दोहोरो नागरिकता: देशप्रतिको गद्दारी, बेइमानी !

Breaknlinks
Breaknlinks

'हामी अहिले यूरोपियन मुलुकमा छौँ। र, अधिकांशले यहीको नागरिकता लिएका छौँ। तर हामी दोहोरो नागरिकता चाहियो भन्दै नेपाल सरकारसामु हार गुहार गरिरहेका छौँ। यो देशप्रतिको ठूलो गद्दारी हो, बेइमानी हो।' 

दश वर्षअघि आफ्ना बुवाआमासँगै बेल्जियम आइपुगेकी रूबिना शर्माको भनाइ हो यो। उनले हासेल्ट विश्वविद्यालय अन्तर्गतको कलेजमा कृषि तथा बायो टेक्नोलोजीमा स्नातक गर्दैछिन्।

नागरिकता सम्बन्धी आएका टिका–टिप्पणी हेरेर नागरिकतालाई हल्का रूपमा लिएकोप्रति दुखेसो पोख्दै रूबिनाले भनिन्, 'मैले यहाँको नागरिकता बुवामार्फत् सानैमा पाएकी थिएँ। त्याेबेला नागरिकता सम्बन्धी कुनै ज्ञान थिएन। तर मेरो भविष्यको इच्छा नेपालमै गएर केही गर्नुछ। मैले यहाँको नागरिकता त्यागेर नेपालको लिनेछु। मलाई दोहोरो नागरिकता लिएर दोहोरो फाइदा लिनु छैन। त्यो देशको लागि गद्दारी र बेइमानी बाहेक केही होइन।'

रूबिना बेल्जियममा हुर्किदै गरेकी नयाँ पिढी हुन्। एनआरएन बेल्जियमको राष्ट्रिय समितिमा रहेकी उनलाई सुरुमा देशको माया नगरी आफ्नो हितलाई हेरेर यहीको नागरिकता लिने तर अहिले पुन दोहोरो नागरिकता राखेर दोहोरो चरित्र देखाउने कुराप्रति चित्त बुझेको छैन। 'दोहोरो नागरिकता नेपालको हितको लागि छैन। यदि राष्ट्रको माया अनि आफ्नो सम्पत्तिको माया छ भने अरूको देशको नागरिकता त्यागेर आफ्नै देशमा फर्कने हिम्मत देखाउनु पर्दछ। आफ्नो देशको संविधानलाई कुल्चेर राष्ट्र नै त्यागेपछि अहिले आएर चिचि पनि पापा पनि खोज्नु शोभनीय हुँदैन,' उनले प्रष्ट पारिन्। 

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता सम्बन्धी ल्याएको विधेयक सदमै फर्काएपछि पक्ष वा विपक्षको बहस खूब् तातिएकाे छ। नेपालजस्तै विदेशमा रहेका प्रवासी नेपालीबीच पनि यस विषयले चर्चा पाएको छ। उदाहरणका लागि बेल्जियममा अगाडि बढ्दै गरेकी युवती हुन्, रूबिना शर्मा। उनीजस्तै धेरै दोहोरो नागरिकताको विपक्षमा देखिएका छन्। कतिपय पक्षमा पनि छन्। 

बेल्जियममा पछिल्लो तथ्यांकअनुसार दुई हजारबढी नेपालीले यतैको नागरिकता लिएका छन्। त्यस्तै, पोर्चुगल र स्पेनको नागरिकता लिएर बेल्जियम बसाइँ सर्ने नेपालीको संख्या पनि उत्तिकै छ।

बेल्जियमलगायत यूरोपियन देशमा नागरिकता लिनको लागि पटक्कै सजिलो छैन। देशका निश्चित नियमहरू पूरा गर्नु पर्दछ। सजिलै यताको नागरिकता सरकारले दिँदैन। देशको नियमअनुसार 'दशवर्ष बसेको', 'निश्चित अवधि काम गरेको', 'भाषा जानेको', 'यहीको समुदायमा घुलमिल भएको' हुनुपर्दछ।

नागरिकताको लागि आवेदन दिएको निश्चित समयको छानबिनपछि मात्रै नागरिक हुने स्वीकृत दिन्छ। कुनै देशले नेपालको नागरिकता त्यागेको प्रमाण खोज्छन् भने कुनै देशले त्यो माग्दैनन्। 

तर पछिल्लो समय नेपालको विदेशी नागरिकलाई प्रदान गरिने नागरिकता सम्बन्धी आउन लागेको सजिलो नियमले धेरै नेपालीहरूलाई दुखित बनाएको देखिन्छ। राष्ट्रप्रतिको प्रेमको कारण दोहोरो नागरिकता तथा विदेशी नागरिकलाई सजिलो तरिकाबाट नागरिकता प्रदान गर्न नहुने उनीहरूको मत छ। 

बेल्जियममा बस्दैआएका कलाकार श्याम श्रेष्ठ नागरिकता विधेयकबारे सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै भन्छन्, 'सुन्नमा आएको थियो– नागरिकता विधेयकमा लालमोहर नलगाएको कारण दीपेन्द्र लाई मारेर उसैलाई आरोपी बनाएर बीरेन्द्रको बंश समाप्त गर्यो। अहिले त्यही रूप विद्यादेवी भण्डारीमा थोपरिँदै छ। विगतमा रामवरण हुँदा किन यो कुरोअघि बढेन? कुन रूप र शक्तिले विद्यादेवीले फिर्ता पठाइन्? राष्ट्रियताको खेल हो! या कसैले गोटी चालिरहेको छ? जन्मिएर विदेशिनेहरू, रेमिट्यान्स पठाउनेलाई नागरिकता त्याग्न बाध्य नबनाउने या त्याग्न परेकोलाई वैदेशिक परिचय–पत्र जसले भिजा र कारोबारमा सहज होस् तर बिहे गरेको कम्तिमा ७–८ वर्ष नागरिकता दिन नहुनेमा मेरो पनि सहमत छ।'

कलाकार श्रेष्ठको भनाइबाट पनि नेपालमा विदेशी नागरिकलाई सजिलै नागरिकता प्रदान गर्न नहुने देखिन्छ। उनी विगत लामो समयदेखि बेल्जियममा बस्दैआएका छन्। 

त्यसो त बेल्जियममा रहेका नेपालीबीच पक्ष र विपक्ष रूपमा बहस सामाजिक सञ्जाल छताछुल्ल भएकाे छ। उता नेपाल पत्रकार महासंघ बेल्जियम शाखाका अध्यक्ष ओम शर्माले पनि विधेयक फिर्ता सम्बन्धी फरक मत जाहेर गरेका छन्। उनी लेख्छन्, 'जसले तारिफ र गाली गरेपनि राष्ट्रपतिको द्वैध र असन्तुलित भूमिका देखियो। अध्यादेश चाहिँ राति नै पास, प्रावधान सबै उनै भ​एको सार्वभौम सदनले पारित गरेर पठाएको विधेयक फिर्ता!  एनआरएन नागरिकता मात्र थप भ​एको न हो।' 

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेल्जियमका अध्यक्ष डिल्लीराम अम्माई पनि राष्ट्रपतिको विधेयक फिर्ताप्रति खुसी देखिन्छन्। सत्ता चलाउनेले एनआरएनलाई दोहोरो नागरिकता सम्बन्धी भ्रम दिएको उनको भनाइ छ।

फेसबुकमा आफ्नो विचार लेख्दै अम्माई प्रस्ट पार्छन्, 'नेपालीलाई अल्पमतमा पारी देशमा फिजिकरण गर्ने भारतीय मिशन, तिब्बती र रोहिंज्यालाई भित्र्याएर आतंककारी गतिविधिलाई संस्थागत गर्ने इन्डो–अमेरिकन मिशनमा सत्ताका दलाल प्रयोग गरेर ल्याइएको यो नागरिकता विधेयकलाई राष्टपतिले रोक्नुपर्थ्यो, रोक्नुभयो। दलाल सत्ताले यो बिधयक प्रवासी नेपालीको हितमा ल्याएको हुन्थ्यो भने 'नागरिकताको निरन्तरता' भन्ने शब्द राख्थ्यो।हाम्रो माग पुरानो नागरिकताको निरन्तरता हो नकि अधिकारविहीन कथित गैरआवासिय नागरिकता। गैह्र आवासिय नेपाली यहिनेर भ्रममा छौँ। राजा बीरेन्द्रले लगभग यही विधेयक तीनपटक फिर्ता गर्दा बंशसहित आर्यघाटमा जल्नुपर्यो। २००९ साल देखिकै नागरिकता ऐन र त्यसमा भएका संशोधन प्रक्रियाबारे लामो चर्चा गरेकी राष्ट्रपतिले आफ्नो सन्देशमा २०५८ सालमा तत्कालीन सरकारले नागरिकता ऐनमा गर्न खोजिएको संशोधन (राजा बीरेन्द्र) किन रोकेको थियो भन्ने पनि उल्लेख गर्नुभएको छ। जुन प्रासंगिक र देश हितमा छ।' 

उल्लेखित सबै विचारमाथि गहिराे विश्लेषण गर्दा बेल्जियमका नेपालीहरू देशप्रति चिन्ता देखिन्छ। यहाँ नागरिक बनेका नेपाली मूलका बेल्जियम नागरिक हुन् वा नेपाली नै किन नहाेउन् सबैलाई राष्ट्रको प्रेम उत्तिकै छ।

दोहोरो नागरिक वा विदेशी नागरिकलाई नेपाली नागरिकता दिँदा देखिएकाे चिन्ताप्रति बेल्जियमबासी नेपालीहरूको मनोभाव प्रष्टै छ। बेल्जियमजस्तै प्रवासमा बस्ने सबै नेपालीको देशप्रेमलाई सत्ता चलाउने नेताहरूले गम्थीर रूपमा मनन गर्न सकुन्।

प्रकाशित मिति: : 2022-08-16 21:00:00

प्रतिकृया दिनुहोस्