हाइपर फन्डमा नेपालीको मिलियन डलर गुम्ने खतरा

BreaknLinks
BreaknLinks

क्रिप्टोकरेन्सीमा आधारित नेटवर्किङ व्यवसाय हाइपर फन्डमा युरोपलगायतका देशबाट धेरै नेपालीहरुले ठुलो रकम गुमाउने जोखिम बढेको छ। ३ सय डलरदेखि ६० हजार डलरसम्म लगानी गरेका उनीहरुले उक्त रकम गुमाउने अवस्था आएको हो। यसका सुरुवातकर्तामध्येका एक तथा एनआरएन युरोपका उप-संयोजक ललितकुमार न्यौपाने अहिले युरोपेली सम्मेलनमा स्विडेन छन्।

दुई वर्ष अगाडिबाट सुरु भएको यो व्यवसाय बेलायत, पोर्चुगल, फिनल्याण्ड हुँदै इजरायललगायत खाडी मुलुकका नेपालीसमक्ष फैलियो। हरेक दिन जुममा अनलाइन बैठक राखियो। बैठकमा हाइपर फन्डबारे जानकारी दिने गरिएको थियो।

सुरुवाती दिनहरूमा बेलायत निवासी एनआरएन युरोप उप-संयोजक न्यौपाने र पोर्चुगल निवासी रोशन पोख्रेलले अनलाइन बैठकमा नयाँ आगन्तुकहरुलाई यसबारे बताउँथे। उनीहरू स्वयंले यसमा लगानी गरिसकेका थिए।

हाइपर फन्डबाट बीस महिनामा तीन गुणा रकम आउने भएपछि युरोपलगायतका देशहरूबाट लगानी गर्न नेपालीहरु लोभिए। पिरामिड आकारमा आफूसँगै अरु बनाउँदा कमिसन पनि पाइने भएपछि विस्तारै बेलायतदेखि सुरु भएको यो लहरो नेपाली बस्ने अधिकांश देशहरूमा पुग्यो। पछि नेपाल प्रहरीले यसलाई पूर्ण अवैधानिक भनेर बन्द गराइदियो भने डिजिटल मुद्राको कारोबारमा केहीलाई पक्राउ पनि गर्यो।

हाइपर फन्डको मुख्य कार्यालयमा मुख्य लगानीकर्ताबीच फाटो आएपछि यो नेटवर्क पुरै तितरबितर बन्यो। हाइपर फन्डबाट हाइपर भर्समा परिणत भयो। नेपालीलगायत अन्य देशका साना तथा ठूला लगानीकर्ताले आफ्नो हाइपर खातामा जम्मा भएको रकम निकाल्न पाएनन्। कम्पनीभित्रको फाटोले लगानी गर्न सकिने तर फाइदा निकाल्न नसकिने गराइदियो। जसको कारण अहिले हजारौं नेपालीको मिलियन डलर गुमे जस्तै भएको छ।

'अहिले कम्पनीले अल्मल्याइ राखेको छ। यो कम्पनी बजारबाट पूर्ण रूपमा बन्द हुन गाह्राे छ तर यसका क्रियाकालाप निकै शंकास्पद पनि देखिन्छन्। सुरुका अठार महिना राम्रै गरेको थियो', बेलायत निवासी कृष्ण बगाले भन्छन्, 'नेपाली समुदायलाई बेलैमा सचेत नगराउनु टीम लिडरहरुको प्रमुख कमजोरी देखिन्छ। नेपालीहरुले मिलियन डलर लगानी गरेका छन्। कम्पनी डुब्यो भने सबै गुमाउँछन्। अहिल्यै डुब्छ भनेर भन्न सकिने अवस्था पनि छैन।'

त्यस्तै गरेर बेल्जियम निवासी गोविन्द भट्टले आफूले तीस हजार डलर लगानी गरेकोमा तीन हजार उठ्न बाँकी रहेको बताए। 'यसका धेरै लिडर एन अार एन मा हुनुहुन्छ। यो युरोपेली सम्मेलनमा पनि जानु भयको छ।त्यहाँ कुरा उठाउनु पर्दछ र रकम गुमाउनेहरुलाई कुनै सल्लाह सुझाव दिन एउटा मार्ग तय गर्नु पर्दछ', भट्टले प्रष्ट पारे।

यसबारेमा सुरुवातकर्ता तथा लिडर ललितकुमार न्यौपानेसंग सम्पर्क गर्दा न्यौपानेले केही समयमा कम्पनीले लगानीकर्ताहरुको लगानी फिर्ता गरिदिने कुरा भएको जानकारी दिए। उनका अनुसार स्वीडेनमा हुन गइरहेको एनआएनए युरोपेली सम्मेलनमा यसबारे कुनै बहस हुँदैन।

'लिडरहरुलाई नै केही थाहा छैन, मुख्य कार्यालयमा के हुँदैछ भनेर। कमसेकम यिनीहरूले पहिल्यै सचेत गराइदिएको भए यसरी नेपालीको रकम अलपत्र पर्ने थिएन। अर्कोतर्फ पीडितहरुले कसैलाई आरोप लगाउने ठाउँ पनि छैन, उनीहरूले आफ्नो खुसीले लगानी गरेका हुन्। तर सुरुमा लगानी गर्दा जस्तो अहिले लिडरहरु सम्पर्कमा नआउँदा फरक सन्देश गएको मात्रै हो', नाम उल्लेख नगर्ने सर्तमा एक लगानीकर्ताले बताए।

लिडरहरुले यो क्रिप्टोसहितको नेटवर्किङ व्यवसायको बारेमा दिएको जानकारीअनुसार नेपालीहरूले आफूखुसी गरेको लगानी भोलिका दिनमा कम्पनीले फिर्ता गरेन भने उनीहरूको लाखौं मिलियन डलर गुम्ने छ। गुमेको खण्डमा 'लोभले लाभ, लाभले विलाप' को अवस्था नआउला भन्न सकिँदैन। जसमा सानो रकमदेखि ठुलै रकम लगानी गर्नेहरू रहने देखिन्छन्।

प्रकाशित मिति: : 2022-09-23 21:00:00

प्रतिकृया दिनुहोस्