदो व्यस्ततामा थिए। किनकि, भोलिपल्ट अर्थमन्त्रीले वाचन गर्ने बजेट सिध्याउनु थियो। 

अर्थमन्त्रीको निर्देशन, देशको आवश्यकता र विभिन्न मन्त्रालयका सिफारिसका आधारमा आय/व्यय विवरण तयार भइरहेको थियो।  त्यसकै धपेडी थियो। राति १२:३० अर्थमन्त्रीले बजेट अन्तिम रूप दिइरहेको टिमलाई आफ्नो कार्यकक्षमा बोलाए। टिममा थिए–  १. सचिव– मधुकुमार मरासिनी २. सचिव– कृष्णहरि पुष्कर ३. सहसचिव– चक्रबहादुर बुढा (प्रमुख, बजेट तथा कार्यक्रम महाशाखा) ४. सहसचिव– भूपाल बराल (प्रमुख, राजस्व व्यवस्थापन महाशाखा) अर्थमन्त्रीसँग एक व्यक्ति थिए। 

चारै जना उच्च अर्थ अधिकारी मन्त्रीको कुनै निर्देशनको पर्खाइमा रहे। मन्त्रीले भने कसैलाई फोन गरेर बोलाए, ‘आउने बेला भएन ?’ केही मिनेटमै ती व्यक्ति अर्थमन्त्रीको कक्षमा प्रकट भए। उनी अलि हस्याङफस्याङ हालतमा थिए। मन्त्रालय उच्च स्रोत भन्छ, ‘मन्त्रीले बोलाउनासाथ आउने सर्तमा उनी त्यहीं कतै भएका हुन सक्छन्। भन्नासाथ स्याँस्याँ गर्दै आइपुगे।’ ‘त्यो चुकुल लाउनुहोस्’, अर्थमन्त्रीले पस्दापस्दैका तिनै व्यक्तिलाई अह्राए। र, उनीसँग पहिल्यै रहेका व्यक्तिको छेउमा बस्न इसारा गरे। 

अर्थ मन्त्रालयमा वर्षौं सेवा गरी उपल्लो तहमा पुगेका चारै जना ती आगन्तुकलाई हेरेको हेर्‍यै भए।  ‘नमस्कार’, ती व्यक्तिले चारै जनातिर फर्किएर हात जोडे।  ‘नमस्कार’, सबैले अभिवादन फर्काए। 

तिनलाई उनीहरूले नचिन्ने कुरै थिएन। ती थिए– रघुनाथ घिमिरे। घिमिरे तिनै व्यक्ति थिए, जसले अर्थ मन्त्रालयकै भन्सार विभागबाट २०७५ फागुन १ गते नायबसुब्बा पदबाट राजीनामा दिएका थिए।  आराम–कुशलता सोधासोध भयो। औपचारिकतास्वरूप। 

प्रकाशित मिति: : 2022-06-13 11:11:00

प्रतिकृया दिनुहोस्