
सन्तोष न्यौपाने
केही समय अगाडि पत्रकार उमाकान्त पाण्डेलाई संयुक्त अरब इमिरेट्सको प्रहरीले पत्र काट्यो। पाण्डे प्रहरी कार्यालय पुगे तर बाहिर निस्कन सकेनन्। प्रहरीले उनलाई त्यही हिरासतमा लियो। लगभग तीन महिना उनी थुनामा परे। उनलाई जेल चलान गर्नुको कारण फेसबुकमा दूतावासविरुद्ध लेखिएको स्टाटस नै थियो। उनले लेखेको स्टाटसलाई लियर त्यहाँस्थित नेपाली दूतावासको कर्मचारीले उनीविरुद्ध प्रहरीमा उजुरी दिएका थिए।
उजुरीको आधारमा उनी कारवाहीमा परे। पछि नेपाल पत्रकार महासंघ, अन्तर्राष्ट्रिय पत्रकार महासंघको सहयोगमा उनको रिहाइ भयो। पत्रकार पाण्डे स्वयं राजदूत कृष्णप्रसाद ढकालले घुमाउरो बाटो प्रयोग गरेर आफूलाई जेल चलान गरेको बताए पनि राजदूत ढकालले नगरेको जिकिर गरे।
माथिको घटनाले विदेशस्थित नेपाली नियोगमा हुने क्रियाकलापलाई थोरै मात्रामा भएपनि प्रष्ट पारेको छ। आफूनिकट वा आफ्नो प्रशंसा गर्नेहरूलाई विशिष्ट दर्जामा राख्ने र विकृति, खराब पक्षलाई बाहिर ल्याउनेको विरुद्धमा राजदूतहरु लागिपर्नुले पक्का पनि राम्रो सन्देश दिँदैन। यदि पाण्डेले राजदूतलगायत दूतावासको निकट भएर उनीहरूको बढावा दिने समाचार वा स्टाटस लेखेका भए न उनी जेल पर्थे, न उनको विरोध नै हुन्थ्यो।
विशेष गरेर युरोपियन मुलुक तथा खाडी मुलुकमा हुने नेपाली दूतावास र त्यहाँ कार्यरत राजदूतहरुको चाकडी गर्ने प्रथा धेरै छ। केही समय अगाडि बेलायतको राजदूतलाई प्रमुख अतिथि नबनाएको भनेर सामाजिक सञ्जालमा विरोधका स्वरहरु देखिएका थिए, जसले राजदूतको चाकडी गरेको प्रष्ट हुन्थ्यो। यसरी ज्यू-ज्यू गर्नेहरूको आफ्नै स्वार्थ पनि हुन सक्दछ, जसले उनीहरूलाई सस्तो शक्ति प्रदर्शन तथा लोकप्रियतामाथि बढावा दिओस्।
अर्कोतर्फ कतिपय राजदूतहरु प्रशंसाका भोका पनि हुन्छन्। उनीहरू आफू नियुक्ति भएको देशमा रहेका नेपालीहरुसंग नजिकको सम्बन्ध राख्न रुचाउँछन्। यसरी सम्बन्ध स्थापित गर्दा सबै नेपाली बराबर हुन भन्दा पनि संस्थागत अध्यक्ष अलि आफूनिकटहरु उनीहरूको प्राथमिकतामा परेको देख्न सकिन्छ। जसले गर्दा राजदूतले सबैसंग गर्ने व्यवहार एउटै देखिँदैन भने उनीहरुको काम कर्तव्य के हो भन्नेमा व्यङ्ग गरेको देखिन्छ।
बेलायत निवासी लेखक सुरेन्द्र श्रेष्ठलाई मान्ने हो भने दूतावास भनेको देशको एउटा शक्ति केन्द्र हो। त्यसको वरिपरि वा नजिक हुने धेरैको इच्छा हुन्छ। सामाजिक काममा लागेका वा राजनीति गर्नेहरु वास्तविक समाज परिवर्तन गर्नतिर भन्दा आफ्नो परिचय फराकिलो गराउनेतिर नै उद्यत भएको देखिन्छ।
लेखक श्रेष्ठ देश छाडेर विदेश आउनेहरुमा पनि यो नेता बन्ने प्रवृत्ति झन् जबर्जस्त रूपमा रहेको तथा देशको प्रतिनिधि राजदूतसँगको सामिप्यताले आफ्नो सामाजिक बजन बढाउन सकिन्छ भनेर नै आफूहरू आवश्यकताभन्दा बढी नजिक हुने प्रचलन देखिने बताउँछन्।
यस विषयमा आफ्ना कुराहरु राख्दै श्रेष्ठ भन्छन्, ‘आफ्ना राजदूतहरु पनि कसलाई साथ लिए आफ्नो बसाइ अलि बढी प्रभावकारी हुन्छ भन्ने खोजीमा रहन्छन्। जसको सरकार उसको पार्टीको स्थानीय नेताहरुसंग नजिक हुन पाए नेपालबाट नेताहरूको हुने विदेश यात्रामा थप नजिक हुन पाइने र त्यो सम्पर्क पछिको लागि सहयोगी हुन सक्ने भएर पनि यस्तो हुने गरेको हो। मेरो विचारमा राजदूतहरुले सम्बन्धित देशको सरकार र जनतासँग सकेसम्म मजबुत सम्पर्क स्थापना गरी दुई देशबीचको सम्बन्धलाई बलियो बनाउनेतिर बढी ध्यान दिन आवश्यक छ। तर व्यवहारमा भने हामी नेपालीहरुकै संघसंस्था र कार्यक्रमहरुमा नै पुरै दूतावास वर्षभरि नै व्यस्त भएको देखिन्छ।’
राजदूतहरुको खर्च हेर्ने हो भने नेपालले राजदूत तथा कूटनैतिक नियोग सञ्चालन र कर्मचारीहरु पाल्ने अवस्था यतिखेर छैन। राजदूतावासले के-के काम गर्छ, यसको लेखाजोखा गर्ने निकाय नै अन्योल छ। राष्ट्रको ठुलो धनरासी त्यसै खेर गएको छ। अस्ट्रिया निवासी नेपालीहरुका अनुसार अष्ट्रियामा यसपटक दोस्रो कार्यकालको लागि राजदूत आएका छन्, ५ वर्षअघि राजदूतावास खोल्दा करोडौं खर्च भएको छ। त्यसको अडिट भएको छैन वा पारदर्शीता पनि छैन।
‘एकजना पत्रकारले खर्चको जानकारी माग्दा उल्टो धम्की पाएका थिए। त्योबेलामा भ्रष्ट्राचार मिलिभगत थियो भन्ने प्रष्ट बुझिएको छ। सायद नेपाल सरकारको परराष्ट्र नीति नै अव्यवस्थित छ अथवा राजदूतावासको कार्यव्यवस्थापन व्यवस्थित गर्ने नीति नै छैन। यो देशमा मात्रै होइन, संसारभर नै विभिन्न संघसंस्थाको कार्यक्रममा अतिथि भएर राजदूतको कार्यकाल बित्ने गरेको छ’, अस्ट्रिया निवासी एक नेपालीले प्रष्ट पारे।
विगतमा पनि युरोपियन बेल्जियम, फ्रान्सलगायत देशहरूमा नियुक्ति भएका राजदूतहरुसंग नेपाली तथा यहाँ कार्यरत नेपाली पत्रकारहरुको सम्बन्ध त्यति राम्रो थियन। फ्रान्सका लागि नेपाली पूर्वराजदूत मोहन कृष्ण श्रेष्ठ, बेल्जियमका लागि पूर्वराजदूत राममणि पोखरेललगायतको क्रियाकलापको विरोध गरेर कलममार्फत बाहिर ल्याउनु नै प्रमुख कारण थियो। दुवैको कार्यकाल सहज तरिकाले गएन। राजनैतिक नियुक्ति पाएर गएका राजदूतहरु अधिकांश देशहरुमा विभिन्न कारणबाट विवादित देखिन्छन् भने मन्त्रालयबाट नियुक्ति हुनेहरू पनि कतै न कतै चिप्लिन खोजेको उनीहरूका क्रियाकलापले प्रष्ट देखाउँछ।
‘विदेशमा राजदूतावास भनेको देशको प्रतिनिधित्व गर्ने संस्था हो र राजदूत त्यसको नेतृत्वकर्ता। त्यसको अर्थ शक्तिका हिसाबले तत् देशको नेपाली समुदायमाझ दूतावास र राजदूत प्रभावशाली हुने नै भयो। शक्तिको पूजा नेपालीहरुका लागि नौलो कुरा होइन’, नेपाल पत्रकार महासंघ बेलायत शाखाका पूर्वअध्यक्ष नरेश खपाङ्गी मगर भन्छन्, ‘पत्रकारहरु पनि समाजका एक सदस्य भएकाले शक्तिको नजिक हुन खोजेका होलान्। तर पेशागत मर्यादा र मर्यादा बुझेको पत्रकारले कसैको नजिक बन्न चाकडी पनि गर्न जरुरी छैन र कसैसित कित्ताकाट नै गर्नेगरी सम्बन्ध बिगार्न पनि आवश्यक छैन। पत्रकारिताको पेशागत ज्ञान नभएका वा पत्रकारितालाई आवरण बनाएर अरु उद्देश्य पुरा गर्न खोज्नेहरुले यस्ता कार्य गर्न सक्छन्।’
त्यस्तै गरेर डेनमार्क निवासी पत्रकार महेश खाती सबै पत्रकारले राजदूतहरुको चाकडी नगर्ने बताउँछन्। उनले यसबारेमा आफ्नो विचार राख्दै भन्छन्, ‘केही खराब हुन सक्छन्। यदि कसैले फाइदाका लागि त्यसरी गरेको छ भने त्यो गलत हो। झन पत्रकार त अरुभन्दा फरक हुनुपर्छ। परदेशमा राजदूतहरु नेपाल सरकारको आधिकारिक र एक शक्तिकेन्द्र भएकाले आफूलाई फाइदा वा कुनै प्रकारको सहयोगको लागि कसैले चाकडी गर्न सक्छन्, त्यो कुनै पनि हिसाबले ठिक हैन।’
विभिन्न देशहरूमा रहेका नेपाली कूटनैतिक नियोगमार्फत देशको लागि के कति प्रगति भएका छन् भन्ने कुरा विभिन्न समाचारमार्फत सबैलाई थाहा हुँदै आएको हो। तर राम्रो तलब खाएर राजदूतलगायत कर्मचारीहरुको नेपालीसंग सम्बन्ध, उनीहरूले दिने सेवा सुविधा, काम कस्तो चलिरहेको छ भन्ने लेखाजोखा नेपाल सरकारकै हो। यसको नियमन गर्ने गरेको भने पाइँदैन।
नेपाल परराष्ट्र मन्त्रालयमा कार्यरत पूर्व राजदूतका अनुसार कतिपय देशहरूमा राजदूत आफूलाई सर्वोपरि ठान्ने हुँदा पनि समस्या रहिआएको छ।सही व्यवहार भएको कर्मचारी पनि परिवर्तन भएर विवादित भएको आफूहरुले देखेको उनको राय छ।
नाम नलेख्ने सर्तमा उनी भन्छन्, ‘राजदूतहरु जुन कामका लागि देशले खटाएको छ सोहीअनुरूप कूटनैतिक रूपमा अगाडि बढ्नु पर्दछ। नातावाद, कृपावाद अथवा जुनसुकै पक्षबाट आफूलाई जोगाएर लैजान सके उत्तम हुनेछ। नेपाली कार्यक्रममा अधिकांश समय उपस्थित जनाउनुभन्दा पनि देशको हितको लागि कार्य गर्न ध्यान दिन जरुरी छ।’
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
इतिहासमा भदौ ९- भक्तपुर काण्ड (कालो दिवस)
‘फादर्स डे’, विडम्बनाको उत्सव
कांग्रेसभित्र महाभारतका पात्रः को दुर्योधन, को अर्जुन?
हामी नेपाली सोझा कि मूर्ख?
कहाँ पुर्याउला जनार्दन?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया