सोविताको संसदीय यात्रा, जसले पूर्वसभामुख हराइन्

पत्रकारिता र कानूनको पृष्ठभूमि भएकी सोविता गौतम काठमाडौँ–२ बाट प्रतिनिधिसभा सदस्यमा नयाँ अनुहारका रूपमा सङ्घीय संसद्मा प्रवेश गर्दै छिन्।

लामो राजनीतिक पृष्ठभूमि भएका आफ्ना ठूला कदका प्रतिस्पर्धीलाई पछि पारेर स्थायी घर दोखलाको जफे भई हाल भक्तपुर बस्ने २७ वर्षीया गौतम यस पटकको निर्वाचनबाट संसदीय यात्रामा प्रवेश गर्नु लागेकी हुन्।

केही समयअघि मात्रै गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट राजधानी काठमाडौँकै निर्वाचन क्षेत्रबाट पहिलो प्रयासमा नै उनी प्रतिनिधिसभा सदस्य बनेकी हुन्।

गौतमले यो निर्वाचनमा पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार ओनसरी घर्तीमगरलाई फराकिलो मतान्तरले पराजित गरेकी छन्।

नवनिर्वाचित प्रतिनिधिसभा सदस्य गौतमले नागरिकको आधारभूत आवश्यकता पूरा गर्दै भ्रष्टाचार न्यूनीकरण गर्न आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाइन्। विजयपछि मतदातालाई धन्यवाद दिँदै उनले निर्वाचनका दौरानमा उठाएका जनताको मुद्दालाई सदनमा निरन्तर झकझक्याइरहने विश्वास व्यक्त गरिन्।

एक प्रश्नको जवाफमा गौतमले संवैधानिक समाजवादलाई स्वीकार्दै विद्यमान प्रदेशसभा अलि भद्दा भएकाले पार्टीले प्रदेशसभामा उम्मेदवार नउठाएको प्रतिक्रिया दिइन्।

प्रकाशित मिति: : 2022-11-23 19:50:00

प्रतिकृया दिनुहोस्