प्युठानकाे चुनावी जोडघटाउ: सत्ता गठबन्धन हाबी हुँदा छटपटीमा सूर्य थापा

आउँदो आम–निर्वाचनको लागि विभिन्न राजनीतिक पार्टीबाट कैयौँ उम्मेदवारका आकांक्षीहरू देखिएका छन्।

गाउँदेखि शहरसम्म आजभोलि एकाएक चुनावी माहोल तातिएको छ। एकातिर सत्ता गठबन्धनको दबदबा छ। अर्कोतिर एमालेसहित राप्रपालगातका पार्टी चुनाव केन्द्रीत अभियानमा जुटेका छन्।

गत स्थानीय तहको निर्वाचन सकेर काठमाडौँ आएका शीर्ष नेताहरू जिल्ला–जिल्लामा गइरहेका छन्। अन्य जिल्लाको तुलनामा ‘कम्युनिष्ट प्रभावक्षेत्र’ मानिने प्युठानमा बेग्लै चुनावी चर्चा छ।

खासगरी वाम आन्दोलनका शीर्ष नेता मोहनविक्रम सिंह, मोहन वैद्य ‘किरण’, वामदेव गौतम, लिलामणि पोखरेलजस्ता ‘क्रान्तिकारी’ जन्मे–हुर्केको जिल्ला हो, प्युठान। त्यसो त नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाबाट दर्जनौँ आकांक्षी देखिएका छन्। तर मंगलबारदेखि फेरि सुटुक्क चर्चाको शिखरमा आइदिए, पार्टीविहीन वामदेव गौतम। माओवादी केन्द्रको चुनाव चिन्ह ‘हँसिया हथौडा’बाट निर्वाचन लड्ने उनको निर्णयसँगै राष्ट्रिय जनमोर्चा झस्किएको छ।

प्युठान हुँदै बर्दियासम्म फैलिएका पूर्वगृहमन्त्री गौतमलाई सत्ता गठबन्धनभित्रका नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले समर्थन गर्लान् कि नगर्लान्, त्यो भने हेर्न बाँकी छ।

उता नेकपा (एमाले)बाट पोलिटव्यूरो सदस्य सूर्य थापा निर्विकल्पजस्तै छन्। उनी जुनसुकै परिस्थिति आइपर्दा पनि प्रतिनिधिसभा सदस्यमा चुनाव लड्ने बताउँछन्। तर, स्थायी कमिटी सदस्य मणिचन्द्र थापामा पनि उतिकै चर्चामा छन्।

सत्ता गठबन्धनबाट कसले पाउला संघीय टिकट

नेकपा (एमाले) र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक प्रवृत्तिविरूद्ध प्रायः शीर्ष दल सम्मिलित वाम लोकतान्त्रिक गठबन्धन बनेको छ। त्यो गठबन्धनबाट टिकट बाँड्का लागि कांग्रेसका वरिष्ठ नेता कृष्णप्रसाद सिटौला संयोजक तोकिएका छन्।

कार्यदलको सदस्यमा कांग्रेसबाट सिटौलासहित महामन्त्री गगन थापा र केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की पनि रहेका छन्।


प्युठान जनमाेर्चालाई दिन्नाैँ– डा. गोविन्दराज पोखरेल (अन्तर्वार्ता)


माओवादी केन्द्रबाट महासचिवका आकांक्षी वर्षमान पुन र स्थायी समिति सदस्य देवप्रसाद गुरुङ, एकीकृत समाजवादीबाट महासचिव बेदुराम भुसाल र नेता प्रमेश हमाल रहेका छन्।

त्यस्तै, जनता समाजवादी पार्टी (जसपा)बाट केन्द्रीय रामसहायप्रसाद यादव र रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट सचिव हिमलाल पुरी र नेता आनन्द शर्मा कार्यदलभित्र सदस्य छन्। उनीहरूले नै प्युठानलगायत ७७ वटै जिल्लाका लागि सीट बाँडफाँड गर्ने छन्।

स्रोतकाअनुसार नेताहरूले बाँडफाँटको गृहकार्य थालिसकेका छ। तर, दलहरू आ–आफ्नो दाबी छाडेका छैनन्। गठबन्धनभित्र 'प्युठान भनेको जनमोर्चा र जनमोर्चा भनेकै प्युठानजस्तो छ।'

जनमोर्चाका प्रतिनिधि हिमलाल पुरी र आनन्द शर्माले कुनै पनि हालतमा त्यो क्षेत्र नछाड्ने बताएका छन्। उनीहरूले उपाध्यक्ष दुर्गा पौडेल वा लुम्बिनी प्रदेश अध्यक्ष बोमबहादुर खड्कालाई सत्ता गठबन्धनले समर्थन गर्नुपर्ने अडानमा छन्।

उता नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूनिकट पार्टी केन्द्रीय सदस्य डा. गोविन्द्रराज पोखरेलका लागि 'लबिङ' गरिरहेका छन्। तर गठबन्धनभित्र एकाएक भित्रिएका छन्, वामदेव गौतम। यसपटक आफूले बर्दिया छाडेर प्युठानबाट चुनाव लड्ने बताएका बताउँछन्, उनी। लगतै राष्ट्रिय जनामोर्चाका शीर्ष नेताहरूले वामदेवको गठबन्धन प्रवेशसँगै चिन्ता व्यक्त गरेका छन्।

‘जिल्ला छोडिसकेका वामदेव गौतमलाई प्युठानकाे सत्ता गठबन्धनले बोक्न सक्दैन। उहाँलाई हाम्रो पार्टीले कुनै हालतमा समर्थन गर्दैन। प्युठानमा जनमोर्चाको विकल्प छैन,’ जनमोर्चाका एक केन्द्रीय सदस्यले भने। त्यसो त मोहनविक्रम सिंह र चित्रबहादुर केसी माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र समाजवादीका अध्यक्ष माधव नेपालकाे बाेलीबाट ढुक्कै छन्।

जिल्लामा प्रदेशसभाका लागि दुईवटा क्षेत्र छन्। संघीयता विरोधी राष्ट्रिय जनमोर्चाले प्रदेशसभा सदस्यका लागि उम्मेदवारी नदिने स्पष्ट पारिसकेको छ। प्रतिनिधिसभामा जनमोर्चाले पाएको खण्डमा कांग्रेस र माओवादीले एकएकवटा प्रदेशसभा ‘क’ र ‘ख’रोज्ने छन्।

कस्तो छ, प्युठानको संरचना

एउटा प्रतिनिधिसभा, दुईवटा प्रदेशसभा र नौवटा स्थानीय तह छन्– प्युठानमा।

‘क’तर्फ स्वर्गद्धारी नगरपालिका, माण्डवी गाउँपालिका, सरुमारानी गाउँपालिका, ऐरावती गाउँपालिका र प्युठान नगरपालिकाको आधा भाग।

त्यस्तै, ‘ख’तर्फ नौबहिनी गाउँपालिका, मल्लारानी गाउँपालिका, झिमरुक गाउँपालिका, गौमुखि गाउँपालिका र प्युठान नगरपालिकाको आधा भाग पर्दछ।

यी मध्ये स्वर्गद्धारी नगरपालिका, ऐरावती गाउँपालिका, प्युठान नगरपालिका, मल्लारानी गाउँपालिका, माण्डवी गाउपालिका र गौमुखी गाउँपालिका सत्ता गठबन्धनले जितेको छ।

अनि नौबहिनी गाउँपालिका र सरुमारानी गाउँपालिकामा नेकपा (एमाले)ले जितेको छ। तर, झिमरुक गाउँपालिकामा भने एमाले र माओवादीबीच गठबन्धन भएको थियो। स्थानीय तहको निर्वाचनपछि जिल्लामा सत्ता गठबन्धन बलियो देखिएको छ।

कस्तो छ अघिल्लो परिणम

०७४ सालको अघिल्लो निर्वाचनमा वाम गठबन्धनको तर्फबाट राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जितेकी थिइन्। उनले ४१ हजार ५ सय १४ मत पाएकी थिइन्।

पौडेलकी निकटम प्रतिद्वन्द्वी थिए, नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. गोविन्द्रराज पोखरेल। उनले ३१ हजार २ सय ८६ मत प्राप्त गरेका थिए। वाम शक्ति र कांग्रेसबीच अघिल्लो चुनावमा १६ हजार २ सय २८ मतान्तर छ। त्यसो त कांग्रेसविरुद्ध जनमोर्चा, तत्कालीन एमाले र माओवादीको संयुक्त गठबन्धन बनेको थियो।

अघिल्लो निर्वाचनको तुलनामा कांग्रेस पनि बलियो देखिएको छ। ‘प्युठानमा वामपन्थी मत हिजो पनि राम्रो थियो, आज पनि राम्रो छ। प्युठान कम्युनिष्टहरूको किल्ला हो। यहाँ कांग्रेसलाई छोड्न सकिँदैन। कि एमालेले जित्छ। कि जनमोर्चाले जित्छ। कि माओवादीले तर कांग्रेसको सम्भावना छैन,’ वामपन्थी एक युवाले भने।


प्युठान : जनमोर्चालाई कांग्रेसको भर, कांग्रेसकै डर - के गर्लान् सूर्य थापा ?


वाम लोकतान्त्रिक गठबन्धनको प्रभाव लुम्बिनी प्रदेश हुँदै प्युठानसम्म फैलिएको छ। कांग्रेसभन्दा बलिया छन्, वाम शक्ति।

प्युठानमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादीबीच गठबन्धनको सम्भावना छ। उता निर्वाचनको मैदानमा एमाले एक्लै देखिएको छ। ०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसविरूद्ध वाम गठबन्धन भएको थियो। जसमा तत्कालीन एमाले, माओवादी, जनमोर्चाबीच गठबन्धन बनेको थियो। प्रदेशमा एमालेका हरि रिजाल र माओवादीका कृष्णध्वज खड्काले जितेका छन्।

आउँदो निर्वाचनबारे के भन्छन् प्युठानी युवा

त्यसो त आउँदो निर्वाचनबारे प्युठान युवाहरूले आ–आफ्नै धारणा बनाएका छन्। उनीहरू सदाबहार उम्मेदवारबाट आजित छन्।

परिवर्तन र युवा शक्तिको पक्षमा खुल्न थालेका छन्। प्युठानी युवा भरतमणि न्यौपानेले गठबन्धनभित्र झ्यालबाट एकाएक छिरेका एमालेका पूर्वनेता वामदेव गौतमप्रति आक्रोश पोखेका छन्।

प्युठानी जनताका लागि वामदेव उपयुक्त पात्र नभएको पनि उनले बताएका छन्। ‘वामदेव कैयौँपटक जिते। कैयौँपटक मन्त्री बने, आखिर प्युठानी जनताका लागि के चाहिँ गरे ? उनी सत्ता गठबन्धनको उम्मेदवार हुन सक्दैनन्,’ उनले भने। भरतमणि बरु जनामोर्चाकी सांसद दुर्गा पौडेलको पक्षमा खुलेका छन्।

अर्का युवा मेघराज पुनले आउँदो निर्वाचन बहिस्कार गर्ने चेतावनी दिन्छन्। स्वतन्त्र युवा उनी कसैको पक्षमा खुलेनन्। चुनावका लागि चुनावसम्म मात्रै गरिने चुनावबाट सन्तुष्ट छैनन्, उनी।

त्यस्तै, आउँदो निर्वाचनमा नेकपा (एमाले) र सम्भावितः उम्मेदवार सूर्य थापाको पक्षमा खुलेका छन्, युवा मोहन पुन। उनी प्रतिनिधिसभा सदस्यमा सूर्य थापाको आवश्यकता देख्छन्।

‘प्युठानमा एमालेको संगठन राम्रो छ। एक्ला–एक्लै चुनाव लड्न नसक्ने भएपछि कांग्रेस, माओवादी र जनमोर्चाले गठबन्धन गरेका छन्। तर गठबन्नधभित्रै ठूलो चुनौती छ। प्युठानी जनताको आवश्यकता भनेको एमाले मात्रै हो,’ उनी थप्छन्।

प्रकाशित मिति: : 2022-08-17 21:10:00

प्रतिकृया दिनुहोस्