डोल्पामा एमाले र माओवादी कार्यकर्ताबीच झडप, ९ जना घाइते

डोल्पाको जगदुल्ला गाउँपालिकामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप हुँदा नौ जना घाइते भएका छन्।

गाउँपालिकाको वडा नं ३ मा पर्ने थापा गाउँमा झडप हुँदा दुवै पक्षका गरेर नौ जना घाइते भएका हुन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार गएराति नौ बजेको समयमा झडप भएको र झडपमा परी एमालेका चार र माओवादीका पाँच जना घाइते भएका छन्।

घटना हिजोको भएपनि सोमबार बिहानमात्रै जानकारी आएको कार्यालयले जनाएको छ।

घाइते हुनेमा वडा नं ३ बस्ने एमाले समर्थक जग वर्ष ४२ का कन जालपा बोहोरा, वर्ष ३८ का भद्र बोहोरा, वर्ष १२ का कृष्णजंग बोहोरा, वर्ष ५० की शान्ता बोहोरा र माओवादी समर्थक सोही वडाकै वर्ष ५९ का बिर्ख बोहोरा, वर्ष १८ का लक्ष्मण बोहोरा, वर्ष ५४ का गोरसिंह बोहोरा, वर्ष २६ का पबिन्द्र बोहोरा र वर्ष का २१ जगत बोहोरा रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक निरञ्जन थापाले जानकारी दिए।

माधक पदार्थ सेवन गरेर झडप भएको र एमाले समर्थक चार जनालाई हेलिकप्टर चार्टर गरेर उपचारका लागि काठमाडौँ लगिएको उनले बताए।

त्यसैगरी माओवादी समर्थक पाँच जना सामान्य घाइते भएकाले स्थानीय स्वास्थ्य चौकी उपचारपछि घर फर्किएको उनले जानकारी दिए। उपचारका लागि काठमाडौँ लगिएका चार जनाको स्वास्थ अवस्था मध्यम रहेको बताइएको छ।

सामान्य कुरामा विवादपछि दोहोरो झडप हुँदा हात हालाहाल भएको र एक पक्षले अर्को पक्षलाई ढुङगा प्रहार गरी घाइते बनाएको पीडितले जनाएका छन्। घाइते अधिकांशको टाउकोमा चोट लागेको बिरामी कुरुवा विजय बोहोराले जानकारी दिए।

प्रकाशित मिति: : 2022-12-12 16:57:00

प्रतिकृया दिनुहोस्