टिप्पर र ठेकेदारले शहिदमार्ग सके, शहिदमार्गले रोल्पाको भविष्य सक्यो  

रोल्पाको मुख्य प्रवेशद्वारका रूपमा रहेको घोराही–होलेरी शहिदमार्गलाई शहिद बनाइएको छ। शहिदमार्ग ध्वस्त बनाउँदा यसले रोल्पा जिल्लालाई चौतर्फी रूपमा घाटा लागेकाे छ।

देश परिवर्तनका लागि ज्यान गुमाएकालाई शहिद घोषणा गरिन्छ। शहिदहरूका शालिक बनाइन्छ। बेलाबेला माल्यार्पण गरिन्छ। पुजिन्छ। अनि सम्मान गरिन्छ।

उनै शहिदको सम्मानका लागि भनेर २०६२–०६३ को शान्ति सम्झौतापछि दाङको घोराहीबाट रोल्पाको होलेरी–घर्तीगाउँ हुँदै छिमेकी जिल्ला रूकुमसम्म जोडिने सडकको नाम घोराही–होलेरी शहिदमार्ग राखियो। दश वर्षे सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा माओवादीले सर्वसाधारणलाई लगेर बाटो खन्ने अभियान नै चलायो।

शान्ति सम्झौतापछि नेपाल सरकारद्वारा सडकलाई पूर्णता दिइयो। दैनिक उपभोग्य वस्तु खरिद गरि पैदल हिँडेर दाङबाट रोल्पाका दुर्गम गाउँ पुग्ने सर्वसाधारणहरू आफ्नो घरसम्म बाटो पुग्दा हर्षित बने। उनीहरूले परिवर्तनको अभाष पनि गरे।

आर्थिक वर्ष २०७४–०७५ मा संघीय सरकारले शहिदमार्ग अन्तर्गत घोराही–होलेरी खण्ड कालोपत्रे गर्न ४६ करोड बजेट बिनियोजन गर्यो। शिल–प्यासिफिक जेबी नामक कम्पनीले कामको जिम्मा लिएर कालोपत्रे शुरू गर्न थाल्यो।

त्यतिबेला त झन् रोल्पाका जनताहरूको हर्षले सिमानै नाघ्यो। दश वर्षसम्म द्वन्द्वमा गिज्योलिएका जनताहरूले आफ्नो जिल्लाको प्रवेशद्वार कालोपत्रे हुन लाग्दा राज्यले आफूहरूलाई सम्बोधन गरेको र न्याय दिएको महशुस गरे।

कामको जिम्मा लिएको निर्माण कम्पनीले धमाधम कामअघि बढायो। २८ किलोमीटर सडक २ वर्षमै कालोपत्रे भयो। शुरूशुरूमा सडक सुन्दर र स्वच्छ देखिन्थ्यो। न कतै धुलो, न वर्षादमा हिलो, न त प्रदूषण नै।

यात्रूहरू रमाउँदै आरमदायी यात्रा गर्थे। त्यतिमै सिमित भएन सडक कालोपत्रे भएपछि ४ घण्टा लगाएर दाङ पुग्ने सवारी १ घण्टामै आरामले होलेरी-घोराही गर्न पाए। अर्कोतिर यात्रूको भाडा र सामान ढुवानी भाडापनि आधा निर्धारण गरियो। 

यात्रू, व्यापारी र उपभोक्ताहरूको पैसा पनि बचत हुन थाल्यो। समय राम्रै चलिरहेको थियो। दाङबाट रोल्पा घुम्न आउने पर्यटकहरूको लस्कर लाग्न थाल्यो।यसले होलेरी बजार र रोल्पाका अन्य बजारहरूमा व्यापार गुणात्मक रूपले बढ्न थाल्यो। 

सबै खुसी र सन्तुष्ट थिए। तर रोल्पाका जनताहरूको यो खुसी धेरै समय भने टिक्न सकेन। शहिदमार्ग भएर सोनापुर सिमेन्ट कारखाना र सम्राट सिमेन्ट कारखानाका टिप्परहरू चुनढुङ्गा बोकेर शहिदमार्गबाट धमाधम गुड्ने गर्थे।

१–२ महिनासम्म त सबै ठिकै थियो। त्यसपछि भने शहिदमार्गको ठाउँठाउँ उजाडबिजाड बन्न शुरू गर्यो। सडक मर्मत गर्नुको साटो ठेकेदार कप्म्पनीले सिमेन्ट कारखानाका टिप्परले सडक बिगार्याे भनेर फर्केर हेरेन।

कारखानाहरूले ठेकेदारले सडक गुणस्तरहिन बनाएर छडेकाले भत्केको भन्दै दोषारोपण गर्न थाले। हेर्दाहेर्दै सडक छियाछिया बन्यो। अब फेरि २८ किलोमिटर यात्रा गर्न ४ घण्टा लाग्न थाल्यो। भाडादर दोब्बरले बढ्यो। साना तथा ठुला सवारीमा यात्रा गर्दा हिउँदमा धुवा, धुलोधंकारमा र वर्षादमा धान रोप्न तयार पारिएको खेतको हिलोमा जसरी यात्रा गर्नुपर्ने बाध्यता रह्यो।

रोल्पामा आउ न थालेका पर्यटक फर्केर आएनन्।अहिले शहिदमार्गम यात्रा गर्नु भनेको प्राण दाउमा सरह लाग्ने यात्रा गरिरहेका अनिल विश्वकर्माले बताए। धुलाम्मे भएका उनले यो मुलुकमा सरकार छ भन्नेपनि बिश्वास नलाग्ने तर्क थपे। व्यावसायीको व्यवसाय घट्यो। आयस्रोत घट्यो। अहिले उत्तरी र दक्षिणी रोल्पाको भविष्य अन्धकारमा परेको होलेरीका व्यावसायीहरूको दुःखेसो छ।

कालोपत्रे सडक हुँदा मनग्ये व्यापार हुने र अहिले घाम तापेर बस्नु परेको स्थानीय होटल व्यावसायी डिल्ली खड्काले बताए। जिम्मेवार निकायबाट सडक कालोपत्रेको कुनै नियमन तथा अनुगमन गरिएन ठेकेदार कम्पनीले आफू खुसी काम गर्यो, त्यसैमाथि सिमेन्ट कारखानाका सयौं टिप्परहरू दैनिक चुनढुङ्गाको ओभरलोड बोकेर तिब्र गतिमा गुड्न थाले।

'सडक क्षणभरमै ध्वस्त बन्यो। सम्बन्धित स्थानीय सरकार रून्टीगढी गाउँपालिका र घोराही उपमहानगरपालिका आजसम्म रमिते बनेर बसिरहेका छन्। आफूहरू चिल्ला गाडीमा हिँड्ने भएकाले स्थानीय जनप्रतिनिधिले हाम्रो दु:ख बुझेनन्', होलेरीका स्थानीय दिलबहादुर खत्री भने।

आजसम्म स्थानीय जनप्रतिनिधि कतै बोलेको र पहल गरेको आफूहरूले थाह नपाएको खत्रीको भनाइ रहेको छ। 

रोल्पाबाटै माओवादी नेता वर्षमान पुन निरन्तर सांसद चुनिएका छन्। यो बिचमा पटकपटक मन्त्री पनि बने तर शहिदमार्ग हविगत सुधारमा उनलेपनि चासो दिएनन्।

अहिले एमाले नेत्री ईश्वरी घर्ती प्रतिनिधि सभा सदस्य छिन्। एमालेबाटै कुमार दशौदी राष्ट्रिय सभा सदस्य बनेका छन्। तर शहिदमार्ग मर्मतसुधार तथा कालोपत्रेको कुनै सुरसार भने गरिएको छैन।

राष्ट्रले नै सम्मान गर्ने शहिदहरूको नामबाट सडको शहिदमार्ग नाम राखेर सडक ध्वस्त हुँदासम्मा तीन तहको सरकार मौन बस्नुले शहिदहरूको छातीमा सरकारले निर्मता पूर्वक कुल्चिएर अपमान गरेको विज्ञहरूको भनाई रहेको छ।

टिप्पर र ठेकेदारले शहिदमार्ग सके, शहिदमार्गले रोल्पाको भविष्य सक्यो भन्दा खास्सै फरक नपर्ला। रोल्पा र रोल्पालीले सपनाजस्तै बन्न पुगेको शहिदमार्ग पुनः कालोपत्रेको झिनो आश अझै मारेका भने छैनन्।

प्रकाशित मिति: : 2023-03-28 21:25:00

प्रतिकृया दिनुहोस्