अफवाह : ज्वलन्त सामाजिक समस्यामा आधारित दर्शनीय सिनेमा

'हजारौँ ख्वाइसे ऐसी, धारावी, चमेली र ए साली जिन्दगी' जस्ता ज्वलन्त सामाजिक समस्याहरुमा आधारित अर्थपूर्ण सिनेमाको निर्देशन गरिसकेका सुधिर मिश्राले नयाँ सिनेमा 'अफवाह' लिएर आएका छन्, जो गएको हप्ता रिलिज भएको हो।

अफवाह अर्थात् हल्ला भुसको आगो जस्तो हो र यसले कस्तो रुप लिन्छ भन्ने दुर्घटना भएपछि मात्र सबैलाई थाहा हुन्छ। यो सिनेमाको कथा आजको समयमा सबैको टाउको दुखाइ भएको मोबाइल फोन र सामाजिक सञ्जालमा फैलाइने 'हल्ला' र त्यसलाई प्रमाणित गर्न अपलोड गरिने भिडियोलाई कसरी 'भाइरल' बनाउने र त्यसबाट हुने समस्यामा आधारित छ।

सामाजिक सञ्जालमा पाइने अर्थहीन भिडियोले समाजमा ल्याउने विकृति आफ्नो स्थानमा छ र त्यस्ता भिडियोहरुलाई वास्तविक मान्ने ठुलो जमातको कारण पनि अनेकौँ समस्याहरुको सृजना भएको कुरालाई नकार्न सकिन्न।

सिनेमा सम्बलपुर नामक स्थानमा आयोजना भएको राजनैतिक जुलुसबाट सुरु हुन्छ। जुलुसमा कथित युवा नेता बिक्की सिंह (सुमित ब्यास) ले आफ्नो सहयोगी तथा स्थानीय गुन्डा चन्दन सिंह (शारिब हाशमी) को सहयोगमा आफूमाथि नै आक्रमण गर्न लगाउँछन् र त्यो घटनालाई जातीय दङ्गामा प्रमाणित गर्छन्।

त्यस्तै केही समयअघि अमेरिकाबाट फर्केकी र बिक्की सिंहसँग विवाह बन्धनमा बाँधिने तयारीमा रहेकी निबी (भुमि पेड्नेकर) र उसलाई गुन्डासँग बचाउने रहाब अहमद (नवाजुद्दीन सिद्दीकी) र तिनीहरुलाई बर्बाद गर्नको लागि निर्माण भएको झुटो भिडियो तथा त्यो भिडियो भाइरल भएपछि समाजमा हुने समस्या अनि यसको कष्टदायक असर कस्तो हुन्छ भनेर बुझ्न भने सिनेमा नै हेर्नुपर्छ।

अभिनयको प्रसंग उठाउँदा सबै कलाकारहरुको अभिनय उत्कृष्ट छ। यौन शोषणको शिकार भएकी महिला प्रहरी रिया राठौड (टि जे भानु) को अभिनय एक श्रेणी माथि नै छ भने अन्य सह-कलाकारहरुको अभिनयमा पनि खोट लगाउने ठाउँ छैन। सिनेमाको पहिलो भाग निरस भएपनि दोस्राे भागले दर्शकलाई बाँधेर राख्न सफल छ।

सिनेमाको स्क्रिप्ट निर्देशक स्वयमले निसर्ग मेहता र शिव शङ्कर बाजपेयीसँग मिलेर लेखेका हुन्, जुन समसामयिक छ। सिनेमाले मनगडन्ते समाचार (फेक न्युज) को साथै पितृसत्तात्मक सोच, यौन शोषण र साम्प्रदायिकता जस्ता विषयवस्तुलाई पनि उठाउने प्रयास गरेकाे छ।

निर्देशक मिश्राले सिनेमामा 'थ्रिलर' लाई कायम राखेर र क्लाइमेक्ससम्म दर्शकलाई कौतुहलमा राख्न सफल छन्। सिनेमेटोग्राफर मोरसियो विडालले रातिको भयावह दृश्यलाई सजीवता दिएका छन्। साथै अतानु मुखर्जीको सम्पादन, रियाज र सोहिल हबिबको द्वन्द्व र करेल अण्टोनिनको सङ्गीत सबै उच्चस्तरको छ। राजस्थानी लोक गायकद्वय मामे खान र सुनेत्रा बनर्जीकाे स्वरमा रहेको लोकगीत 'आज ए वसन्त मे गहरा असर...' भाषा नबुज्नेलाई पनि कर्णप्रिय लाग्न सक्छ।

सामाजिक सञ्जालको दुरुपयोगले समाजमा कस्तो उल्टो असर पर्छ भन्ने बुझ्न र अर्थपूर्ण सिनेमाका दर्शकहरुले यो सिनेमा एकपटक अवश्य हेर्नुहोला। दक्षिण भारतीय उडन्ते र बकम्फुसे सिनेमाका दर्शकहरुलाई भने यो सिनेमा बोझिल लाग्नसक्छ।

@twitter#naviinr

भिडियाे ः

प्रकाशित मिति: : 2023-05-11 21:30:00

प्रतिकृया दिनुहोस्