विकासका लागि पार्टीभन्दा जनताको प्रतिनिधिको खाँचो छ : योगेन्द्र मण्डल (अन्तर्वार्ता)

BreaknLinks
BreaknLinks

लामो समयदेखि एमालेको राजनीतिमा लाटगेका योगेन्द्र मण्डल ‘जोगी’ प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएर चुनावी मैदानमा छन्। मोरङ क्षेत्र नम्बर ५ मा एमालेबाट टिकट पाउने आश्वासन पाएपछि पार्टीबाटै उम्मेदवार बन्ने तयारीमा रहेका मण्डलले अन्तिम समयमा टिकट पाएनन्।

एमालेले जसपासँग चुनावी तालमेल गरेपछि यो क्षेत्र एमालेले जनता समाजवादी पार्टी (जसपा) लाई छाडेको छ। त्यसो त मण्डलको चर्चा राजनीतिभन्दा बढी समाजसेवाका आधारमा हुने गरेको छ। उनीसँग २५ वर्षभन्दा बढी सामाजिक काम गरेको अनुभव छ। उनी जीवन विकास समाजका संस्थापक अध्यक्षसमेत हुन्।

बेरोजगार युवाहरुलाई लक्षित गर्दै ‘एक घर एक रोजगार’ र ‘एक गाउँ एक उद्योग’ नीति लिएर चुनावी अभियानमा होमिएका मण्डलले दलका उम्मेदवारलाई चुनौती दिँदै छन्। मण्डल यतिबेला चुनावी अभियानमा व्यस्त छन्। पार्टी छाडेर स्वतन्त्र उम्मेदवार बनेका मण्डलसँग बिएल नेपाली सेवाले गरेको कुराकानीको सम्पादित अंश :

पार्टीले अन्तिम समयमा टिकट दिएन, तपाईंलाई पार्टीले नपत्याएको हो?

मलाई पार्टीले टिकट नदिएको हो जस्तो लाग्दैन्। कुनै व्यक्तिका कारणले टिकट नपाएको हो। पार्टीले तल्लोस्तरका कार्यकर्ताको भावनाविपरीत तालमेल गरेको छ। जुन कुरा मतदाताले स्वीकार गर्न सक्दैनन्। दलहरुले जनताको विषयलाई प्राथामिकता दिनुपर्ने बाटोबाट अलग भएको अवस्था छ। 

तपाईंको उम्मेदवारी किन?

५ नम्बर क्षेत्र अरुभन्दा पछाडि परेको क्षेत्र हो। यहाँका अधिकांश मानिसहरु कृषि पेशामा आश्रित छन्। हामीले पनि एउटा मतदाताका रुपमा भोट दिँदा हामीले जहिल्यै कामना गर्ने गर्थ्याे कि यो उम्मेदवारले हाम्रो लागि काम गर्छ, परिवर्तन गर्छ, विकास गर्छ भन्ने कुरा कुर्दाकुर्दा पनि त्यो कुरा पाएनौँ। विगत दुई वर्षदेखि यो क्षेत्रको परिवर्तनका लागि आम मानिसले मलाई घचघचाई राखेपछि  मैले स्वतन्त्ररुपमा उम्मेदवारी दिए।

साथीभाइ सबैको आग्रहमा तपाईं पनि उठ्नुपर्छ भनेर झकझकाइ रहने गरेपछि स्वतन्त्र उम्मेदवारी दिएको छु। म आवद्ध पार्टीले कुनै दलसँग तालमेलल गरेपछि आम कार्यकर्ताको भावनाविपरीत भएको छ। त्यो हामीलाई स्वीकार्य भएन।

स्वतन्त्र उम्मेदवारी नै किन?

देशभर यतिबेला स्वतन्त्र उम्मेदवारको माहोल छ। लहर चलेको हामीले देखिरहेका छौँ। पार्टीका जनप्रतिनिधिभन्दा स्वतन्त्रहरुले अघि बढी काम गरेको पनि देखियो। जस्तै धरान र काठमाडौँका प्रमुखहरुले गरेको काम सम्मानजनक छ। उनीहरुले राम्रो काम गरिरहेका छन्। धरानमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएको केही समयमै खानेपानी आएको छ। योभन्दा अगाडि विभिन्न दलका प्रतिनिधि हुँदा यो काम सम्भव भएको थिएन।

आम नागरिकलाई यतिबेला यस्तै काम गर्ने प्रतिनिधिको खाँचो छ। जनताका लागि काम गर्ने नेताको आवश्यक रहेको छ। विकासको लागि पार्टीभन्दा पनि जनताको प्रतिनिधिको खाँचो छ भन्ने कुरा मैले महशुस गरेको छु। त्यसैले मेरो उम्मेदवारी चाहिँ जनताको लागि हो।

तपाईंको मुख्य एजेण्डा के हो?

२५ वर्षदेखि मैले यही ठाउँमा समाजसेवा गरिरहेको छु। यहाँका जनतासँग निरन्तर घुलमिल भइरहेको छु। यो अवधिमा हामीले एउटा प्रष्ट भिजन तयार पारेका छौँ। यो क्षेत्रको आवश्यकता, समस्या मैले बुझेको छु। हामीले ‘गरिबीरहित नेपाल’ को परिकल्पना गरेका छौँ। यो राजनीतिसँग पनि जोडिएको छ। नेपालको नीतिसँग जोडिएको छ। हाम्रो ५ नम्बर क्षेत्रलाई दृष्टिगत गर्दाखेरी अरु क्षेत्रभन्दा फरक समस्याहरु छन्। आवश्यकहरु छन्।

भोलि यहाँका जनताले मलाई जिताएर पठाउँदै गर्दा नगरी नहुने कामहरु धेरै छन्। त्यसलाई हामीले वर्गीकरण गरेका छौँ। तीमध्ये हाम्रो क्षेत्रमा बेरोजगारीको समस्या धेरै छ। त्यसलाई हल गर्न अथवा बेरोजगार युवाहरुलाई लक्षित गर्दै ‘एक घर एक रोजगारी’ र ‘एक गाउँ एक उद्योग’ को नीति हामीले निर्माण गरेका छौँ।

हाम्रो क्षेत्र कृषिमा आश्रित छ। त्यसैले कृषिलाई पनि प्राथमिकतामा राखेका छौँ। हामीसँग प्रशस्त जग्गाहरु छन्, त्यसलाई सदुपयोग गरेर हामीले आम्दानीको स्रोत बढाउन सक्छौँ। स्वास्थ्य, शिक्षा र घर नभएकाहरुलाई घर बनाउने हाम्रो एजेण्डा छ। सुकुम्बासी समस्या हल गर्न हामी लागिपर्ने छौँ।

तपाईंले चुनाव जित्ने आधार के हो?

पहिलो कुरा त म यही क्षेत्रमा बसी-हुर्की गरेको मान्छे हो। यहाँका सबै नागरिकसँग म परिचत छु। हरेक सुख-दुखमा साथ दिँदै आएको पनि छु। २५ वर्षदेखि अनवरतरुपमा यही क्षेत्रमा समावसेवा गरिरहेको छु। म यो क्षेत्रमा भएका समस्या पूर्ति गर्न लागिरहेको छु।

अहिलेसम्म यो क्षेत्रबाट कति जनाले चुनाव जितेर गए। कति नेता आए। तर, कति जनालाई रोजगारी प्रदान गरे भन्ने कुराको उहाँहरुसँग उत्तर नै छैन? यसको जवाफ दिन उहाँहरु सक्नुहुन्न। तर, म के ग्यारेन्टी गर्छु भने मैले प्रत्यक्षरुपमा दुई हजार जनालाई प्रत्यक्ष रोजगारी दिएको छु। म रोजगारी सिर्जना गर्न सक्छु।

कृषिको विकास हुनुपर्छ भन्ने मेराे भनाइ हो। यहाँका अधिकांश मानिसहरुको जीवन कृषिले धानेको पनि छ। कृषिलाई आधुनिकरण गर्नुपर्छ। जस्तो कि अहिले देशमा मलको हाहाकार छ। सरकारले किसानलाई समयमा मल उपलब्ध गराउन सकिरहेको अवस्था छैन। यो कुरा हाम्रो देशका ठुला-ठुला नेताहरुले सोच्नुपर्ने हो।

मैले चाहिँ यो कुरालाई मध्यनजर गर्दै राजनीतिमा आउनुभन्दा अगाडि नै अर्गानिक मलको लागि मैले बायो मलको कारखाना सुरु गरेको छु। त्यो परीक्षण कालमा छ। स्वास्थको समस्या हल गर्न ३०० बेडको अस्पताल निर्माण गरिरहेका छौँ। ५ नम्बर क्षेत्रमा मैले मेरा प्रतिस्पर्धीहरुले जस्तो गफ मात्र लगाइरहेको छैन। मैले काम गरिरहेको छु। काम गर्ने मान्छेलाई जनताले रोज्छन् भन्ने मेरो विश्वास छ। म काम गर्ने प्रतिनिधि भएकाले मेरो जित्ने आधार धेरै छन। पदमा नपुग्दा त यति धेरै काम गरिरहेको छु, त्यहाँ पुगे हाे भने अझ बढी सशक्त भएर जनताको काममा लाग्नेछु।

प्रतिस्पर्धीलाई तपाईंले कसरी हेर्नु भएको छ?

यसपालि जनताले राम्रो मान्छेलाई जिताउने छन्। म अरु केही भन्दिनँ।

प्रकाशित मिति: : 2022-10-25 12:34:00

प्रतिकृया दिनुहोस्