सोमबार, १५ सेप्टेम्बर २०२५

परदेशबाट सम्मानीय राष्ट्रपतिज्यूलाई बिन्तीपत्र

News Image
• • •

सम्मानीय राष्ट्रपति विद्या भण्डारीज्यू,

नमस्ते। हजुरको गाथमा आरामै होला भन्ने कामना गर्दछु र म हजुरको रैती सार्वजनिक मञ्चमा हजुरलाई पत्र लेख्ने दुस्साहस गर्दछु। आशा छ हजुरले एउटा बुद्धिहीन मुर्ख रैती हो भनेर मलाई माफी गरिदिनुहुनेछ। निकटबाट हजुरलाई भेट्ने र देख्ने सुवर्ण मौका हालसम्म नपाए पनि हजुरको विशाल हृदयको परिचय मैले पाएको छु। महत्वपूर्ण विषयमा चुप बस्ने र हजुरको पुरानो पार्टीको नेता तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई अफ्ठ्यारो पर्दा मुखबाट अमृत वर्षेको जस्तो सारगर्भित टिप्पणी सुन्दै र पढ्दै आएको हो र हजुरको मिश्री घोलिएको जस्तो स्वर सुन्न पाउनु हामी करिब तीन करोड नेपालीको अहोभाग्य हो।

राष्ट्रपतिको पदमा आसिन भएपछि प्राय: हरेक दिन हुने हजुरको सवारीले महाराजगञ्ज र त्यस आसपासका क्षेत्रका बासिन्दाहरुलाई दिएको आनन्दको बारेमा बोलेन भने आन्याय हुन्छ। हजुरको मुहार देख्न पाउँदा सबैले आ–आफ्नो जीवन सफल भएको ठान्नुपर्छ, किनकी हजुर भनेको हरेक नेपालीको अभिभावक हो, भलै त्यो कुरा नियममा मात्र किन लागु नहोस्। कुराले देश जति लोकतान्त्रिक भए पनि सामाजिक सञ्जालमा हजुरको अलिकति पनि आलोचना भयो भने त्यो व्यक्तिले जेलको बास बस्नुपर्छ। पूर्व प्रधानमन्त्री ओलीलाई पनि हजुरलाई कसैले केही भनेको पटक्कै मन पर्दैन भन्ने सुनेको छु, त्यो कति सत्य हो समयक्रमले थाहा हुँदै जानेछ। हजुरहरुकै एक जमानाका सहकर्मी राधाकृष्ण मैनालीकाअनुसार हजुर हाँस्याे भने कमरेड ओलीलाई पनि हाँस्न मन लाग्छ र हजुरको मुख अलिकति भए पनि अँध्यारो भयो भने उनलाई पनि रिस उठछ। जिन्दगीमा एउटा मात्र भए पनि त्यस्तो आत्मैदेखि स्नेह गर्ने मान्छे पाउनु ठुलो कुरा हो, जो सबैको भाग्यमा हुँदैन।

हालै हजुरको सवारीमा ‘डिस्टर्ब’ गरेको कारण एक डाक्टरले पिटाइ खाएछन। हजुरको सवारी चलेको थाहा हुँदा पनि एकछिन कुरेर बस्न नसक्ने ती मुर्खहरुलाई नकुटे कसलाई कुट्ने ? त्यस्तो घटना हुँदा पनि हजुरले एक अन्तर्वार्तामा म हिँडेको समयमा अरु किन हिँड्नेजस्तो आसयको कुरा गरेर हजुरसँग कुनै प्रकारको लाजसरम छैन भन्ने प्रमाणित गरिबक्सेको छ, त्यो अमृतवाणी श्रवण गर्न पाउनु मलगायत सबै नेपालीको अहोभाग्य हो।

हजुर राष्ट्रपति भएर शितल निवासमा विराजमान हुने बितिकै हजुरलाई नजिकै रहेको प्रहरी तालिम केन्द्र हटाउने इच्छा भयो। कुरा ठिकै हो हजुरजस्तो देशको सर्वाेच्च व्यक्ति सुकला भएको समय कतैबाट पनि छिसिक्क आवाज आउनु उचित होइन। पंक्तिकारको विचारमा पनि हजुरको हरेक इच्छाको ध्यान राख्नु देशको कर्तव्य हो। प्रहरी तालिम केन्द्रको पूर्वाधार तयार पार्न देशले जे जति लगानी गरेको छ, त्यो भनेको हजुरको आरामको अगाडि कुनै मूल्य राख्दैन, किनकी कुनै पनि वस्तु हजुरको आरामको अगाडि तुच्छ हुन। देशलेजे जति लगानी गरे पनि र त्यो सरकारी सम्पत्ति बालुवामा पानी हालेसरह भए पनि त्यसमा कसैले चुँइक्क बोल्न हुँदैन र कसैले बोले त्यसलाई नेल हथकडी ठोक्नुपर्छ भन्ने विचारमा मेरो पनि पूर्ण समर्थन छ।

संविधान दिवस, प्रजातन्त्र दिवसजस्ता राष्ट्रिय पर्वको अवसर पारेर विभिन्न अपराध गरेर जेल सजाय काटिरहेका कैदीहरुलाई छोडन हजुरलाई जति आनन्द आउँछ त्यस्तै आनन्द अपराधीहरुलाई पक्राउ गरेर सजाय दिए पीडितहरुको घाउमा अलिकति भए पनि मलम/पट्टी लाग्थ्यो भन्ने हेक्का हजुरलाई किन नभएको हो भनेर अच्चम लाग्छ। निर्मला पन्त, सम्झना विक, मुस्कान खातुनजस्ता हाम्रा पीडित चेलीहरुको बारेमा पनि हजुरले यसो बोलिदिएको भए केही राम्रो हुन्थ्यो कि जस्तो पंक्तिकारलाई लागेको हो तर हजुर जस्तो व्यस्त र सर्वाेच्च व्यक्तिले यस्ता झिनामसिना कुरामा अल्झिनु भनेको समयको बर्बादी मात्र हो। हजुर जस्तो दुई वटा छोरीको आमाले पनि कुनै पनि किसिमले वास्ता नगर्नु भनेको चिन्ताजनक हो जस्तो मेरो विचार छ, सायद म गलत छु होला।

त्यस्तै देश र जनताको फाइदाको लागि आफ्नो ज्यान बाजी राखेर पटक–पटक अनसन बस्दै आउनुभएका डा. गोबिन्द केसीको बारेमा पनि हजुरले नबोल्नु रहस्यमय छ। डा. केसीसँग मेडिकल माफियासँग जति धन सम्पत्ति छैन तर उनी उच्च नैतिक बल भएका मान्छे हुन। पक्कै पनि मेडिकल माफियाजस्ता धनीहरुलाई चिढाएर एउटा गरीब डाक्टरको पक्षमा बोल्नु हजुरलाई सुहाउने कुरा पनि भएन, हजुरले जे विचार गर्नु भएको छ त्यो पक्कै पनि ठिक हो तर मेरो तुच्छ दिमागमा जिज्ञासा आएर मात्र बोल्ने आँट गरेको हुँ, यसलाई अन्यथा नलिनुहोला।

पहिले कम्युनिस्ट पार्टीको सदस्य भए पनि राष्ट्रपति भएपछि देशकै अभिभावक हुनुपर्नेमा हजुरले राष्ट्रपति निवासलाई पूर्व प्रधानमन्त्री ओलीको सम्पर्क कार्यालयमा परिवर्तन गरेर निकै राम्रो काम गर्नु भएको छ। यसले गर्दा प्रधानमन्त्री ओली शितल निवास आउँदा हजुरलाई पनि भेट हुने र आफ्नो काम पनि हुने भयो, प्रधानमन्त्री जस्तो गरिमामय पदमा रहेको व्यक्तिको समय बचत हुनु भनेको देशले छिटो कोल्टे मात्र फेर्ने नभई देश पूर्णरुपमा उत्तानो नै पर्ने पक्का छ। यसले सम्पूर्ण नेपालीलाई फाइदा नै दिनेछ र नेपालीलाई फाइदा हुनु भनेको समग्रमा देशलाई नै फाइदा हुने हो। यो कोणबाट पनि हजुरलाई इतिहासले धेरै लामो समयसम्म सम्झेर धन्यवाद दिनेछ भन्ने मेरो ठहर छ।

अत: हजुरले राष्ट्रपतिको पदमा रहेर देशको अभिभावक बन्न सकेको भए राम्रो हुन्थ्यो तर नेपाल कम्युनिस्ट पार्टीको मात्र अभिभावक हुनु भयो, त्यसमा मात्र मलाई जिज्ञासा लागेको हो। तर, हजुर जस्तो दूरदर्शी व्यक्तिले पक्कै पनि केही राम्रै सोचेर त्यस्तो कदम चालेको हुनुपर्छ। हजुरको जस्तो उच्चस्तरको सोच पंक्तिकारलाई नहुने भएको कारण मेरो विचारलाई लिएर यो अकिञ्चनलाई माफ गरिदिनुहुनेछ भन्ने आशा गरेको छु। जसरी भए पनि संविधान संशाेधन गरेर आजीवन हजुरलाई नै राष्ट्रपतिको पदमा राख्नुपर्छ भन्ने कुरामा मेरो पनि शतप्रतिशत सहमती थियो तर त्यस्तो गरिमामय कार्य किन हुन् सकेन त्यसको लागि म निकै दुखित छु। अब छिटै नै हजुरको जागिर खुस्क्दै छ र हजुर पनि पूर्व राष्ट्रपति हुनुहुनेछ, त्यसपछि मलाई यो भएन र उ भएन भनेर हरेक दिन जस्तो कराउनुहुनेछ भन्ने आशा गरेको छु। हजुरको सु-स्वास्थ र सम्वृद्धिको कामनासहित उत्तरोत्तर प्रगतिको कामना गर्दछु।

हजुरको रैती

नवीन रायमाझी, हाल: अमेरिका


नवीन रायमाझीका थप लेखहरु पढ्नुहाेस्:

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!