करिब तीन हजार अफगानी शरणार्थी मङ्गलबार इरानबाट स्वदेश फिर्ता

फाइल तस्बिर
फाइल तस्बिर

इरानमा बस्दै आएका करिब तीन हजार अफगानी शरणार्थी मङ्गलबार स्वदेश फर्किएका छन्।

अफगानिस्तानका शरणार्थी तथा स्वदेश फिर्ती मामिला मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा एकै दिन ठूलो सङ्ख्यामा अफगानी शरणार्थी इरानबाट स्वदेश फर्किएको जानकारी दिइएको हो।

“इरानमा वर्षौंसम्म शरणार्थीको रूपमा बिताएपछि मङ्गलबार दुई हजार ७७८ अफगानी शरणार्थीहरू आफ्नो मातृभूमि अफगानिस्तान फर्केका छन् र शरणार्थीहरूलाई उनीहरूको देशमा फर्काउने प्रक्रिया जारी छ,” विज्ञप्तिमा भनिएको छ।

झण्डै २५ लाखभन्दा बढी दर्ता भएका अफगानी शरणार्थीहरू इरानमा बस्छन् भने त्यति नै सङ्ख्यामा पाकिस्तानमा बसोबास गर्दछन्।

अफगानिस्तान युद्ध र तालिवानले सत्ता सम्हालेपछि पनि सुरक्षाको समस्या देखाउँदै ठूलो सङ्ख्यामा अफगानी नागरिक विदेश पलायन भएका थिए।

अफगानिस्तानको कामचलाउ (तालिवान) सरकारले विदेशमा रहेका अफगानी शरणार्थीहरूलाई स्वदेश फर्कन र आफ्नो देशको पुनर्निर्माण प्रक्रियामा योगदान गर्न आह्वान गर्दै आएको छ।

प्रकाशित मिति: : 2023-06-01 05:35:00

प्रतिकृया दिनुहोस्