ध्रुब बस्याल
देशभरबाट काम खोज्दै उपत्यका भित्रिएका हजाराैँ मजदूरहरू भक्तपुरमा थुप्रिएका छन्। उनीहरू विभिन्न उद्योगधन्दामा काम गरिरहेका छन्। भक्तपुरकै श्री सरस्वती इट्टा उद्योगमा काम गरिरहेका मजदूरहरूलाई सँघारमा आइपुगेको आम निर्वाचनबारे खासै चासो छैन। उनीहरू सहरदेखि गाउँसम्मको चुनावी तामझाम भुल्न बाध्य छन्।
देश चुनावमय छ। विभिन्न रानीतिक पार्टी तथा स्वतन्त्र उम्मेदवार गाउँगाउँमा भोट माग्दै गइरहेका छन्। तर ती उम्मेदवारहरूलाई भने इट्टा उद्योगमा काम गरिरहेका मजदूरबारे कुनै अत्तोपत्तो छैन। मजदूरहरूका भने आ–आफ्नै कहानी छन्। चुनावकाे वास्तै छैन, मात्र आफ्नाे गुजाराको लागि निरन्तर काम गरिरहन्छन्।
झुत्रो कपडा लगाएर दिनभरि इट्टा बनाउने माटो खन्छन्। माटो पोलेर इट्टा बनाउँछन्। घाममा सुकाउँछन्। लगतै, टाउकोमा एउटा रुमाल र नाम्लो राख्छन्। अनि इट्टाको भारी काँधमा बोक्छन्। त्यसो त उपत्यकाभित्र काम गर्ने इट्टा मजदूरहरूको दैनिकी यसैगरी बितिरहेको हुन्छ।
७७ वटै जिल्लाका कैयौँ श्रमिकहरू भक्तपुरमा भेटिन्छन्। पसिनाले निथ्रुक्क भिजेका उनीहरू दिनैभरि काममा खट्छन्। इट्टा बोकिरहेका मजदूरहरू एकछिन बोल्नसमेत फुर्सद पाउँदैनन्। अनुहारमा मुस्कान हुँदैन। परिवारको जिम्मेवारी हुन्छ। थकान हुन्छ। दैनिकी धान्ने सपना हुन्छ।
वृद्धदेखि स–साना बालबालिकासम्म भट्टा छेउमा इट्टा ओसारिरहेका भेटिन्छन्। आफ्नो पढाइ छोडेर बा–आमासँगै त्यहाँ पुगेका उनीहरू एकैचेटीमा बीसवटा इट्टा बोक्छन्, बा–आमालाई सघाउँछन्। आफूले कमाएको पैसाले आफ्नो गुजारा चलाउँछन्।
साेही इट्टा भट्टामा काम गर्ने रोल्पाको गजुल घर बताउने बमबहादुर रोकाले हालसम्म मतदान गरेका छैनन्। उनलाई चुनावको कुनै चासो हुँदैन्थ्यो। तर यसपलि उनी भोट हाल्नकै लागि रोल्पा जाने बताउँछन्।
‘मैले अहिलेसम्म भोट गरेको छैन। तर यसपालि घर जान्छु। मेरो साहु रोल्पाबाट उठ्नुभएको छ। उहाँलाई भोट दिने हो,’ इट्टाभट्टामा काम गरिरहेका बमबहादुरले भने, ‘नातीभाइ सर मादल चुनाव चिन्ह लिएर रोल्पाबाट उठ्नुभएको छ।’
अन्य मजदूरहरू भने मतदान गर्न जाने कि नजाने भन्नेबारे अन्यौलमै छन्। उनीहरू भन्छन्, ‘भोट हालेर के हुन्छ र? हामीले पटकपटक मत हालेर जिताएर पठाएपनि काम भने शून्य छ। हाम्रो पीडा जस्ताको त्यस्तै छ।’ त्यसकारण पनि होला निर्वाचनप्रति खासै चासो राख्दैनन्, मजदूर।
‘अघिल्लोपटक भोट हाल्न रोल्पा गएको थिएँ। वर्षमान पुनलाई भोट गरेँ। तरपनि म आजसम्म यतै छु। मैले भोट गरेको नेता पटकपटक मन्त्री बने। एकपटक यहाँसम्म आएका छैनन्,’ इट्टा बोकिरहेका एक मजदूर भन्छन्। उनी माओवादीलाई भोट हाल्ने मध्ये एक हुन्। पटकपटक मतदान गरेका छन्। तर अहिले उनी वाक्कै भएका छन्।
मतदाता झुक्काउन उम्मेदवारहरूले जहिल्यै गाउँमै रोजगारी, शिक्षा, स्वास्थ्य र कैयाैँ विकासका योजनाहरू देखाउँछन्। तर, कार्यनव्यन भने कहिल्यै भएको देखिँदैन।
रोल्पाको विकट स्थानमा घर बताउने ३४ वर्षीय राजेश परियार आफू माओवादी समर्थक भएको बताउँछन्। तर उपमहासचिव वर्षमान पुनप्रति हाल सन्तुष्ट देखिँदैनन्, उनी।
‘यसपटक पनि गाउँमा भोट हाल्न जान्छु। योभन्दा पहिले माओवादीलाई मतदान गरेका हौँ,’ राजेशले भने, ‘अब भने गाउँ पुगेर साथीसँग सल्लाह गर्नुपर्छ। पहिले धेरै आशा गरेर वर्षमानलाई भोट हालेर जिताइयो तर हामीलाई केही भएन। हाम्रो दुःख यस्तै हो।’
०००
अर्का मजदूर अजय मगर पनि भोट हाल्ने/नहाल्ने अन्योलमा रहेको बताउँछन्। उनले भने, ‘खै के भोट हाल्नु, हाम्रो दुख यस्तै हो। कसलाई भोट हाल्ने भन्ने अहिलेसम्म ठेगान छैन। योभन्दा पहिले माओवादीलाई भोट हालियो, तर बेरोजगारका कारण इट्टा बोक्न आउनुपर्यो। हाम्रो लागि केही नगर्नेहरुलाई के भोट हाल्नु र। भोट हाले पनि फेरि उस्तै हो, के आशा गर्नु र। अब सोच्नु पर्ला।’
त्यसैगरी रोल्पा घर बताउने हरिबहादुर चलाउने भने भोट हाल्न गाउँ जाने बताउँछन्। तर पुरानो पार्टीले धोका दिएकाले अब नयाँ पार्टीलाई भोट हाल्ने उनले बताए। उनी भन्छन्, ‘पुराना पार्टीहरुले धोका मात्र दिए। गाउँमा विकासको नाममा कुनै काम भएको छैन। गाउँ जान्छु होला तर पुरानो पार्टीलाई कदपी भोट हालिँदैन। नयाँलाई भोट हालेर जिताउने हो।’
यो पटक आम नागरिकहरू पहिला भाेट हालेका नेताहरु देखेर निराश छन्। निर्वाचन जनता झुक्याउने खेल मात्रै भएकाे बताइरहेका छन्। पटक–पटक निर्वाचन भयो, सत्ता फेरियो, नेताहरुको जीवन फेरियो तर जनताको अवस्था नफेरिएकाे उनीहरूकाे गुनासाे छ।
रोल्पाबाट पटकपटक निर्वाचन जितेका वर्षमान पुनलगायत अरू दुई गरी जम्मा तीनजना उम्मेदवार छन्। प्रमुख प्रतिपक्षी दल एमालेका पूर्णबहादुर बुढा र नेपाल मजदुर किसान पार्टीका (नेमकिपा) का नातीभाइ ह्योम्बा पनि रोल्पाका उम्मेदवार हुन्।

सुन्दरीजलमा सुरक्षित बीपीका सम्झना (फोटो फिचर)
कर्नालीका सुइना के साँच्चै ‘हाम्मा सुइना’ हुन्?
सभापतिमा जिते पार्टी पुनः आफ्नो कब्जामा
नियुक्ति लिएको २ साता नबित्दै मुक्तिनाथ विकास बैंकका सीईओको पद धरापमा
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया