उदयपुर चिनाउने आठ स्थल : धार्मिक विश्वासदेखि सगरमाथाको दृश्यसम्म

प्रवेश बिष्ट

विराटनगर  

प्राकृतिक, भौगोलिक तथा सांस्कृतिक विविधताले भरिपूर्ण भएको जिल्ला हो, उदयपुर। महाभारत श्रृङ्खलादेखि चुरे पर्वत मालाको भित्री मधेश क्षेत्रभित्र विश्वको सर्वोच्च शिखर सगरमाथाको काखमा उदयपुर जिल्ला अवस्थित रहेको छ।

जिल्लामा भित्री मधेशअन्तर्गत पर्ने ठाउँमा उच्च गर्मी तथा बाह्रै महिना चिसो हुने अग्ला–अग्ला पहाड, डाँडाहरू भएका विविध ठाउँ छन्। जिल्लाको क्षेत्रफल २०६३ वर्ग किलो मिटर रहेको छ।

जिल्लाको सिमाना पूर्वमा सुनसरी र धनकुटा जिल्लाको केही भाग, पश्चिममा सिन्धुली र धनुषाको केही भाग, उत्तरमा भोजपुर, खोटाङ र अ‍ोखलढुङ्गाको केही भाग, दक्षिणमा सिराहा र सप्तरी जिल्ला रहेको छ।

यसरी उदयपुरको सिमानामा ९ जिल्ला पर्दछन्, जुन नेपालको धेरै जिल्लासँग सिमाना जोडिएको जिल्लाको दोस्रो स्थानमा पर्दछ। धेरै जिल्लासँग सिमा जोडिएको पहिलो जिल्ला सिन्धुली हो।

भौगोलिक विविधताले सम्पन्न जिल्लाका ८ वटै स्थानीय तहहरूमा पर्यटकलाई आकर्षित गर्ने फरकफरक किसिमका गन्तव्य छन्। कोरोना भाइरसको महामारीले थलिएका उदयपुरका पर्यटकीय क्षेत्रहरु विस्तारै माथि उठ्न थालेका छन्।

रौता पोखरी

धार्मिक आस्थाको केन्द्र बोकेको पर्यटकीयस्थल रौता पोखरी रौतामाई गाउँपालिकामा पर्दछ। कोभिड–१९ को कारण झण्डै दुई वर्षसम्म पर्यटकविहीन बनेको जिल्लाको पर्यटकीयस्थल रौता पोखरी क्षेत्रमा अहिले पर्यटक आगमन बढेको छ।

समुद्र सतहबाट २ हजार मिटरको उचाइको पहाडी क्षेत्रमा रहेको रौता क्षेत्रबाट सगरमाथा, आमादब्लाम, ल्होत्से, चोयु, कञ्चनजङ्घा, अरुणवरुण क्षेत्रसहित आठवटा हिमशृङ्खला प्रष्ट देख्न सकिन्छ।

रौतामाई क्षेत्रमा मुख्य गरी पूर्वी नेपालका पर्यटकहरु आउने गरेका छन्। खासगरी यस क्षेत्रमा झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, सर्लाही, सिन्धुलीलगायतका जिल्लाका पर्यटकहरु धेरै आउने गरेका छन्।

बाह्रै महिना आन्तरिक तथा बाह्य पर्यटकहरूको घुइँचो लाग्ने रौता पोखरीबाट चारैतिर हरियाली वनजंगल र ठुलाठुला हिम श्रृङ्खला देखिने दृश्यले घुम्न आउने पर्यटकहरुको मन लोभ्याउँछ। रौतामा खानका लागि पर्यटकहरुलाई स्थानीय उत्पादन कोदो, मकै, फापरको ढिँडो, धान, सिस्नु, साग, स्थानीय जातको कुखुरा, दाल, गुन्द्रुकको अचारजस्ता परिकार पाइन्छ।

त्रिवेणी मेला

उदयपुरको कटारी नगरपालिकास्थित कमला नदीको पवित्र त्रिवेणीधाममा माघे संक्रान्तिको अवसरमा त्रिवेणी मेला लाग्ने गर्दछ।

प्रदेश नं १ कै महत्वपूर्ण धामका रूपमा यस धामलाई लिइन्छ। प्रत्येक वर्ष माघे संक्रान्तिका समयमा त्रिवेणीधाममा छिमेकी जिल्ला सिरहा, सप्तरी, धनुषा, सर्लाही, रौतहट, पर्सा र बारासहित सिन्धुली, खोटाङ, सोलुखुम्बु, ओखलढुङ्गासहित सुनसरी, मोरङ र झापाबाट समेत ठूलो सङ्ख्यामा भक्तजन मकर नुहाउन आउने गर्दछन्।

कमला नदी र तावा खोलाको सङ्गमस्थलका रूपमा रहेको त्रिवेणीधामको पानीले नुहाउँदा शरीरमा रहेको विभिन्न चर्मरोग निको हुने र पूजा तथा आरधना गर्दा चिताएको कुरा पुग्नेसमेत जनविश्वास भएको पाइन्छ। अन्य समयमा पनि यहाँ विभिन्न स्थानबाट पूजापाठ गर्न मानिसहरु आउने गर्दछन्।

उदयपुरगढी
उदयपुरगढी क्षेत्रमा पञ्चावतीमाई मन्दिर, गणेशस्थान तथा ऐतिहासिक ढुंगे स्मारकजस्ता पर्यटकीय आकर्षणका सम्पदा छन्। जसले गर्दा पर्यटकको मन लोभ्याउँछ।

ऐतिहासिक रहेको यो गढी सरकारी बेवस्ताका कारण लामो समयसम्म ओझेलमा परेको थियो। संरक्षण अभावका कारण प्रदेश एकको प्रमुख पर्यटकीयस्थलका रुपमा रहेको गढीको सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक र धार्मिक सम्पदाहरु जीर्ण बन्दै गएका थिए। गत वर्ष सडक सञ्जालले उदयपुरगढी जोडिएपछि आन्तरिक तथा बाह्य पर्यटकहरु आउन थालेका छन्।

ताप्ली पोखरी

उदयपुरको पश्चिमी क्षेत्रमा पर्ने ताप्ली गाउँपालिकाको प्रमुख पर्यटकीय गन्तव्य हो, ताप्ली पोखरी। ताप्ली पोखरीमा बाह्यभन्दा आन्तरिक पर्यटक बढीजसो आउने गरेका छन्। ताप्ली पोखरीमा प्रत्येक नयाँ वर्षको दिन मेलासमेत लाग्ने गरेको छ।

उदयपुरको एक प्रमुख पर्यटकीयस्थलका रूपमा रहेको यो पोखरी कटारी नगरपालिकाबाट कच्ची बाटो हुँदै ४–५ घण्टाको यात्रामा पुगिने उत्तरको डाँडा ताप्ली गाउँपालिका–२ ताप्ली पोखरी वा रानी पोखरीको नामले प्रख्यात रहेको छ। यो पोखरीले प्राकृतिक सुन्दरता, धार्मिक गाथा एवं पर्यटकीय महत्वलाई समेटेको छ।

ताप्ली पञ्चकन्यादेवीको भाकल गरेर पूजा आरधना गरे चिताएको पुग्ने जनविश्वास छ। ताप्ली क्षेत्रबाट दूधकोशी, सुनकोशी, पहाडी जिल्ला सोलुखुम्बु, ओखलढुङगा, सिन्धुलीसहित तराईका सिरहा, धनुषालगायतको अवलोकन गर्न सकिन्छ। उत्तरी क्षेत्रका मनोरम हिमशृङ्खलाको समेत दृश्यावलोकन गर्न सकिन्छ।

चौदण्डीगढी दरबार

चौदण्डी नगरपालिकाको पहाडी क्षेत्रमा अवस्थित चौदण्डीगढी दरबार उदयपुर जिल्लाको एउटा महत्वपूर्ण पर्यटकीय गन्तव्य हो। सडक सञ्जालले जोडिए पनि विद्युत र खानेपानी जस्ता पूर्वाधारको समस्या यहाँ छ।

सेन राजाहरुको दरबारको भग्नावशेष तथा बिसासय कूल देवीको मन्दिरको जीर्णोद्वार गरेर सुरक्षित घेरबार गरी पुरातात्विक महत्वका वस्तुको संरक्षणका लागि नगरपालिकाले काम थालिसकेको छ। चौदण्डी घुम्न आउने पर्यटकका लागि गेष्टहाउस तथा होटल प्रशस्तै पाइन्छ।

चौदण्डीगढी १८२६ देखि उदयसेन, लोहाङ सेन र हेमदत्त सेनजस्ता सेनवंशी राजाले राज्य गरेको ऐतिहासिक थलोका रुपमा चिनिन्छ।

बेतेनी भञ्ज्याङ

कटारी नगरपालिकामा पर्ने बेतेनी भञ्ज्याङ पनि पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा परिचित हुँदै आएको छ।

एकैछिनमा घाम लाग्ने र छिनमै हुस्सु लाग्ने र अग्लो डाँडा अनि चारैतिर हरियाली, छिनछिनमा हुने मौसम परिवर्तन बेतेनी भञ्ज्याङ्को मुख्य बिशेषता हो। उदयपुरको दास्रो ठुलो सहर कटारी बजारदेखि बेतेनी करिब १६ किलोमिटर उत्तरमा पर्दछ।

पश्चिम, दक्षिणी क्षेत्रमा भीर र उत्तरपूर्वी क्षेत्रमा पहाडी भू–भागको पाखोवारीले घेरेको यस भञ्ज्याङ पूर्वको महत्वपूर्ण पर्यटकीय गन्तव्य हो।

चतरा–सिम्ले जेटबोट

सप्तकोशीमा चतरा–सिम्ले जेटबोट सञ्चालनमा आएपछि यो क्षेत्र एउटा आकर्षक पर्यटकीयस्थल बनेको छ।

 

बराहक्षेत्र जल यातायात तथा पर्यटन प्रालिले सुनसरीको बराहक्षेत्र–१ चतराबाट भोजपुर, उदयपुर र धनकुटाको सङ्गमस्थल सिम्लेसम्म जेटबोट सञ्चालन गर्दै आएको छ।

एभरेष्ट भ्यूटप

विश्वको सर्वोच्च शिखर सगरमाथालगायत ८ वटा हिमाल आँखै अगाडिबाट नियाल्न सकिने लिम्चुङबुङको ‘एभरेष्ट भ्यूटप’ पनि उदयपुरको पर्यटकीय गन्तव्य हो।

यहाँ घुम्नका लागि इलाम, मोरङ, झापा, सुनसरी, सिरहा, सप्तरीका साथै जिल्लाका विभिन्न स्थानबाट आन्तरिक पर्यटकहरु उल्लेखनीय उपस्थिति हुने गरेको पाइन्छ।

साथै ऐतिहासिक महत्व बोकेको उदयपुरकै सबैभन्दा अग्लो भालेबास डाँडा, अँधेरी झरना, कोलोहाङ र वासिराङ झर्ना, वासिराङ दह, भूतिया तह, बालबाटिका बगैंचा, टंकेला गुफा, बेलका हाइट, महांकाल मन्दिर, कोशी टप्पु, सप्तकोशी नदी, ऐतिहासिक मैनाराजा मैनारानीलगायतका पर्यटकीयस्थलहरू छन्।

प्रकाशित मिति: : 2022-06-22 17:47:00

प्रतिकृया दिनुहोस्